‘म पागल हुँ । आफ्नै कालमा शान्त र सबृद्ध नेपाल बनाउन लागिपरेको छु । मेरो पागलपन साबित गर्न म कर्मठ र इमान्दार र लगनशील छु ।’ रन्जु दर्शनाको फेसबुक पेजमा उल्लेखित यो भनार्इबाट पनि थाहा लाग्छ उनी एक निष्ठावान ‘पागल’ हुन् । देश र जनताको लागि एउटा निष्ठा र अदम्य साहस सहित आफूलाई पागल घोषणा गर्ने रन्जु वास्तवमै एक असल मानव हुन् ।
अझ असल र नमुनायोग्य बनुन । आफ्नो पागलपनलाई साकार रुप दिन काठमाडौं शहर, राजधानी नगर, देशकै प्रवुद्र्ध, प्रवुद्र्धबर्ग उत्पादनको अत्याधिक कारखाना भएको शहर, उच्च कुलीन, धनाड्य अनि नवधनाड्य, सवै पहुच र शक्तिको बोलवाला भएको शहरमा मेयर पदको लागि उम्मेदवारी घोषणा गर्ने सबै भन्दा कान्छो पुस्ताकी प्रतिनिधि पात्र हुन् ।
सिधा र सामान्य अर्थमा उनको यो घोषणा दुस्साहस , पागलपन र हाँसीमजाग नै हो । सवैले उडाउने छन अझ पुराना र स्थापित भनिएका राजनैतिक दल तिनका नेता कार्यकर्ताले, नवयुवक र नवयौवनाहरुले यिनको यो साहस हिम्मत र चुनौतीलाई दोहोलो काढ्ने छन् । रन्जुका बारेमा अनेकानन किस्सा बन्ने छन । अफवाहहरु फैलने छन् । उनको चरित्र र आनीबानी अनि स्वभाव बारे अत्यन्त अप्रिय अराजक र विवेकहीन टिकाटिप्पणी र हुर्मत काढ्ने मसला बनाइनेछ ।
कसैले रन्जुको उमेरलाई दुधेबालक भन्ने छन । सानी बच्ची भन्न थाली पनि सके । कसैले उनको अनुपम सौन्दर्य र बैशालु जोवनको कार्य ब्यापारको रुपमा चित्रित गर्नेछन् । जुन ट्रेन्ड सामाजिक संजालमा देखिन लागिसक्यो । रन्जुलाई सहन गर्न नसकिने आरोप र लान्छनाहरु लगाइनेछन । सबै आरोप टीकाटिप्पणी लान्छना र हुर्मत छेड्ने कुराहरुको रन्जुले शालिन प्रतिवाद र खण्डन गर्नु पर्नेछ । धैर्य र क्षमाशील बन्नुपर्छ । हाम्रो समाज कस्तो छ यसको चरित्र स्खलित छ या परिस्कृत छ सभ्य छ या अझै जंगली छ त्यो अब विस्तार विस्तार देखिनेछ । हामी राजनीतिक रुपमा कस्तो कल्चर र ट्रेन्डमा छौ त्यो प्रकट हुनेछ । हाम्रो समाजको अझ भनौं राजधानी शहरको पुरुष प्रधान समाजको स्तर कहाँ निर छ रु समाजको असल नियत र मुखुण्डो खुल्नेछ । महिला अनि यिनलाई हेर्ने बुझ्ने समाजको चेतनास्तर कहाँ छ ? महिलाले महिलालाई अवसर दिन कति तत्परता देखाउँछन ? परीक्षा महिलावादीहरुको पनि हुनेछ ।
लिखतम, बकितम र रियालाटीमा कति अन्तर हुन्छ भन्ने कुरा पनि सतहमा फेरि आउनेछ । काठमाडौंको चेतनाको स्तर हेरेर देशको सामाजिक मनोवैज्ञानिक र मानवीय चेतनाको स्तर पत्ता लगाउन सोध-पत्र तयार गर्न सजिलो हुनेछ । कालो बादल भित्र पनि उज्यालो चाँदीको घेरा हुन्छ भने झैँ रन्जुको अब आलोचना र निन्दा मात्र हुने छैन समाजको एक तह र तप्काले यिनको साहसको प्रशंसा र सम्मान गर्ने छ । यिनको साहसमा होस्टे र हैंसे पनि गर्ने छ । राजधानी शहरमा यिनको उम्मेदवारी घोषणाले एउटा तरंग उत्पन्न गरेको छ । नेपाली जनमत बुझ्न र हेर्न अहिले सामाजिक संजाललाई हेरे पुग्छ जसको दवाब र समर्थनमा सवैलाई हायल कायल पार्ने ल्याकत रहेको तथ्य खुल्ला र ताजै छ ।
