धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा मोहनचन्द्र रेग्मी पूर्वमै नाम कहलिएका चिकित्सक हुन् । उनी पूर्वेली आमाहरूका भरोसाका केन्द्र पनि हुन् । प्रतिष्ठानकै इमान्दार डाक्टरका रूपमा परिचित रेग्मी आमाहरूको स्वास्थ्य हेर्न दिनभर व्यस्त हुन्छन् । इमान्दार र पैसाको लोभी नभएकै कारण डाक्टर रेग्मी प्रतिष्ठानमा लोकप्रिय छन् । लामो समयदेखि पूर्वेली आमाहरूको स्वास्थ्य जाँचमा डाक्टर रेग्मीको भूमिका अत्यन्तै महत्वपूर्ण छ ।

बीपी प्रतिष्ठानमा वरिष्ठता, शैक्षिक योग्यता, प्रशासनिक दक्षता तथा अनुभवसमेत हासिल गरिसकेका रेग्मी महिलाहरूका लागि सबैभन्दा ठूला व्यक्तित्व हुन् । डा रेग्मीले प्रतिष्ठानमा दैनिक साढे तीन सय महिलाको स्वास्थ्य जाँच गर्छन् । कसैसँग रिसाउँदैनन् । दैनिक महिलाहरूको स्वास्थ्य हेर्ने उनी वास्तवमा आमाहरूका डाक्टर हुन् । राज्यले सुरक्षित मातृत्वको वाचा गरेर प्रसुती सेवाका लागि खर्च गरे पनि गाउँ–गाउँमा प्रसुतीको समयमा सही उपचार नपाउँदा महिलाहरू फिस्टुलाका रोगी बनेका बेला उनले थालेको अभियानलाई आम जनताले मात्र होइन, स्वास्थ्य मन्त्रालयले पनि ध्यान दिनुपर्छ ।

[caption id="attachment_13385" align="alignleft" width="450"] लेखकः धनबहादुर पुरी[/caption]

सरकारले आफ्नो दायित्वबाट पन्छिन मिल्दैन । बीपी प्रतिष्ठानले पनि उनको अभियानलाई ध्यान दिनुपर्छ । फिस्टुला उपचारका अभियन्तासमेत रहेका रेग्मी पूर्वेली आमाहरूको मन जित्न सफल भएका छन् । फिस्टुलाको उपचार जहाँसुकै नहुने, जुनसुकै डाक्टरले गर्न नसक्ने र नजान्ने भएका कारण पनि उनी अब्बल डाक्टर हुन् । फिस्टुलाको राष्ट्रिय केन्द्रका रूपमा स्थापित भएको बीपी प्रतिष्ठानको स्त्री तथा प्रसुती विभागका डा रेग्मी महिलाहरूका लागि प्रिय छन् । बिरामीप्रति गम्भीर हुने र उपचारमा ध्यान दिने डाक्टर रग्मीलाई प्रतिष्ठानले साथ दिनु जरुरी छ । निःशुल्क उपचार गरिने भए पनि समाजमा लाज, डर, हीनताबोध, चेतनाको कमी र अशिक्षाका कारण फिस्टुलाको समस्या भएकाहरू अस्पतालसम्म नआउने समस्या छ ।

त्यस्ता बिरामीहरूलाई अस्पतालसम्म ल्याउने अभियानमा अझै तीव्र गतिमा लाग्नुपर्ने देखिन्छ । चिकित्सकदेखि नीति निर्माताहरूले समेत सामान्य रूपमा लिएको फिस्टुलाकै कारण महिलामाथि विभेद बढेको छ । त्यसकारण यसको उपचारमा महिलाहरूले पनि विशेष ध्यान दिनु जरुरी छ । फिस्टुलाको उपचार हुँदैन भन्ने भ्रम अझै पनि रहेको, डाक्टरहरूले पनि गाउँमा जस्तै महिलालाई अपमानित गर्छन् कि भन्ने भ्रमले गर्दा बिरामीहरू आफ्नो रोग लुकाएर बस्न बाध्य हुनु हुँदैन ।

