नेपाल बुद्ध पैदा गर्ने देश । शान्तिका दूत पैदा गर्ने देश । राजकुमार सिद्धार्थ गौतम बुद्ध भए, सम्यक सम्बुद्ध बने । सिद्धार्थ गौतम बुद्ध हुनुअघि पनि विभिन्न समय तथा कल्पहरूमा कैयौं बुद्ध पैदा भए, तर अन्तिमपटक सम्यक सम्बुद्ध बने । सिद्धार्थ गौतम बुद्ध हुनुअघि पनि विभिन्न समय तथा कल्पहरूमा कैयौं बुद्ध पैदा भए, तर अन्तिमपटक सम्यक सम्बुद्ध बनेका सिद्धार्थ गौतमबारे जति चर्चा छ ।
उनका ज्ञान र देशनाका जति कुरा छन्, साधना पद्धतिहरूको जेजति कुरा छ, त्यो त्यसअघिका बुद्धहरूभन्दा बढी टड्कारो र स्पष्ट छन् ।यसको कारण उनी अहिलेसम्मका अन्तिम बुद्ध पनि हुन् र उनका धर्म देशना र साधना पद्धति विधिवत् संगायन र गुरु-शिष्य परम्पराको निरन्तरताबाट यताउता नभई यथारूपमा सयकडौं वर्षदेखि अभ्यास र ज्ञान साधनाद्वारा प्रकाशित हुँदै आयो ।
[caption id="" align="alignleft" width="200"] देवेन्द्रप्रसाद सिटाैला[/caption]बुद्धका ८० हजार धर्म देशनाहरू सुत्त पिटक, विनय पिटक र अभिधम्म पिटक जसलाई त्रिपिटक पनि भनिन्छमा मुख्य रूपमा संग्रृहित छन् । गृहस्थ र भिक्षुहरूका लागि फरक प्रकारका शील, सदाचार, जीवन व्यवहार र पद्धतिहरू उल्लेख छन् । साधना मार्गचाहिँ अभिधम्म पिटकमा उल्लिखित छन् । आज भगवान् गौतमबुद्धको २५६१ औं जन्मजयन्ती । बुद्धलाई राम्ररी स्मरण गर्दै, आफ्नो शील, सदाचार, व्यवहार र गुणधर्ममा पुनरावलोकन गर्दै आवश्यकताअनुसार सुधार र संरक्षण गर्ने ताकत उधन्न गर्ने दिन हो । नेपालमा धेरै जन्मोत्सव र धर्म संस्कारका अवसरहरू हरेक वर्ष आउँछन्, तर तिनको महिमा या गरिमा के छ भनेर सोचविचार अनि चिन्तनमनन गर्नेभन्दा आफूखुसी साम्प्रदायिक उल्लास मनाउने, खाने, पिउने, सम्प्रदाय खडा गर्ने अनि मनका विकार पैदा गर्नेसमेतका क्षणहरूका रूपमा आउने र बित्ने गरेका छन् ।
हरेक वर्ष हामी बुद्ध जयन्ती मनाउँछौं, बुद्ध नेपालमा जन्मिएकोमा गर्व गर्छौं अनि भोलिपल्टदेखि आफ्ना स्वार्थ, द्वेष र कलहमा तल्लीन हुन्छौं । पछाडि फर्केर हेरौं- हाम्रो विगत कसरी बितेको छ र वर्तमान अवस्थामा हामी के-कस्तो मार्गचित्र कोर्दै कहाँ आइपुगेका छौं ? हाम्रो वर्तमानले हामीलाई के भन्दैछ, देखाउँदैछ र भविष्यले के संकेत गर्दैछ ? आजको दिनमा हामी स्मरण गरौं, सोच्ने र बुझ्ने प्रयत्न गरौं- साँच्चि नै हामी भगवान् बुद्धप्रति गर्व गर्छौं भने पहिला हामी मानिस बनौं र अनि उनलाई चिनौं । स्वभाव पशु, राक्षस वा दानवको बनाएर हामीले सन्त-महात्मा, भगवान् वा बुद्ध पुरुषको स्मरण गर्दा त्यो कोरा हुन्छ ।
