शक्तिकेन्द्रहरूब्चिको भूमण्डलीकृत होडबजी वर्तमान विश्वको मूल प्रवृत्ति हो । यो विभिन्न रूप, आयाम र आयतनहरूमा अभिव्यक्त हुँदै आएको छ । यसले विश्वलाई कहिले एकल त कहिले बहुल धु्रवमा विभाजन गरेको देखिन्छ । उनीहरूबीचको अन्तर्विरोधको पराकाष्ठाका रूपमा विश्वयुद्धलगायतका विभिन्न युद्धहरू भएका उदाहरणहरू छँदैछन् । यसबाट समग्र विश्व राजनीतिको मूल चरित्र साम्राज्यवादी शक्तिसङ्घर्षकै सेरोफेरोमा भएको स्पष्ट हुन्छ । यता प्रविधिको विकासले विश्व सानो गाउँमा बदलिएको छ । एक ठाउँको घटनाले तुरुन्तै विश्वभरि सनसनी सिर्जना गर्दछ । हरेक राष्ट्रिय राजनीतिमा यसले सकारात्मक तथा नकारात्मक प्रभाव पारिरहेको हुन्छ ।

साम्राज्यवाद भनेको शक्तिको विस्तारित तथा बहुआयामिक रूप हो । राजनीतिक, आर्थिक, सामरिक र सांस्कृतिक वर्चश्वको भूमण्डलीकृत अभिव्यक्ति नै साम्राज्यवाद हो । आज एकध्रुवीय साम्राज्यवादको स्थिति छैन । बहुध्रुवीय विश्व व्यवस्था छ । यस्तो बेला अन्तरसाम्राज्यवादी अन्तर्विरोधहरू पराकाष्ठामा पुग्छन् । क्षेत्रीय द्वन्द्वहरू चर्किरहन्छन् । यद्यपि सारतः प्रधान अन्तर्विरोध साम्राज्यवाद र उत्पीडित राष्ट्रहरूका बीचमै हुने गर्दछ । हस्तक्षेप र शोषणका रूपहरू बदलिए पनि अन्तर्विरोधहरू कायमै छन् । भूमण्डलीकृत विश्वमा महाशक्ति बन्ने होड केन्द्रीय विषय हुने गर्दछ । यही स्वार्थको गुरुत्वकेन्द्र वरिपरि शक्तिराष्ट्रहरूले आप्mनो शक्ति सञ्चय र विस्तारका रणनीतिहरू तय गर्दछन् । केही दशक अघिसम्म अमेरिका र सोभियत सङ्घबीच शीतयुद्धको स्थिति थियो । विश्व द्विध्रुवमा विभाजित थियो । सन् १९९० मा सोभियत सङ्घको विखण्डनपछि विश्वमा अमेरिकी एकाधिकार कायम भयो तर आज परिस्थिति नितान्त फेरिएको छ । एकध्रुवीय विश्व बहुध्रुवमा विभाजित छ । कुनै समय युरोप र अमेरिका केन्द्रित राजनीति आज तेस्रो विश्वमा केन्द्रित भएको छ । चीन र रुस अमेरिकाका नयाँ चुनौती बनिरहेका छन् । तीव्र औद्योगिक विकासपछि विश्व बजार विस्तारका लागि चीनले अपनाएको रणनैतिक कदमबाट अमेरिका आतङ्कित देखिन्छ । चीनले युरोप र एशिया जोड्ने सडक मार्ग, पाकिस्तानको बलुचिस्तान हुँदै अरब सागर जोड्ने ऐतिहासिक रेशममार्ग, एक क्षेत्र एक सडकको नीति अङ्गीकार गरेको छ । ऊ अरब, अफ्रिका र युरोपसम्म सडक तथा रेलवे लाइन विस्तारसँगै अन्तरमहादेशीय कुटनीतिक सम्बन्ध, प्रभाव र विश्व बजार बढाउने रणनीतिमा देखिन्छ । दश वर्षमा चीनको अर्थतन्त्र सबैभन्दा ठूलो हुनुका साथै महाशक्तिशाली बन्ने अमेरिकी गुप्तचर संस्था सीआईएको आँकलन छ । सन् १८८० को दशकदेखि नै अमेरिकी अर्थतन्त्र सबैभन्दा ठूलो देखिन्छ । चिनीयाँ अर्थतन्त्र औद्योगिक उत्पादनमा आधारित छ । यसका लागि औद्योगिक मालको शान्तिपूर्ण विश्व बजार अपरिहार्य पक्ष हो । वाणिज्य तथा व्यापार प्रवद्र्धनका लागि रणनैतिक साझेदार, अन्तरदेशीय तथा अन्तरमहादेशीय सम्झौताहरू जरुरी छ । यसलाई कार्यान्वयन गर्न चीन रणनैतिक रूपमा लागिरहेको छ । अमेरिकी अर्थतन्त्र