धरान/सुनसरीमा हात्तिपाइले (फाइलेरिया) रोग निवारण उन्मुख रहेको छ । ६ वर्षअघि हात्तिपाइलेको औषधि सेवन गराउनु पूर्व सुनसरीमा २ प्रतिशत हात्तिपाइले रोगीको आकँडा थियो ।
तर, निरन्तर औषधिको प्रभावका कारण त्यो संख्या घटेर एकदशमलव ६६ प्रतिशत रोगीहरु मात्रै रहेको देखाएको छ । इपिडियामलोजी तथा रोग नियन्त्रण महाशखाले सुनसरीको दुईवटा गाविसमा गरेको सर्वेक्षणपछि उक्त प्रतिशतमा मात्रै रोगीहरु भेटिएको हो । महाशाखाले सुनसरीको नरसिङ र कप्तानगञ्जलाई आधार बनाएर ६ महिना अघि सर्वेक्षण गरेको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख मुकुन्दराज गौतमले बताए । उनका अनुसार ६ सय जनामाथि सर्वेक्षण गरिएको थियो ।
महाशाखाले ६ वर्ष अघि एकसय एकजनामा सर्वेक्षण गर्दा २ प्रतिशत रोगीहरु फेला परेको थियो । जसमा खुट्टा सुन्निएको, हाइड्रोसिल र स्तन तथा अन्य अङ्ग प्रभावित रहेको रोगीहरु भेटिएका थिए । सरकारले देशभर आर्थिक वर्ष २०६८/०६९ देखि औषधि खुवाउन सुरु गरेको थियो । जस अन्तर्गत आव २०६८/०६९ मा खुट्टा सुन्निएकाहरु १३३ जना, हाइड्रोशील ३५७ जना र स्तन तथा अन्य अङ्ग प्रभावित भएको ९७ जना फेला परेका थिए ।
२०६९/०७० मा आएर त्यो संख्या घटेर खुट्टा सुन्निएको ८९ जना, हाइड्रोशिल २३० र स्तन तथा अन्य अङ्ग प्रभावितमा ७१ जना रहेका थिए । हरेक आर्थिक वर्षमा त्यो संख्या घट्दै आइरहेको प्रमुख गौतमले बताए । आव २०७२/०७३ मा आइपुग्दा ४६ जना खुट्टा सुन्निएका, १२४ जना हाइड्रोशिल र १७० जना अन्य अङ्ग प्रभावित बनेका रोगीहरु रहेको भेक्टर कन्ट्रोल सुपरभाइजर प्रेमकुमार दासले बताए । ‘महाशाखाकै टोली आएर गरेको सर्वेक्षणमा १.६६ प्रतिशत मात्रै रहेको छ ।’ दासले भने ।
सुनसरीमा छैठौं चरणमा आइपुग्दा ७ लाख ७ हजार २७ जनालाई औषधि खुवाउन योग्य मानिएको थियो । जसमध्ये ४९ हजार ५ सय ६४ जनालाई खुवाउन नमिल्ने बताइएको थियो । यो संख्या सुत्केरी, २ वर्ष मुनी, ७० वर्ष माथि र दृघरोगीहरुको हो । पहिलो वर्ष सुनसरीमा ६६ प्रतिशतलाई औषधि खुवाइएको थियो भने दोस्रो वर्ष ५९ प्रतिशतले मात्रै औषधि खाएका थिए । त्यस्तै तेस्रो वर्ष ६८ दशमलव ६४ प्रतिशत, चौथो वर्ष ६८ दशमलव २३ प्रतिशत र पाँचौ वर्ष ७३ प्रतिशतले औषधि खाएको जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्याङ्क छ ।
नेपालमा सन् २००३ देखि हात्तिपाइलेको औषधि खुवाउन सुरु गरिएको हो । सबैभन्दा सुरुमा पर्सा जिल्लामा औषधि खुवाउन थालिएको हो । नेपालमा ६१ जिल्लामा हात्तिपाइलेका रोगीहरु प्रभावित रहेको बताइन्छ । विश्वको ७० वटा देशहरु हात्तिपाइलेबाट प्रभावित रहेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) बताउछ । डब्लुएचओका अनुसार ७० देशमा एकविलियन भन्दा बढी रोगीहरु रहेका छन् ।