दयाहाङ राई नेपाली रजतपटका अहिलेका चल्तीका नायक । उनी अफर आएका ७५ प्रतिशत चलचित्र छाड्छन्, बाँकीमा मात्रै अभिनय गर्छन् । स्क्रिप्ट चित्त बुझे साइन गर्छन्, नबुझे पन्छाइदिन्छन् ।
मौलिक पहिचान बोकेको स्क्रिप्ट उनलाई मनपर्छ । कल्पनाको संसारमा हराएको भव्य फिक्सनभन्दा दैनिक जनजीवनमा जोडिएका चलचित्रको कथाले उनलाई छुन्छ । त्यस्तै चलचित्रमा उनको मन रमाउँछ ।
रङ्गमञ्च हुँदै सेतो पर्दाको यात्रा तय गरेका दयाहाङको सुरुआतको सोच अलि फरक थियो । उनको आकांक्षा र उनले हिँड्दै गरेको बाटो फरक थियो ।
उनी आफ्नो चर्चा चारैतिर होस् भन्ने कल्पना गर्थे । सुरुमा लेखक बन्ने रहर बोकेर काठमाडौं छिरेका दयाहाङ रङ्गमञ्चमा कलाको साधनामा थिए । केही सीमित व्यक्तिले उनलाई नाटकमा हेर्दै थिए ।
त्यतिबेलासम्म पनि आफ्नै अगाडि थाहै नपाई आफ्नै चर्चा होस् भन्ने उनी चाहनाका लागि रङ्गमञ्चमा जग खन्दै थिए । “म पपुलारिटीको पछि लाग्ने मान्छे हो, मेरो चर्चा चारैतिर होस् भन्ने त सोच्थें,” दयाहाङ भन्छन्, “तर म मेरो चर्चा मेरै अगाडि मेरै साथीले थाहै नपाई मलाई नै गरोस् भन्ने सोच्थें ।”
रंगमञ्चमा अभिनय गर्ने उनको यो सोच र उनको कर्म आफैंमा बाझिएका थिए । चलचित्र ‘दासढुंगा’ मा अभिनय गरेपछि उनको आफ्नै अगाडि आफ्नै चर्चा होस् भन्ने गुप्त चाहना समाप्त भयो । उनलाई मान्छेले चिन्न थाले ।
“मैले त्यो चलचित्रमा मेरो तर्फबाट निकै मेहनत गरेको थिएँ, सकेको र जानेको अभिनय मैले ‘दासढुंगा’ मा गरेँ,” दयाहाङ भन्छन्, “निश्चलले ‘दासढुंगा’ मा मलाई हेरेर नै ‘लुट’ मा कास्ट गरेको हो ।”
‘दासढुंगा’ खेलेपछि दयाहाङले आफू नेपाली चलचित्रमा अभिनयका लागि योग्य भएको महसुस गरे । चलचित्रका लागि अफर आउनेमा ढुक्क भए । तर, उनको मनको चाह भने समाप्त भयो ।
भन्छन्, “‘दासढुंगा’ बाट मलाई चलचित्रमा म खेल्न सक्छु भन्ने त ढुक्क भयो । तर, मेरै अगाडि मेरै साथीले मेरोबारे म भन्ने थाहै नपाई चर्चा गरोस् भन्ने चाहना भने समाप्त भयो ।”
मान्छेमा चाहना पनि अनेक खालका हुँदारहेछन् । केही पूरा हुने, केही अधुरै रहने । केही कर्मसँग मिल्ने र केही नमिल्ने । केही पछि लाग्दा पनि नभेटिने अनि केहीचाहिँ अनायासै ठोक्किन आइपुग्ने ।
यस्तै रह्यो दयाहाङको जीवनयात्रा पनि । लेखक बन्ने सपनाको रंगीन झोला बोकेर भोजपुरबाट सपनाको सहर काठमाडौं छिरेका उनी रजतपटका नामी नायक भएर निस्किए ।
बच्चैदेखि कथा र उपन्यास पढ्न रुचाउने उनी शहरको कथा लेख्न शहरी परिवेश बुझ्न काठमाडौं छिरेका थिए । बच्चा बेलामा पढेका दन्त्य कथालाई परिमार्जन गरेर नयाँ कथा लेख्न मन पराउने उनी काठमाडौं आएपछि रंगकर्मीहरुसँग संगत बढ्यो । त्यही संगतले उनलाई कथाबाट रंगकर्मतर्फ डोर्यायो । रंगकर्मले सेतो पर्दाको बोटो तय गरिदियो ।
उनीसँगै उनले एउटा मानक पनि स्थापित गरिदिए । रहरलाग्दा दारीजुँगा पलाएका आर्य फेसले मात्रै चलचित्रको लिड रोलमा दाइँ गरिरहेको सेतो पर्दामा दारीजुंगा नभएको व्यक्तिले पनि लिड रोलमा अभिनय गर्नसक्छ भन्ने स्थापित गरिदिए ।
“हुन त एक दिन यो हुनु नै थियो । व्यक्ति भन्दा पनि अभिनय प्रदान विषय हुन्छ भन्ने प्रमाणीत हुन्थ्यो नै,” उनी भन्छन्, “त्यो लुटले स्थापित गरिदियो । जस हाम्रो पोल्टामा आइपुग्यो ।”