धरान/दुईपटक विदेशको अनुभव बटुलेका धरान–६ ठिंगाबारीका विष्णुकुमार सुनुवार एककरोड लगानी गरेर कृषिकर्ममा होमिएका छन् । पन्ध्रलाखबाट प्रारम्भ गरेका उनले ढेडवर्षको अन्तरालमा एककरोड लगानी गरेर गाईभैसी, बाख्रा र बंगुरको व्यवसायिक फर्म सञ्चालनमा ल्याएका छन् । बाउबाजेले गरिरहेको परम्पारगत गाईभैसी पालनलाई व्यवसायिक बनाउन लागि परेका छन् । उमेरमा थुप्रै पल्ट ‘लाहुर’ को लागि छाती नपाए । दगुरे । पार लागेन । त्यसपछि २१ वर्षको उमेरमै दुबई भासिएका उनले त्यहाँ दुईवर्ष पसिना चुहाए । जम्मा साढे ३ सय डिरह्याम मासिकमा पसिना बगाएका उनी सम्झौता सकिने बित्तिकै नेपाल फर्किए । ‘त्यहाँ खाएर जम्मा ७ हजार कमाई हुन्थ्यो ।’ उनी भन्छन्, ‘त्यो भएपछि बस्न मन लागेन् । फर्किए ।’ फर्किएर पाँचवर्ष धरान–ठिंगाबारी गाडी चलाए । भाडामा किचकिच गर्नु पर्ने, कतिपयले नदिने भएपछि गाडी बेचेर फेरी कतार हानिए । साढे ३ वर्ष कतारको बसाईपछि फर्किएका उनी हाल आफ्नै गाउँमा पौरख बजारिरहेका छन् । हाल गाउँ नै उनको लागि ‘विदेश’ बनेको छ । ‘गाडीमा हिड्दा प्रसस्तै समय हुन्थ्यो । अहिले समय नै हुदैन । अली बढी समय भइदिए हुन्थ्यो जस्तो लाग्छ ।’ उनी भन्छन् । उनले आफ्नो लागि मात्रै हैन, परिवारको लागि पनि रोजगार सिर्जना गरेका छन् । ‘घरपरिवारको सहयोग छ ।’ उनी भन्छन् । एकविगाहा जग्गालाई सदुपयोग गर्न उनी सब्जीखेतीको योजना बनाएका छन् । परम्परागत रुपमा पाल्दै आएको गाईभैसीलाई २०७२ साउनबाट व्यवसायिकता दिएका उनले ५ माउ गाई र दुई माउ भैसीबाट सुरु गरेका थिए । हाल उनको फर्ममा ३० वटा गाईभैसी छ । जसबाट गाउँमै जिविकोपार्जनको गतिलो माध्यम बनेको छ । अहिले दैनिक ६० लिटर दुध गाउँ र पानमारा पु¥याउँछन् । २०७१ को अन्तिम तिर मातृभूमी एग्रिकल्चर एण्ड फर्मा प्रालि दर्ता गरेका उनले बाध्यता आइपरेपछि गाईभैसी पाल्न थालेका रहेछन् । ‘२०७१ को अन्तिममा दर्ता गरेको थिएँ । रिन्यु गर्नै पर्ने अवस्था आएपछि किन त्यसै बस्ने भनेर काम गर्न थालेको हो ।’ उनी भन्छन् । गाईभैसीका अलवा उनले बाख्रा, बंगुर थपेका छन् । उनको खोरमा ३५ वटा बाख्रा छ । ६ माउ बंगुर छ भने एउटा बीरसहित गरी १० वटा बंगुर पालेका छन् । उनलाई कृषिमा सम्भवना छ भनेर देउरालीका ‘चन्द्र भुजेल’ सरले देखाइदिएका रहेछन् । ‘चन्द्र सरले कृषिमा सम्भावना छ । तिम्रो त कृषियोग्य जमिन छ भनेर भन्नुभयो ।’ उनले भने, ‘उहाँले दर्ता गर्नेदेखि लिएर सबै कुरा देखाइदिनुभयो । मेरो त कृषितिर सोच थिएन् ।’ अहिले उनी कृषिकर्ममा मख्ख छन् । मासिक एकलाखजति दुध बेचेर आम्दानी लिन्छन् । तर, त्यसमध्ये आधा भन्दा बढी गाईभैसी, बाख्रा, सुगुरको दानापानीमा खर्च हुन्छ । भन्छन् ‘२०–२५ हजार रुपैया बच्छ ।’ बजार मार्केट पनि आफैले गर्ने हो भने यो व्यवसाय एकदमै राम्रो रहेको उनी दाबी गर्छन् । ‘बजार मार्केट लिन सकिएन् । बजार मार्केट लिन सक्दा राम्रो फाइदा हुने रहेछ ।’ उनले भने । दुबई, कतारमा मासिक ८–१० हजार रुपैया कमाउन बिहानदेखि बेलुका करिव १४ घण्टासम्म खटिनु पथ्र्यो । र, पनि सोचेजस्तो आम्दानी नहुने उनी बताउँछन् । तर, नेपालमै त्यो भन्दा बढी कमाई भएको देख्दा उनी ‘बेकार’ मा बिदेशमा पसिना चुहाइएछ भन्ने लाग्दो रहेछ । ‘त्यो बेला यस्तो सोचाई थिएन् । गर्दा यही पनि हुने रहेछ ।’ १५ जनाको परिवारलाई उनले यसैबाट धानेका छन् । एकजनालाई रोजगारसमेत दिएका छन् । गर्न सक्दा यहीँ हुने रहेछ भन्ने आँट उनमा पलाएको छ अहिले । यसका लागि रातोदिन उनी खटिन थालेका छन् ।