समाजशास्त्रीय र मानवशास्त्रीय दृष्टिकोण र हेराइमा पनि यिनको उम्मेदवारी घोषणाले विषेश अर्थ र मान्यता राख्छ । बिभिन्न काल खण्ड, बिभिन्न र फरक फरक ढंगका जनता जगाउने, परिचालन गर्ने , सामाजिक र राजनीतिक आन्दोलनको नेतृत्व, तिनका अवयव अनि तिनको निरन्तरताको विरासत, लम्बेतान राजनीतिक पृष्ठभुमि भएका पुस्ता र तिनको हालीमुहाली भएको नगरमा एक नवजवान युवतीको हाँक र चुनौती फरक ढंगको बिम्ब प्रतिबिम्ब र प्रतीकात्मक अर्थ दिने युगान्तकारी संदेश र स्वयं एउटा आन्दोलन हो । अभियान हो । एउटा पिंढी र पुस्तालाई सम्मान साथ विस्थापित गर्ने कडी र विचार हो । नयाँ चेतना, नयाँ ढंग नयाँ शैली र नयाँ बाटो हो ।
यस्तो चुनौतीपूर्ण बाटो हिड्न लर्तरो सहास र आँटले पुग्दैन र यो जो कोहिसंग हुन् सम्भव पनि छैन । विवेक, सत्य न्याय र निष्ठा अनि पवित्रता खडेरी पर्दै गएको समाजमा विवेकशील हुनु, बन्नु आफैंमा असाध्यै ठूलो चुनौती र हाँक हो । सामान्य हिम्मत र बल अनि संकल्पले, अठोट र लगनशीलताले यो समाज अनि देश परिबर्तन गर्ने कुरा गर्न सजिलो छैन । कुरा गर्न र भाषण गर्न त सजिलो होला तर काम फत्ते गर्न असम्भव छ । राजनीति आज रोपेर आजै अहिल्यै र तुरुन्तै फूल फुल्ने, फल लाग्ने र फसल पाक्ने चिज हैन यसको परिणाम र परिणतिको लागि धैर्य र अटुट लगाव आवश्यक हुन्छ ।
इतिहास जित्नेको मात्र लेखिने जवाना र समय होइन यो । हारेर पनि इतिहास बनाउन सकिन्छ, रच्न सकिन्छ । इतिहास सत्य, न्याय, निष्ठा, साहस र संकल्पको पनि लेखिन्छ । सकारात्मक परिवर्तनको लागि पहाडसंग कुइनो ठोकाउनेको पनि इतिहास बन्छ । ठाडो औंला देखाएर विकृतिको विरुद्द आगो ओकल्ने सौर्यको पनि इतिहास हुन्छ । समाज, देश र दुनियाँ बदल्न उमेर, शिक्षा र ठूलो राजनीतिक, आर्थिक र सामाजिक पृष्ठभूमिको जरुरत पर्दैन । इच्छाशक्ति, लगाव र निरन्तर प्रयास अनि बारम्बारको अन्वेषण र प्रयोगले देश दुनियाँ बदल्न सकिन्छ । अवसर पायो भने नाती पुस्ताकी यी राजनीतिकर्मी, राजनीतिकी कान्छिकर्मी, राजनीतिकी ज्यामी रन्जुले पनि अघिल्लो पुस्ता बाउ, बाजेको पुस्ताको भन्दा पृथक र नवीनतम ढंगले वा भन्ने गरि काठमाडौँ नगरपालिकाको नेतृत्व गर्नेछन् । रन्जु यस कारण पनि सवल छिन् उनी आफैं स्नातक लेवलमा अध्यनरत छिन् ।
रन्जु भन्छिन ‘म टायर बाल्ने र सडक भत्काउने र फोहोर पार्ने राजनीति होइन फूल रोप्ने र विरुवामा पानी हाल्ने, गोडमेल गर्ने रचनात्मक राजनीति गर्छु ।’ ‘बिग्रे आफू मात्र बिग्रने सप्रे देश सपार्ने’ विवेकशील पार्टीका नेताहरुको एउटा रचनात्मक र सुन्दर लय छ जो अत्यन्त प्रभावकारी र मनोहारी छ । रन्जुको उम्मेदवारी वृद्दभत्ता पाउने उमेरका अग्रजले मात्र सधैं पाउने अवसरको क्रमभंगता हो । लय भिन्नता हो । अवसर सबैको लागि समान र आकर्षक हुनुपर्छ सधै पुरानो र बुढो पुस्ताको नाममा नयाँ र पछिल्लो पुस्ता मारमा पर्नुपर्ने पुरातन मान्यता र सोचको अन्त्यको शुरुवात हो ।