अंगुलीमाल भीक्षु बन्न सक्छन् भने हामी पनि क्लेष, विकार, दोष, द्वन्द्व र तृष्णा घटाउँदै र हटाउँदै मानव बन्न सक्छौं र मानव गुण धारणा गर्न सक्छौं, जतिबेला हामी हाम्रा धरती पुत्र बुद्धलाई राम्ररी चिन्न सक्छौं । गौतम बुद्ध नेपालमा पैदा हुनु कुनै संयोग मात्र होइन । यो कुनै अनायास र अचानकको आकस्मिकता मात्र होइन । बुद्ध दर्शन र धर्म मान्यतामा के छ भने अनन्त जन्ममा धेरै प्रकारका पारमिता अर्थात् राम्रा गुण र लक्षणका चरित्र र व्यवहारबाट खारिँदै विभिन्न स्तर पार गर्दै एउटा बुद्ध पुरुष हुने अवस्थामा आइपुग्छ साधन । यसका लागि अनन्त जन्ममा धेरै दुःखकष्ट सहँदै संस्कार बदल्दै बोध, तथा होस र स्मृति जगाउँदै बुद्धत्वको अंकुर हुन्छ ।
बुद्ध हुनको लागि सर्वप्रथम श्र्रोतापन्न अवस्थामा प्रवेश गर्नुपर्छ । यो भनेको शील र सदाचारको पालना गर्दै विपश्यना साधनामा प्रवेश गर्नु हो र त्यसबाट अनुभवगत प्रज्ञा जागृत गर्दै पछि नहट्ने गरी अघि बढ्दै जानु हो । त्यसपछि अवस्थाहरू सकृदागामी, अनागामी र अरहन्तका अवस्था हुन् । अरहन्तभन्दा उपल्लो अवस्था सम्यक संबुद्धको अवस्था हो र यस अवस्थामा बुद्ध पुग्नुभयो । बुद्धका तत्कालीन कैयौं शिष्य तथा साधकहरू अरहन्त अवस्थामा पुगे त्यसबेला । श्र्रोतापन्न अवस्थामा प्रतिष्ठापन भएपछि एउटा साधकमा सजगता बढ्दै जान्छ । सजगता बढ्नु भनेको क्लेष तथा विकार हट्दै जानु हो । होस र स्मृति जाग्दै जानु हो ।
अध्यात्ममा शील र पारमिताको महत्व छ । शीलको पालना गर्दै र पारमिताहरू पूरा गर्दै जाँदा धर्म साधना मार्गमा मानिस अघि बढ्दै जान्छ । त्यसपछि दया, करुणा, प्रेम, परोपकार र स्वावलम्बनको मात्रा बढ्दै जान्छ । पारमिता धेरै प्रकारका छन्- दानको पारमिता, भगवान्का वाणी, सन्तका वाणी तथा शास्त्र अध्ययन र परायणको पारमिता, सामाजिक कार्य गर्ने र समाज र राष्ट्रको उन्नतिका लागि निःस्वार्थ कार्य गर्ने पारमिता, घर-व्यवहारको कुशलताको पारमिता आदि । बुद्धलाई किन विश्व शान्ति दूत भनियो ? किन एसियाका तारा भनियो ? बुद्धका शिक्षा र साधना मार्ग किन बढी स्वीकार्य तथा ग्राह्य छन् ?