भने युद्धमा आधारित छ । उसको घरजग्घा र वित्तीय कारोबार सङ्कटग्रस्त अवस्थामा छ । नियमतः युद्धमा आधारित अर्थतन्त्रलाई सबल बनाउन युद्ध अपरिहार्य हुन्छ । विश्वका विभिन्न क्षेत्रमा युद्ध भड्किनु यसैको उपज नहोला भन्न सकिन्न । शक्ति राष्ट्रहरूबीचको अन्तर्विरोध युद्धोन्मुख देखिन्छ । सार्वभौमतः युद्धमा आधारित अर्थतन्त्र फस्टाउन युद्ध नै चाहिन्छ । त्यसैले चीन–अमेरिकाबीचको आर्थिक टक्कर युद्धमा बदलिने गम्भीर खतरा छ । पछिल्लो समय अमेरिका–चीन सम्बन्ध चिसिँदै गएको छ । ट्रम्प र सीबीचको भेटवार्ता पनि औपचारिकतामा सीमित भएको छ । यसले सामान्य सद्भाव बढाए पनि टक्कर कम गर्ने सम्भावना छैन । विभिन्न बहानामा अमेरिका एक्शनमै जाने मनस्थितिमा छ । चीन भने गम्भीरतापूर्वक ‘पर्ख र हेर’ को अवस्थामा देखिन्छ । चीनलाई चाँडै युद्धोन्मुख बनाउने अमेरिकी रणनीतिमा धेरैले आशङ्का गरिरहेका छन् । यसका लागि अमेरिकाले कोरिया र चीनको तटीय क्षेत्रमा उत्तेजित गतिविधि बढाइरहेको छ, जुन चिनीयाँ अर्थतन्त्रको मेरुदण्ड मात्र नभएर प्रभाव क्षेत्र पनि हो । जापान, फिलिपिन्स, कोरिया र ताइवानमा अमेरिकी उपस्थिति यही रणनीतिको परिणाम हो । यसविरुद्ध चीनले पनि जापान, फिलिपिन्सलगायतका मुलुकहरूलाई तटस्थ राख्ने रणनीति लिएको छ । केही महिनाअघि बेइजिङ भ्रमणको क्रममा फिलिपिन्सका राष्ट्रपति डुतेर्तेले अमेरिकासँगको सम्बन्ध टुटाउने अभिव्यक्ति दिनुलाई यसैको कडी मान्न सकिन्छ । अमेरिकाले यस क्षेत्रमा द्वन्द्व र अस्थिरता खोजिरहेको छ । विगतमा भाजपा, आरएसएस, सद्दाम हुसैन, तालिवान, अल कायदा, मुजाहिद्दीन गुरिल्ला र इस्लामिक स्टेटहरू जन्माउने अमेरिकी रणनीति पुनः स्मरण गर्न जरुरी छ । सोभियत सङ्घसँग निकटताकै कारण इन्दिरा गान्धीको हत्या भएको दावी गरिन्छ । १९९० मा सोभियत सङ्घ भङ्ग गराइएपछि सीआईएले ‘रअ’ एवम् कर्मचारीतन्त्रसँग साँठगाँठ बढायो । मनमोहन सिंहलाई उपयोग गर्दै उदारीकरण लागु गर्यो । काङ्ग्रेस आईमा उपयुक्त नेतृत्व नपाएपछि मोदीलाई अघि सा¥यो तर मोदीबाट पनि अमेरिका सन्तुष्ट नभएको सूत्रहरूको दावी छ । ‘उपयोग गर र फाल’ अमेरिकी सनातनी रणनीति हो । आजसम्म धेरै समूह र दलालहरू उसको उपयोगितावादी फन्दामा फँसिसकेको विडम्बनापूर्ण इतिहास जगजाहेर छ । चीनको प्राथमिक चासो पश्चिमाहरूको बढदो प्रभाव र चासो नै हो । तिब्बत र सिन्ज्याङ मामला सहायक हुन् । यसमा नेपालले भूराजनैतिक महŒव राख्दछ । चीनले अन्तरदेशीय, त्रिदेशीय एवम् बहुदेशीय विकासका रणनैतिक योजनाहरू ल्याउनु यसैको परिणाम हो । उता अमेरिकी स्वार्थमा हालै पाकिस्तान र भारतबीच युद्धको स्थिति देखा पर्यो । चीनले पाकिस्तानलाई ब्याक गरेपछि तत्काललाई युद्ध रोकिएको छ तर सनातन साम्राज्यवादी रणनैतिक स्वार्थमा भइरहने युद्धको सम्भावना जीवितै छ । टर्की, इराक, सिरिया र अफगानिस्तानमा अमेरिकी सैन्य उपस्थिति हिजो सोभियत सङ्घ लक्षित थियो भने आज चीन घेराउ गर्ने रणनीतिमा आधारित छ । यसमा उत्तर सचेत मात्र