सन् २०१७ यता छिमेकी देश भारतमा अचानक ठूलो संख्यामा स्वाइन फ्लुका बिरामी बढेका छन्। मृत्युदर पनि उच्च भएकाले स्वाइन फ्लु भाइरसको अनुसन्धान सुरू गरिएको थियो। अनुसन्धानले हाल प्रकोपका रुपमा देखा परिरहेको स्वाइन फ्लु नयाँ प्रजातिको भएको पुष्टि गरेकोछ। यसलाई ‘मचिगन स्ट्रेन’ स्वाइन फ्लु भनेर नामकरण गरिएको छ।
यो पहिलोपटक भारतमा देखा परेको हो। यसले भारतमा सन् २००९ देखि नै देखा पर्दै आएको ‘क्यालिफोर्निया स्ट्रेन’ स्वाइन फ्लुलाई प्रतिस्थापन गरेको छ। भारतको महाराष्ट्रमा मात्र पनि यो नयाँ स्वाइन फ्लुले दुई सय भन्दा बढीको ज्यान लिएको तथ्यांक छ। यस कारण पनि विश्व स्वस्थ संगठन (डब्लुएचओ) ले यो नयाँ प्रजातिको भाइरसलाई गम्भीर रुपमा लिएको छ। डब्लुएचओले यसबारे थप अनुसन्धान गरिरहेको छ। साथै सतर्क रहन पनि आह्वान गरेको छ। त्यस्तै नयाँ स्वाइन फ्लु भाइरसको खोप प्रयोग गर्न पनि सुझाव दिएको छ।
सामान्यत भारतमा देखा परेको कुनै पनि सरुवा रोग खुल्ला र सहज आवत–जावतका कारण नेपालमा सजिलै प्रवेश गर्न सक्छ। त्यसैले नेपालमा पनि यो भाइरसबारे उत्तिकै चासो लिनुपर्ने हुन्छ। नयाँ रोग देखा पर्नु झनै चिन्ताको विषय हुन सक्छ।
नेपालमा पनि ‘क्यालिफोर्निया स्ट्रेन’ स्वाइन फ्लु रहेको विभिन्न अनुसन्धानले देखाएका छन्। यो सन् २००९ देखि नै देखा परिरहेकाले जिनमा ठूलो परिवर्तन भएर नआएसम्म आत्तिनुपर्दैन तर नयाँ स्ट्रेनको स्वाइन फ्लु भए गम्भीर हुनुपर्छ। नेपाल सरकारले स्ट्रेनको पनि पहिचान गरे त्यही अनुरुप खोपको आवश्यकता पहिचान गर्न सकिने थियो।
खोपबाट खास गरी दीर्घरोगीहरु प्रत्यक्ष लावान्भवित हुनेछन्। विकसित देशमा त हरेक वर्ष फ्लुको सिजन अगाडि अनिवार्य खोप लिन सुझाव दिने गरेको पाइन्छ।
दुर्इ हप्ताअघि एक निजी अस्पतालमा एउटी ५५ वर्षे महिलाको स्वाइन फ्लुका कारण मृत्यु भएको थियो। उनकै परिवारका अर्का सदस्य पनि स्वाइन फ्लुकै कारण अस्पताल भर्ना हुनुपरेको थियो। यसले त्यस अस्पतालमा ठूलो त्रास सिर्जना गरेको थियो र हालसम्म पनि सबै त्रासमा छन्। धैरैले मसँग यसबारे सोधिसकेकाले पनि उनीहरुमा त्रास रहेको महसुस गरेको हुँ। अझै पनि फ्लुबारे पर्याप्त जानकारी स्वास्थकर्मी र सर्वसाधारणसम्म पुर्याउन सकिएको छैन भन्ने लाग्छ। यसैमाथि बिरामीको प्रत्यक्ष सम्पर्कमा रहने स्वस्थकर्मी र अस्पताल कर्मचारीहरुले खोपको आवश्यकता महसुस गरेको पाइँदैन।
नयाँ स्वाइन फ्लुको स्ट्रेन देखा पर्नु विश्वका लागि सधैँ चुनौतीको विषय रहँदै आएको छ। यसले खासगरी ठूलो संख्यामा मानिसलाई प्रभावित पार्ने गर्छ। मृत्युदर पनि ह्वातै बढाउन सक्छ। सन् १९१८ मा देखा परेको स्पेनिस फ्लु र त्यसपछि देखा परेको एसियन फ्लु, हङकङ फ्लु तथा सन् २००९ मा देखा परेको स्वाइन फ्लु पहिलो पटक देखा पर्दा हजारौँको ज्यान लिएको इतिहासलाई सजिलै बिर्सनु हुँदैन। नेपालमा वर्षेनी सयौँ बिरामीको निमोनियाका कारण मृत्यु हुने गरेको छ। निमोनिया भएर मृत्यु हुनेमध्ये धेरैको फ्लु, खासगरी नया स्ट्रेनको कारणले भएको हुन सक्छ। तसर्थ, भारतमा देखिएको नयाँ स्ट्रेनको फ्लुको हामी पनि जोखिममा छौँ। यसतर्फ स्वास्थ मन्त्रालयले समयमै ध्यान दिन आवश्यक छ। भारतमा नयाँ स्वाइन फ्लुको स्ट्रेनले गराएको मृत्युदर उच्च छ। आगामी दिनमा नेपालमा पनि यसले ठूलो मानवीय क्षति नपुर्याउला भन्न सकिँदैन। त्यसैले बेलैमा सचेत रहौँ, ढुक्क भए नबसौँ।