बुद्ध अध्यात्मका सर्व श्रेष्ठ वैज्ञानिक हुन् । बुद्ध मानवकै रूपमा जन्मिएका हुन् । उनी जन्मिँदै बुद्ध भएका होइनन् । विज्ञानसम्मत र प्राकृतिक नियम तथा सत्य मार्गको प्रतिपादन गरी अनुभवद्वारा साधना सिद्ध गरी परम सत्यको दर्शन गरेकाले उनी भगवान् कहलाइए । परम सत्यको दर्शन र अनुभवगत प्रज्ञाले बुद्धलाई भगवान् बनायो । कुनै आलम्बन, किंवदन्ती वा जादु, टुना र तन्त्रमन्त्रबाट होइन, साधना अभ्यासद्वारा अनित्य बोध जगाउँदै सत्यहरूको दर्शन गर्दै बुद्ध निर्वाणको परम सत्य अवस्थामा पुग्नुभएको हो ।
बुद्धले आफ्नै शरीररूपी साढे तीन हातको कायामा धर्म परीक्षण गर्नुभयो अर्थात् शरीरलाई प्रयोगशाला बनाउनुभयो र शरीर र मनको प्रपञ्चबाट उत्पन्न हुने संवेदनाका आधारमा अनित्यताको बोध गर्दै जानुभयो । बुद्धले पत्ता लगाउनुभएको विद्या गुरु शिष्य परम्पराबाट अघि बढ्दै लोप हुन पाएन र आज विपश्यना साधनाका नाममा संसारभरि प्रख्यात छ र यो विद्या जगाउन र फैलाउन कल्याणमित्र गुरु सत्य नारायण गोयन्काको योगदान भुल्न सकिन्न र भुल्नु हुँदैन । आजको दिनमा उहाँको पनि स्मरण गरौं ।
बुद्ध हृदय र मस्तिष्क दुवै केन्द्र शतप्रतिशत खुलेका सर्व श्रेष्ठ आध्यात्मिक वैज्ञानिक हुन् । त्यही अध्यात्म विज्ञानको अविष्कारले उनलाई विश्वको शान्ति दूत बनायो । पंक्तिकार पनि विगत केही समयदेखि विपश्यना साधनाको सामान्य साधक र जिज्ञासु पनि भएको हुँदा अध्ययन र साधना अनुभावका आधारमा आजको पवित्र पावन अवसरमा केही चर्चा यही सन्दर्भ-प्रसंगहरूको शब्द खर्चने प्रयत्नमा छ र यसबाट स्वयंलाई धन्य भएको सम्झिन्छ । एउटा बुद्ध जन्मिदै बुद्ध भएर जन्मिँदैन, सामान्य मानिसकै रूपमा जन्मिन्छ, तर उसको जन्मस्थान, बाबु-आमा, साथी-सखा, भविष्यको यात्रा र गन्तव्यबारे निश्चित विधान र आयोजनाअन्तर्गत नै हुन्छ भन्ने मान्यता, दृष्टान्त र कथा प्रस्तुतिहरू छन् ।
समय बढ्दै जाँदा बुद्ध पुरुषका लक्षण, चरित्र र व्यवहार पनि स्पष्ट हुँदै जान्छन् र शरीर, व्यवहार, बोली, साधना र जीवनको गतिले ती गुण र लक्षणहरू प्रस्ट पार्दै जान्छ । भनिएको छ- एउटा बुद्ध पुरुषमा ३२ लक्षण र ८० अनुव्यञ्जनहरू हुन्छन् । टाउकोदेखि पैतला र कुर्कुच्चासम्म लक्षण हुन्छन् र चिह्नहरू हुन्छन् । त्यसैले बुद्ध पुरुषको जन्म दुर्लभ जन्म हो, स्थान र मातापिता पनि दुर्लभ हुन् ।