अब देश नयाँ पुस्ताले बनाउने हो । पूरानो पुस्ताले आफ्नो अनुभव र मार्गदर्शन दिने हो । पुरानो पुस्ताले होस्टे र हैंसे भट्याउने हो काँध फेर्ने र काँध हाल्ने नयाँ र बलियो पुस्ताले हो । अरु पार्टी र पंक्तिमा पनि रन्जुको फैसलाले नयाँ तरंग र नयाँ छाल ल्याउने कुरामा राजनीतिका पण्डितहरु विश्वस्त छन । तरंग उठिसक्यो नै रन्जुको समर्थन र बिरोधमा सामाजिक संजाल भरिन थालिसक्यो । राजनीतिलाई र राजनीतिकर्मीलाई गाली गरेर समय फाल्ने पछिल्लो पुस्ताका अल्छे, भुषतिघ्रे युवायुवतीलाई रन्जुको सुझाव छ । ‘राजनीति फोहोर भयो भनेर बस्ने हैन फोहोर सफा गर्न फोहोरको आहाल भित्र आफैंं पसेर बेल्चा चलाई फोहोरको उचित ब्यबस्थापन गरौं, हामीले नगरे कसले गर्ने रु अहिले नगरे कहिले गर्ने रु अब मौका कुर्ने हैन, मौका छोप्ने हो राजनीतिक रुपमा मक्किएका कलपुर्जालाई फेरौं । मिल्ने र हुने मर्मत गरौं । देश बनाऔं ।
रन्जु २१ बर्षको उमेरमा काठमाडौं महानगर पालिकाको मेयरको उम्मेदवारी लिन सफल बनिन् । लोकतन्त्रको नाममा ‘लुटतन्त्र’ र पार्टीहरुको ‘सिन्डिकेटतन्त्र’ देखेकी रन्जु वास्तविक लोकतन्त्रकी हिमायती हुन् । शासक सरकार र शासक जनप्रतिनिधि र शासकप्रसासक कर्मचारीतन्त्र र तिनको दादागिरी देखेकी रन्जु सेवक सरकार,सेवक राज्य र सेवक जनप्रतीनिधि र सेवक कर्मचारीको वकालत गर्छिन । भूकम्प पछिको अस्तव्यस्त परिवेश र छिन्नभिन्न र भयमिश्रित मनोविज्ञानले ग्रस्त अन्योल आशंका, त्राश र संशयले लखतरान र थकित देश भएको बेला विवेकशील नेपाली अनि रन्जु दर्शनाको ब्यबस्थापकीय चुस्त दुरुस्त क्षमताको सर्वत्र चर्चा र प्रसंसा भएको थियो ।
अब युवा भोलीको लागि मात्र भन्ने र मान्ने दिन रहेन युवा वर्तमानको बोझ उठाउने सशक्त काँध र बलिष्ठ हातपाखुरी पनि हुन् । युवा, बृद्ध, बाल बनिता सवैको आशाको उज्यालो किरण र न्यानो, पारिलो घाम अनि शितल जुन मध्ये एक हुन् रन्जु दर्शना । काठमाडौं सहरलाई आधुनिक र समयसापेक्ष बनाउन सबैको आफ्नो र मेरो काठमाडौं बनाउन रन्जुले यस्ता अवधारणा सार्वजनिक गरेकी छन् जुन भिजन र कार्यक्रमको रुपमा छिटोभन्दा छिटो सार्वजनिक गर्नेछन ।
‘झन्झटमुक्त र सुविधायुक्त काठमाडौं धुवा, धुलो रहित हराभरा काठमाडौँ । गरिखान पाउने, उद्यमशील काठमाडौं । हिंडुहिंडु लाग्ने, झिलिमिली र मोहक काठमाडौं । बिबिधता र सम्पदाले भरिपूर्ण काठमाडौं ।’
देशको सुनौलो भविष्य कोर्ने, बृहत खाका र स्पष्ट मार्गनिर्देशन भएकी उर्जाशील, साहसी आकर्षक व्यक्तित्व कि धनि काठमाडौं महानगरपालिका कि जल्दोबल्दो युवा उमेदवार रन्जुलाई शुभकामना । मृतप्रायः काठमाडौँको कंक्रिटको जंगल, जैविक र पर्यावरणीय अवस्थामा जीवन भरिदिने, प्राण हालिदिने ,प्राकृतिक रुपमा काठमाडौंलाई पूर्ण हराभरा र जीवन्त बनाउने पद्धती र उपचारको खाका प्रश्तुत गर्ने छन यी तरुनीले ।