धरान/रिल जसरी घुम्छ, मान्छेको बास्तविक जीवन पनि उसरी नै घुम्छ । आमाको कोखबाट जन्मन्छ, हुर्किन्छ । बढ्छ, पढ्छ । योग्य, अयोग्य सबै बन्छ । शिशु, किशोर, यौवन, वृद्ध हुदै जीवन समाप्त हुन्छ । त्यो कालखण्डमा कोही हिरो हुन्छ, कोही खलनायक । उसले गर्ने कामले त्यो निर्धारण गरिदिन्छ । तर, पर्दामा सदैब खलनायकको भूमिकामा देखिन मन पराउने कलाकार विशाल श्रेष्ठ ‘रियल’ मा भने ‘नायक’ हुन् । त्रिचन्द्र कलेजमा क्याम्पसमा स्नात्तक पढ्दादेखि कलाकारितामा हामफालेका उनको अधिकांस भूमिका ‘खलनायक’ को पात्रको वरीपरी नै घुमेको छ । यदाकदा चरित्र अभिनेता भए पनि अधिकांस ‘रोल’ नकरात्मक मै देखियो । २१ वर्षको उमेरदेखि नेपाली फिचर फिल्म ‘सडक’ बाट डेब्यु गरेका उनी खलपात्र कै आसेपासे भए ।  किनकी चलचित्रमा प्रवेशपूर्व उनको परिचय पनि त्यस्तै पात्रसँग भइदियो । जो पात्रलाई नेपाली दर्शकले नायक भन्दा पनि बढी खलनायकमै चिन्छन् । राम्रो भन्दा बढी नराम्रा पात्रकै रुपमा चिन्छन् । ती व्यक्ति हुन्, द्धन्द्ध निर्देशक राजेन्द्र खड्गी । त्रिचन्द्र कलेज पढ्दा साथीको माध्यमबाट खड्गीसँग परिचय गाँस्न पुगेका उनलाई खड्गीकै सहयोगमा ‘सडक’ मा देखिए । क्यारेक्टर फाइटरको रुपमा । त्यसपछि निरन्तर ६ वटा फिल्म खेले । अधिकांसमा खलपात्रकै सहयोगी भूमिकामा देखिए । त्यही कारण हुनसक्छ । उनी रिलका खलनायक नै हुन् । ‘मेरो अनुहार, गेटअप र सबैचिजले मलाई नायक भन्दा खलनायकमा सुट गर्छ ।’ उनी सगर्व भन्छन् । २०५० सालमा सडकमा डेब्यु गरेपछि २ वर्षसम्म निरन्तर सिनेकर्ममै बिताए । जतिबेला उनी त्रिचन्द्रमा समाजशास्त्रमा स्नात्तक सकेर स्नात्तकोत्तर गरिरहेका थिए । पढाईसँगै कलाकारितालाई बढाउन निक्कै गाह्रो थियो उनलाई । कलाकारिता ‘मोह’ एकातिर हुदाहुदै पनि २०५२ मा ‘दाजुभाइ’ फिल्मको छायाङ्कन गर्दै गर्दा पढाईलाई निरन्तरता दिने सोचले पोखराको सुटिङ ‘स्पट’ छाडे । आखिर त्यही पढाई जीवन जिउने आधार बनेको छ अहिले । त्यसो त, कलाकारितामा पैसा नहुने होइन, तर, यथेष्ट पुग्ने सायदै होला । क्यारेक्टर फाइटर खेल्दा उनले एक हजार रुपैया पारिश्रमिक पाए । महेन्द्र क्याम्पस धरानमा १६ वर्ष करारमा प्राध्यापन गरेका श्रेष्ठ हालै उप–प्राध्यापकमा स्थायी नियुक्त पाएका छन् । रिलका खलनायक, रियलका प्राध्यापक हुन् । अरुलाई शिक्षा दिन्छन् । र, जीवन सार्थक हुनुको रहस्य बताइदिन्छन् । शिक्षक हुनुको धर्म निर्वाह गर्छन । समाजशास्त्र पढाउने उनले फिल्मलाई पनि समाजशास्त्रीय ढङ्गले नै हेर्छन् । ‘फिल्मलाई नेगेटिभ मात्रै हेछौं होला, फिल्ममा समाजका कुरिती, विकृतिहरुको बारेमा सचेतना पनि गराउँछन् । त्यो कुरालाई जानकारी गराउने माध्यम फिल्म हो ।’ उनको समाजशास्त्रीय कथन छ । असल गुरु र खलनायक विल्कुल फरक विषय हुन् । वास्तविक जीवनका गुरु पर्दामा सदाबाहार खलनायककै भूमिकामा देखिन रुचाउँछन् । भन्छन्, ‘पर्दाका लागि म खलनायक मै सुट हुने पात्र हुँ ।’ विविध खाले भूमिकामा देखिए पनि अन्य भूमिकामा आफूले न्याय गर्न नसकेको हो कि भन्ने पश्चातापले भित्रभित्रै जल्दा रहेछन् । हालै रिलिज भएको ‘यो साइनो मायाको’ फिल्ममा उनी बुबाको चरित्रमा देखिएका छन् । फिल्ममा न्याय गरेको छैन कि भन्ने लागिरहेका उनले त्यो चरित्रमा पनि दर्शकले रूचाए । तर, आफैले आफैलाई भने उनले मनाउन सकेका छैनन् । भन्छन्, ‘हिरोनीको बाउको रोल खेल्दा खेरी आफैलाई पनि मजा आएन्, खलनायक खेल्दा जुन मजा लिइन्छ । जुन आक्रोस व्यक्त गर्न पाइन्छ । त्यो क्यारेक्टर रोलमा मजा आएन् ।’ करिव दुईदशक फिल्मी क्षेत्रबाट गुमनाम भए यि खलनायक । तर, कलाकारितालाई रेडियोमार्फत्, टेलिभिजन मार्फत् पर्दापण गराइरहे । सप्तकोशी रेडियोमा केही समय कार्यक्रम चलाए । मकालु टिभीमा मकालु ट्यालेन्ट शो चलाए । ‘म भित्र भएको कलाकारितालाई मर्न दिइन्, त्यसको लागि पनि कार्यक्रममार्फत् आफू भित्रको चाहलाई मर्न दिइन् ।’ उनी भन्छन् । २०५२ देखि फिल्ममा नदेखिएका यि खलनायक एकैपटक प्राध्यापक खलनायक भएर ‘ठूलो मान्छे’ मा देखिए । जहा“ उनको चरित्र विद्यार्थीलाई शिक्षा दिनु भन्दा पनि ‘आफ्नो हाउगुजी’ देखाउने थियो । फिल्ममा अन्य शिक्षक आउदा सामान्य लिने विद्यार्थीले पनि यि पात्र आउदा भने विद्यार्थी डराउने र शान्त बस्ने गर्छन् । असली शिक्षक यिनलाई ‘ठूलो मान्छे’ मा भने ‘हाउगुजी’ प्राध्यापकको रुपमा चित्रित गरेका छन् । २०७० मा पुनः पर्दामा देखिएका उनले फेरि रिलका खलनायकमा देखिदै छन् । सानोतिनो भूमिकाबाट फिल्ममा पर्दापर्ण गरेका उनी हाल ‘बन्टे’ मा मूख्य खलनायकको रुपमा देखिदै छन् । उनी अभिनित पछिल्लाे फिल्म  ‘यो पागल मन, बन्टे, नालापानी’ हाे । नालापानीको प्रि-मुभीको रुपमा ‘देशले माग्दैन, दिनुपर्छ’ भन्ने वृतचित्रमा पनि देखिदै छन् । नालापानीमा अंग्रेजसँग २ सय वर्ष अघि भएको लडाईलाई कथा बनाइएको छ । जसमा उनी सरदार गञ्जसिंहको भूमिका देखिदै छन् । सडकदेखि फिल्ममा छिरेका उनले अग्नी परीक्षा, भीष्म प्रतिज्ञा, कान्छा, भरिया, दाजुभाइ, ठूलोमान्छे, यो पागल मन, यो साइनो मायाको, नालापानी र वन्टे गरी ११ वटा फिल्ममा अभियन गरेका छन् । उनकाे रिल लाइफ जसरी घुमिरहेको छ । त्याे भन्दा फरक तवरले रियल लाइफ पनि बगिरहेको छ निरन्तर निरन्तर ।