ठूला ठूला महल होइन, सीप सिकाउने झुपडी देऊ हिंसा माग्ने मैदान होइन, धान उमार्ने खेत देऊ
सुगम संगीत गायक कर्णदासको यो गीत नसुन्ने श्रोता शायदै भेटिएलान् । हामीलाई ठूला महलभन्दा पनि सीप सिक्ने झुपडी जरूरी छ भन्ने भावको यो गीतले कुनै बेला चर्चाको शिखर चुमेको थियो ।
देश सशस्त्र द्वन्द्वबाट गुज्रिरहेको बेलामा गीतको माध्यमबाट हिंसा त्यागेर सीप र परिश्रमबाट माथि आउन गायक कर्णदासले आह्वान गरेका थिए । उनै गायक देशको अस्थिरताको बेलामा भने नेपाल छोडेर अमेरिकातिर हानिए ।
लगभग दश वर्ष लामो अमेरिका बसाईंपछि अन्ततः उनी नेपाल फर्के । कारण थियो, भूकम्प ।
दुई वर्षअघिको विनाशकारी भूकम्पले सारा नेपालीलाई अत्यायो । विदेशमा भएका नेपालीलाई पनि आफ्नो परिवारको मायाले अझ बढी हतोत्साही बनायो । त्यसपछि नेपाल फर्कने निर्णयका साथ कर्णदास फर्के । ‘जे जस्तो भएपनि आफ्नै परिवारसँग बस्नुपर्छ, मलाई देश र परिवार चाहिन्छ भनेर नेपाल फर्कें,’, कर्णदास भन्छन् ।
पोखरा यसैपनि साहित्य र संगीतको शहर । त्यतिबेला केही ब्याण्डले पोखरामा राम्रो पकड बनाइसकेका थिए । कलेज पढ्ने केही युवाहरूको समूहले ब्याण्डको योजना बनायो । नाम राख्यो, मध्याह्न ब्याण्ड ।
पचासको दशकमा नेपालमा अरू पनि दर्जनौं ब्याण्ड थिए । ती ब्याण्डको भुमरीमा मध्याह्न ब्याण्डले पनि आफ्नो उपस्थिति खरो तरिकाले उतार्नुपरेको थियो ।
बीसवर्षे आफ्नो जोश र संगीतप्रतिको झुकावको प्रतिफलमा उनीहरूले एउटा गीत रेकर्ड गराए । गीतले राम्रो चर्चा मात्र कमाएन, कर्णदासलाई नेपाली संगीतको क्षेत्रमा पनि चिनायो । गीत नसुन्ने कमै भए । मन नपराउने कमै भए ।
‘मेरो पहिलो गीतले नै मलाई संगीतमा स्थापित बनायो,’ उनी मुस्कुराउँदै भन्छन्, ‘गीतको प्रतिक्रियाले हौसिएका हामीले अरू गीत पनि राम्रो गर्ने सुनौलो मौका पायौं ।’ गीत सँगसँगै उनले गितार बजाउन पनि सिकेका थिए । हार्मोनियम बजाउन पनि ।
त्यसपछिका एल्बम ‘पुरानो डुंगा’, ‘आधा सपना’, ‘प्रीत’ र ‘जिन्दगीका क्षणहरू’ सबै चर्चित भए । ‘पुरानो डुंगा’मा रहेका गीतहरू अझ धेरै चर्चित बने । उनका गीतले नेपाली सुगम संगीतमा आफ्नो नामलाई बोल्ड बनाए । पोखराले मात्र होइन, पूरै नेपालीले उनका गीत गुनगुनाउन थालिसकेका थिए ।