महिलाहरूमा निरन्तर पिसाब तथा दिसा चुहिने समस्या फिस्टुलाबारे सचेतनामूलक कार्यक्रम गर्दै गाउँ–गाउँबाट फिस्टुला पीडितको पहिचान गरी उपचार गराउने अभियानलाई अभैm निरन्तरता दिनु आवश्यक छ । दक्षिण एशियाका महिलामा हुने आङ खस्ने, पिसाब चुहिनेजस्ता समस्याको गुणस्तरीय उपचार सेवाका लागि अन्तर्राष्ट्रिय समुदायसँग सहयोग, समन्वय र शोध प्रक्रियामा समन्वय गरी अझ बढी आमाहरूको स्वास्थ्यमा ध्यान दिँदै जानुपर्छ । आमाहरूलाई समान व्यवहार गर्ने भएकै कारण डाक्टर मोहन आमाहरूका डाक्टर साथी हुन् । कहिल्यै नरिसाई आफ्नो कतव्र्यमा लाग्ने मोहन वास्तवमै आमा, दिदी–बहिनीहरूका डाक्टर साथी हुन् । आङ खस्ने समस्या धेरै नेपाली महिलाहरूको प्रजनन् स्वास्थ्यसम्बन्धी समस्याहरूमध्ये पाठेघर झर्ने (जसलाई आङ खस्ने पनि भनिन्छ) एक मुख्य समस्या हुँदै गएको छ । ग्रामीण भेगमा बसोवास गर्ने कतिपय महिलाले अहिले पनि यसलाई स्वास्थ्य समस्याको रूपमा लिने गरेको पाइँदैन । बरु उनीहरूले यसलाई बच्चा भएपछि हुने स्वाभाविक असरका रूपमा लिने गरेका छन् । यस विषयमा जनचेतना बढाउनुपर्ने देखिन्छ । पाठेघर झर्नु (खस्नु) भनेको महिलाको शरीरमा पाठेघर रहनुपर्ने निश्चित ठाउँ छाडेर योनीबाट बाहिर आउनु वा शरीरभित्रै आफ्नो ठाउँ छाडेर तल खस्नु हो । यो समस्या मुख्यतया पहिलो बच्चा पाएको महिला तथा धेरै बच्चा पाएका पहिला जोसुकैलाई हुनसक्छ । कम उमेरमा विवाह गर्नाले, कम उमेरमा बच्चा जन्माउनाले र गर्भान्तर नगरी वर्षेनी बच्चा जन्माउनाले, गर्भवती वा सुत्केरी अवस्थामा राम्रो स्याहार नपाउनु जस्ता कारणहरूले महिलाहरूमा यो समस्या आउने हुँदा परिवारका सदस्यहरूले पनि यसमा गम्भीरता दखाउँदै यस विषयमा बढीभन्दा बढी प्रचार गर्नु आवश्यक छ ।

ओपीडी व्यवस्थापन गर

बीपी प्रतिष्ठान पूर्वाञ्चलकै गहनाका रूपमा स्थापित स्वास्थ्य शिक्षण संस्था हो । दक्ष स्वास्थ्य जनशक्ति उत्पादनमा मात्र भूमिका निर्वाह नगरेर यस संस्थाले पूर्वाञ्चलका सबै प्रकारका बिरामीको उपचारमा अहम् भूमिका निर्वाह गर्ने गरेको छ । भारत सरकारको सहयोगमा भारतको दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) सँगको सहकार्यमा सञ्चालित यो प्रतिष्ठान दक्ष स्वास्थ्य जनशक्ति उत्पादनमा र बिरामी उपचारमा नेपालमै अब्बल मानिन्छ ।

