धरान/जङ्गली च्याउ मात्रै देखेका भोजपुरका श्याम बास्तोलाले काठमाडौमा पहिलो पटक घरमै उत्पादित च्याउ देखेपछि च्याउ खेती गर्ने सोच बनाए ।
तर, खेतीका लागि जमिन अभावका कारण त्यसै थाती रहेको उनको योजना चारवर्ष अघिबाट पूरा भएको छ । बाउबाजेले धरानमा जमिन जोडेपछि भने उनले धरान–१४ मा चारवर्ष यतादेखि च्याउ खेती गरेर मनग्यै कमाउदै छन् । ‘पढ्दापढ्दै भागेर काठमाडौं लागियो । काठमाडौंमै च्याउ खेती देखेको थिएँ ।’ उनले भने, ‘जङ्गलको मात्रै देखेको आफूले यो चाही के को ? भनेर सोध्दा परालबाट बन्छ भनेपछि गर्न मन लागेको थियो ।’
काठमाडौंबाट फर्किएपछि टिभीमा मोरङ मंगलबारेस्थित विनय च्याउ उद्योगको समाचार देखेपछि थप हौसिएको उनी बताउछन् । ‘त्यसपछि फोन नम्बर लिएर मंगलबारे नै पुगे । त्यहाँ एकदुई दिन हेरेपछि आफैले गर्न थाले ।’ उनी भन्छन् । अहिले पनि उनलाई च्याउ सम्बन्धीको प्राविधिक ज्ञान छैन् । तर, पनि अहिलेसम्म घाटामा गएका छैनन् ।
चारवर्ष अघि ९ हजार रुपैयामा डेढसय सिलिण्डर च्याउ खेती गर्दा उनले ६० हजार रुपैया कमाएका थिए । त्यसपछि ५ सय सिलिण्डर लगाए । २ सय सिलिण्डर खेर गयो । तर, पनि घाटा लागेन् । ‘२ सय सिलिण्डर बिग्रिदा पनि ६०–७० हजार रुपैया कमाई भयो ।’ उनले भने ।
त्यसयता वर्षैभरी च्याउ खेती गरिरहन्छन् । अहिले उनको बारीमा २ हजार सिलिण्डर छ । च्यउबाट गर्मीमा भन्दा जाडोमा मुनाफा धेरै हुने उनी सुनाउछन् । र, उत्पादनसमेत दोब्बर हुने गरेको उनको अनुभव छ । ‘गर्मीमा हरियो ढुसी धेरै आउछ, अली जोखिम धेरै हुन्छ ।’ उनले भने, ‘जाडोमा त्यस्तो केही हुदैन् ।’ उनले देखेको भरमा च्याउ खेती थालेका उनलाई कामले काम सिकाएको छ । प्राविधिक समस्या आएमा बिनय च्याउ उद्योगबाट परामर्श लिन्छन् ।
भागेर काठमाडौं गएपछि ज्यानको लागि उनले के मात्रै गरेनन् । ज्यामी कामदेखि लिएर रत्नपार्कमा कपडासमेत बेच्ने काम गरे । त्यही क्रममा उनले च्याउ देखेपछि खेतीतर्फ आर्कषित भएको बताउछन् । ‘धरान मै पनि पहिलादेखि नै सुरु गर्थे होला । तर, पानी थिएन् । पानीको अभावले ढिला भयो ।’ उनी भन्छन् । २ हजार सिलिण्डरको लागि दैनिक डेढसय लिटरसम्म पानीको आवश्यकता पर्ने उनी बताउछन् ।
अहिले त्यहीबाट कमाएको पैसाले बैंकको ऋण धानिरहेका छन् भने बाइकको फाइनान्स पनि तिरिरहेका छन् । ८ जनाको परिवार त्यही च्याउले धानेको छ । आधा नै कुहियो भने पनि घाटा नहुने खेती भएकाले उनीले आगामी वर्ष भित्रमा एकडेढ कठ्ठा मै च्याउ खेती गर्ने सोच बनाएका छन् । च्याउको बजार जुनसुकै समयमा भइरहने कारण पनि उनी यो खेतीमा आर्कषित बनेका हुन् । ‘च्याउको जतिखेर पनि मार्केट हुन्छ ।’ उनले भने, ‘मार्केट पनि राम्रो छ ।’
प्रतिकेजी २ सय रुपैयामा बिक्री हुने च्याउको बजार माग धान्न नसकेको उनी बताउछन् । बजार माग अनुसार च्याउ उत्पादन हुन नसकेकोमा उनी दुःखी छन् । उनको घरबाट मात्रै दैनिक ५ केजी भन्दा बढी च्याउ बिक्री हुने गरेका सुनाउछन् । उनी युवाहरुलाई यस्तै खेती गर्न सुझाउछन् । त्यसो त, उनले कुखुरा पनि पालेका छन् ।
कुखुरा पालनलाई पनि निरन्तरता दिने सोचमा छन् । च्याउबाट मात्रै वार्षिक ४ लाख रुपैया आम्दानी लिन्छन् । १४ धुर माटोमा अहिले खेती गरिरहेका छन् । थोरै लगानीमा पनि राम्रो आम्दानी हुने कारण च्याउमा उनी दत्तचित्त भएर लागेका छन् ।