छैन, गम्भीर भएर घटनाक्रमहरू नियाल्दै आवश्यक रणनैतिक कदम चालिरहेको छ । अर्थात् अमेरिकीहरू अस्थिरता र द्वन्द्वको बहाना सिर्जना गर्दै चीनलाई घेराबन्दी गर्ने रणनीतिमा छन् । अमेरिकाले भारतको सहयोगबाट दक्षिण एशियामा छिर्ने बहाना खोजिरहेको छ । साम्राज्यवादी हस्तक्षेपका तीनवटा मोडेलहरू छन् । पहिलो, अस्थिरता र द्वन्द्व सिर्जना गरेर प्रत्यक्ष युद्धमा सहभागी हुने अफगानी मोडेल । दोस्रो, संसद्मा बहुमत पु¥याएर संवैधानिक राष्ट्रघात गराउने सिक्किमी मोडेल । तेस्रो, जनसङ्ख्या वृद्धि गराएर चुनावबाटै पकड जमाउने फिजी मोडेल । अमेरिकी रोजाइ अफगानी मोडेल हो । यसकारण सैन्य गतिविधिका लागि अस्थिर धरातल अनिवार्य हुन्छ । द्वन्द्वबाट आफ्नो युद्ध अर्थतन्त्र विस्तार गरी चीनलाई साइजमा ल्याउनु उसको मुख्य रणनीति हो । यही रणनैतिक स्वार्थमा भोलि नेपालमा हतियारधारी समूहहरू हावी भए अनौठो हुने छैन । यस्तै चलखेलका कारण नेपाली राजनीति अनिर्णयको चक्रब्यूहमा छ । राजनीतिक दलहरूको दोहोरो चरित्र देखिन्छ । विदेशीहरूलाई द्वन्द्वको बहाना चाहिएको छ । द्वन्द्ववादमा अघि– पछि, दायाँ–बायाँ कहिँ न कहिँ समाधानको बाटो हुन्छ तर नेपाली राजनीति निकासविहीन अतिवादी जाममा फँसिरहेको छ । यो रहस्यमय छ । यस्तो जाम सुनियोजित मात्रै हुने गर्दछ । प्रत्येक दलमा विदेशी घुसपैठ देखिन्छ । यसले दल, समूह, समुदाय र नेताहरू मात्र होइनन्, नेपाललाई नै विभाजित गर्दैछ । काङ्गे्रस, एमाले, माओवादी र मधेशी दलहरूबीचको द्वन्द्व रूप पक्ष हो । शक्तिराष्ट्रहरूको टक्कर सार पक्ष हो । यो सच्चाइ नबुझी राजनीतिक विश्लेषण गर्नु अन्धाले हाती छामेबराबर हो । यसको व्यवस्थापन समयमै नगरे मुलुक अस्थिरता, प्रतिगमन हुँदै युद्धभूमि बन्ने टड्कारो सम्भावनालाई उपेक्षा गर्न सकिन्न । तसर्थ, अतिराष्ट्रवाद र अतिसाम्प्रदायिकतावाद केवल भ्रम, ढोँग, निहीत स्वार्थ, प्रतिशोध, भावनाको राजनीति हो । कुनै पनि अतिको गन्तव्य गलत नै हुने गर्दछ । साम्राज्यवादले कुनै न कुनै अतिको माध्यमबाट आफ्नो प्रभुत्व विस्तार गर्दछ । त्यसैले पश्चिमाहरूले यस क्षेत्रमा अस्थिरता र द्वन्द्वका लागि अतिवाद चाहेको सत्य हो । काङ्ग्रेस, एमाले, माओवादी र मधेशवादी दलहरू प्रकारान्तरले उत्तर र दक्षिण ढल्किएको देखिनु संयोग मात्र हो । शक्तिकेन्द्रहरूको दोहोरो घुसपैठ सबै दलमा उत्तिकै छ । खुलेर र लुकेर भन्नेमा फरक होला । एउटै दलका सदस्यहरू पक्ष र विपक्षमा उभिनु चलखेलकै अभिव्यक्ति हो । उत्तर र दक्षिणको बिल्लाले चुनावमा ‘इमोशनल ब्ल्याकमेलिङ’ गर्ला, कसैलाई जिताउला अनि सरकार पनि बनाउला । तर शक्तिराष्ट्रहरूको रणनैतिक स्वार्थबाट हुने हस्तक्षेपको अन्त्य हुने देखिन्न । त्यसैले यस्तो संवेदनशील धरातलमा चुनावी र दलीय स्वार्थभन्दा माथि उठेर राष्ट्रिय हितमा एकताबद्ध हुनु आजको ऐतिहासिक आवश्यकता हो । नत्र उत्तरको हाउगुजीले नेपाल दोस्रो अफगानिस्तान बन्ने खतरा देखिन्छ । (किराती सञ्चार मन्त्रीका प्रेस सल्लाहकार हुन् ।)