१२ वैशाख, २०७२ मा गएको विनाशकारी भूकम्पपछि अहिलेसम्म नेपालमा ३० हजारभन्दा बढी भूकम्प तथा परकम्प गएका छन् ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गोरखा भूकम्पपछि हालसम्म ४ रेक्टर स्केलभन्दा माथिका ४७९ र त्यो भन्दा तलका ३० हजारभन्दा बढी परकम्प गएको हुन । केन्द्रले ‘गोरखा भूकम्प’ पछि नेपालमा गएका भूकम्पको धक्का प्रशोधन कार्य (अभिलेख राख्ने काम) गरिरहेको छ ।
१२ वैशाखमा गएको भूकम्पपछि दैनिक सयौँ परकम्प गएको र त्यसको अभिलेख राख्न नसकेकाले अहिले केन्द्र अभिलेख राख्ने काम जुटिरहेको राष्ट्रिय भूकम्प मापन केन्द्रका सिस्मोलोजिष्ट भरतप्रसाद कोइरालाले बताए । उनले भने– “देशभरका केन्द्रबाट आएका तथ्याङ्कको प्रशोधन गरिरहेका छौँ । अहिलेसम्म करिब २० हजार परकम्पको प्रशोधनको काम भइसक्यो ।”
यसैबीच नेपालमा भूकम्प मापन गर्ने थप १८ केन्द्र स्थापना गरिने भएको छ । १२ वैशाख, २०७२ का विनाशकारी भूकम्पपछि विभिन्न देशको सहयोगमा थप १८ केन्द्र स्थापना गर्न लागिएको हो ।राष्ट्रिय भूकम्प मापन केन्द्रका सिस्मोलोजिष्ट कोइरालाले मुलुकभर हाल २१ केन्द्र रहेको र थप १८ केन्द्र थपिन लागेको जानकारी दिए । उनले भने– “सन् २०१८ सम्म चीन सरकारले १०, थाइल्यान्डको रायम्स कम्पनीले चार र जापान सरकारले आठ केन्द्र बनाउन सहयोग दिनेछन् ।”
नेपालमा सन् १९७८ मा फ्रान्स सरकारको सहयोगमा ललितपुरको फुल्चोकीडाँडामा भूकम्प मापन केन्द्रको स्थापना भएको थियो । नेपालमा अहिले पूर्व ताप्लेजुङदेखि पश्चिम बैतडीसम्म २१ केन्द्रबाट भूकम्प मापन हुँदै आएको छ ।