कर्णदास चर्चित त भए तर उनको ब्याण्ड भने लगभग हराइसकेको थियो । त्यसैले उनले एकल एल्बमसमेत बजारमा ल्याए । ‘शुरुवाती समयका मसँगका साथीहरू संगीतमा हुनुहुन्न, कोही विदेशमा हुनुहुन्छ, नेपालमा भएका केही साथीहरू पनि संगीतबाहिरको संसारमा हुनुहुन्छ,’ कर्णदास थप्छन्, ‘जीवनमा भोलि के गरिन्छ भन्ने कसैलाई थाहा नहुने रैछ, हुन त क्याम्पस पढ्दा हामी सबैले संगीतमा सपना देखेका थियौं ।’
‘म बाह्र वर्षको उमेरदेखि नै गितार बजाउँथे । घरपरिवारले मलाई सधैं साथ र हौसला दिनुभयो,’ उनले आफ्नो स्मरण सुनाए, ‘मेरा बाआमाले सपोर्ट नगरेको भए आज म कर्णदास भनेर चिनिने थिइनँ ।’ उनी सुनाउँछन्, ‘सानैदेखि बुबाले मलाई सधैं तँ गीत गाउन जन्मेको होस् भन्नुहुन्थ्यो । अनि आमा राम्रो नाच्नुहुन्थ्यो ।’
सन् २००६ मा अमेरिका हानिएका कर्णदास अमेरिका जान पाउनु एउटा ‘अवसर’ भएको बताउँछन् । ‘मेरा लागि त्यो अवसर थियो । अमेरिकाले मलाई निडर र स्वावलम्बी हुन सिकाएको छ,’ उनी भन्छन्, ‘हामीले सुनेको अमेरिकाको जिन्दगी कस्तो रहेछ भन्ने लागेर म केही समयका लागि त्यहाँ गएको थिएँ ।’ त्यसअघि पहिले पनि केही देशको भ्रमण गर्ने मौका जुरेको उनी बताउँछन् ।
धार्मिक रूपमा इसाइ धर्म अपनाएका कर्णदासले थुप्रै इसाई गीतमा पनि स्वर दिएका छन् । ‘म जन्मजात क्रिस्चियन हुँ, केहीले मलाई धर्म परिवर्तन गरेको आरोप पनि लगाउने गर्नुहुन्छ,’ उनी थप्छन्, ‘तर म त्यसो गर्दिनँ । म बाइबल पढ्छु र मानव धर्मलाई प्राथमिकतामा राख्छु ।’
नेपाली समाजमा प्रेम सेलाउँदै गएर स्वार्थीपना मौलाउँदै गएको कर्णदासको गुनासो छ । भन्छन्, ‘म त सानैदेखि बुबाले पढेको बाइबल सुनेर हुर्केको हुँ । प्रेममा विश्वास गर्छु ।’
लामो समयको ‘ग्याप’ पछि नेपाली सांगीतिक यात्रामा फर्केका गायक कर्णदासले पछिल्लो समय भने ‘एउटा नयाँ आशा’ मार्फत नेपाली सांगीतिक क्षेत्रमा पुनरागमन गरेका छन् ।
पछिल्लो समयमा डिजिटल प्रविधिबाहेक अन्य कुरा उस्तै भएपनि नयाँ कलाकारले पनि गीति क्षेत्रमा राम्रो प्रभाव देखाएको कर्णदास बताउँछन् । ‘नयाँ पुस्ताले नयाँ आशा लिएर आउनुभएको छ । यो सकारात्मक कुरा हो,’ उनी थप्छन्, ‘तर लामो समयसम्म पनि संगीत क्षेत्र जस्ताको त्यस्तै छ ।’
अहिले संगीतसँगसँगै परिवारका लागि पनि समय दिइरहेका कर्णदासको अबका ठूला योजना भने त्यति छैनन् । ‘म गायक सँगसँगै एक श्रीमान् तथा बुवा पनि हुँ, परिवारको जिम्मा उस्तै थपिएको छ,’ उनी मुसुक्क हाँस्दै सुनाउँछन्, ‘देशलाई कुनै न कुनै माध्यमबाट सहयोग गर्न सकूँ, साथसाथै समाजसेवा पनि गर्न सकूँ ।’