तर बिरामी उपचार मात्र नभई स्त्री रोग तथा प्रसुती विभागमा व्यवस्थापन भने खकुलो देखिन्छ । बिरामी बस्ने ठाउँको अभाव छ । गर्भवती महिलाहरू त्यहाँ गई उभिएर वा भूइँमा बस्न बाध्य हुन्छन् । यस विषयमा प्रतिष्ठानले सोच्नुपर्छ । बिरामी कुरुवाहरूलाई पनि बस्ने ठाउँको अभाव छ । त्यहाँ पुग्ने बिरामी र कुरुवाहरूले भित्तामा उभिनुको विकल्प छैन । किन बनेन कुरुवा र बिरामी बस्ने ठाउँ ? किन बढाइँदैन बिरामी बस्ने ठाउँ ? यस विषयमा प्रतिष्ठानको प्रशासनले सोच्नुपर्छ । दैनिक करिब चार सयको सङ्ख्यामा गर्भवती र सुत्केरी महिलाहरू विभिन्न समस्या लिएर त्यहाँ पुग्ने गरेका छन् तर बस्ने ठाउँको अभावले घण्टौँ उभिनुपर्ने बाध्यता कहिले हट्ला ? भूइँमा समेत बस्ने ठाउँ नपाउनु गर्भवती महिलाहरूका लागि कति पीडादायी होला ? दैनिक सयौँ महिला, दिदी–बहिनीहरू त्यो सानो कोठा वरपर बस्नुपर्ने बाध्यताका विषयमा अस्पताल प्रशासन गम्भीर हुनु जरुरी छ ।

शौचालय र खानेपानीमा ध्यान देऊ

स्त्रीरोग तथा प्रसुती विभागमा खानेपानी र शौचालयहरू अव्यवस्थित छन् । विशेष गरी महिलाहरू पुग्ने उक्त ओपीडीमा महिलाहरूले निकै समस्या भोग्नु परेको छ भन्दा फरक नपर्ला । शौचालय सफा छै्रनन् भने खानेपानीको समस्या उस्तै छ । गरीब महिला उपचारका लागि त्यहाँ पुग्ने गरेका छन् । पानी किनेर खान नसक्नेहरू घण्टौँसम्म कसरी बस्ने ? यस विषयमा प्रतिष्ठानले सोच्नैपर्छ । शौचालयमा समेत आमा, दिदी–बहिनीहरूले लाइनमा बस्नुपर्ने अवस्था छ । किन सोचिँदैन यसबारेमा ? किन देख्दैन प्रतिष्ठान ? डाक्टरलाई घण्टौँसम्म पर्खनुपर्ने बाध्यताको अन्त्य हुनैपर्छ । प्रतिष्ठानभित्रको यो दुर्गतीको अन्त्य हुनैपर्छ । प्रतिष्ठानको मौलिकता र साख जोगाउन मन्त्रालय र प्रतिष्ठानका पदाधिकारीले सक्रिय भूमिका निर्वाह गर्नुपर्छ । ओपीडी वरपरको क्षेत्रमा सर्र्वसाधारणले स्वच्छ खानेपानीसमेत पाएका छैनन् । यस विषयमा अस्पताल प्रशासनले सोच्नुपर्छ । स्वास्थ्य क्षेत्रको सुधारका लागि न्यायको मान्यता स्थापित गर्नु आवश्यक छ ।

खै आमा सुरक्षा कार्यक्रम ? सरकारले ’आमा सुरक्षा कार्यक्रम’ लागु गरे पनि पुरा हुन सकेको छैन । गर्भवती महिलालाई निःशूल्क प्रसुतीका लागि सरकारले ’आमा सुरक्षा कार्यक्रम’ अन्तर्गत बजेट निकासा गरेपनि प्रसुती गराउन आउने महिला खर्चको भारी बोकेर फर्कनु परिरहेको छ । नामका लागि सरकारी अस्पताल भएपनि खर्चका हिसावले प्रसुती सेवा निजि अस्पताल जस्तै महँगो भएको उनको भोगाइ छ । निःशुल्क प्रसुतिको नाममा महँगो शूल्क तिर्नुपर्ने यो अस्पताल पुग्ने गर्भवत्ती महिलाको बाध्यता छ । सरकारले आमा सुरक्षा कार्यक्रम अन्तर्गत नर्मल डेलिभरी, शल्यक्रियाबाट सुत्केरी र जटिल सुत्केरी निःशूल्क गराउने व्यवस्था गरेको छ तर प्रभावकारी हुन सकेको छैन । तर, सुत्केरी गराउन आउने महिला अस्पतालको गेटबाटै रकम खर्चिन बाध्य हुन्छन् । सरकारले आमा सुरक्षा कार्यक्रम सञ्चालित अस्पताललाई नर्मल डेलिभरी वापत १५ सय र शल्यक्रियाद्वारा सुत्केरी गराएवापत ७ हजार रुपैयाँ उपलब्ध गराउँने सरकारी निर्णय कहाँ पुग्यो सरकार ?