कुनै पनि बुद्ध पुरुषले साम्प्रदायिक धर्म सिकाउँदैन र खडा गर्दैन । सार्वजनीन र अनुभवबाट प्रमाणित धर्म मात्र सिकाउँछ । तर अफसोच पछिपछि गएर साधना अभ्यास नगर्ने, अल्छी तर जान्ने र ठालु बन्नुपर्नेहरूले धर्मका नाममा विकृति र आफूअनुकूलका कर्मकाण्ड थप्दै गएर शुद्ध धर्मलाई सम्प्रदायको घेरामा राखिदिए । कृष्ण, बुद्ध, जिसस, नानक, मोहम्मदले अनुभव गरेको र भेट्टाएको सत्य एउटै हो, यद्यपि उनीहरू फरक-फरक बाटो हिँड्दै त्यहाँ पुगे होलान् । विस्तारै ती महापुरुष अनुयायीहरूको साधना भने छुट्दै गयो र तिनीहरूले अन्धविश्वास, विभिन्न रीतिरिवाज र किंवदन्तीका प्रकरण थप्दै गए । बुद्धले मूर्ति पूजाको कुरा गर्नुभएन, कुनै साकार र आलम्बनयुक्त ध्यानको कुरा पनि गर्नुभएन, तर पछि गएर उहाँकै सबैभन्दा ठूला र धेरै मूर्तिहरू बनाइए र ध्यान साधना छोडेर बत्ती र धूप बाल्दै सजिलो पाठपूजामा मान्छेहरू लागे, कठिन ध्यान साधना गरेर सत्य थाहा पाउनेतर्फ लाग्नेहरू घट्दै गए ।
स्वयंको आत्मकल्याण र सर्वलोक कल्याणको विद्या सिकाउँछ एकजना बुद्ध पुरुषले । धर्म साधनबाट चित्तको विकार हट्दै जान्छ र स्वतः धर्म जाग्छ, आफ्नो पनि कल्याण हुन्छ र अरुप्रति पनि मंगल र कल्याणको मार्ग खुल्दै प्ररेणा पनि जाग्दै जान्छ । बहुजन हिताय, बहुजन सुखाय र जनकल्याण मार्गमा पुग्ने विद्या बुद्धले सिकाउनुभयो ।
बुद्ध यो देशमा जन्मिनुभयो, हामी पुनः पुनः गौरव गरौं किनकि एउटा सम्यक सम्बुद्धको जन्मको लागि कल्पकल्पसम्म प्रतीक्षा गर्नुपर्छ । सिद्धार्थ गौतमबुद्धको जन्म भएको २५६१ वर्ष पुग्यो । हामीलाई थाहा छैन, अब पुनः बुद्ध जन्मिन कति सय वर्ष पर्खनुपर्ने हो । सम्यक सम्बुद्धको रूपमा जन्मनुपूर्व ती महापुरुषले कयौं बोधीसत्वका जन्महरू ग्रहण गर्नुपर्छ र ती जन्ममा कहाँ, कुन रूपमा, कसको गर्भबाट कति समयको लागि भन्ने कुराको निरूपण प्रकृति, कुदरत वा अस्तित्वले गर्छ । उनका बालसखा, जीवनका घटना, सम्बन्ध र उद्देश्यहरू अस्तित्वकै निर्धारणका विषय हुन्छन् ।
सिद्धार्थ गौतम र सीता माता नेपालमा जन्मिनु केवल संयोगको विषय मात्र होइन, यो पुण्यभूमिको प्रतिफल पनि हो । तर समयको अन्तरालमा यो पुण्य भूमि किन दुष्ट र पापीहरूको क्रीडास्थल बन्दैछ, हाल बेहाल किन भइरहेछ ? हामी प्रार्थना गरौं र पुकार गरौं- हाम्रो पुण्यभूमिमा फेरि सत्पुरुषहरूको आगमन होस् र भइरहोस्, लोकल्याण र धन्य होस् हाम्रो मातृभूमि ।
भनिसकियो- एउटा व्यक्ति विभिन्न कल्पमा आफ्ना असीमित पारमिता पूरा गर्दै र बोधीसत्वका जन्महरू ग्रहण गर्दै सम्यक सम्बुद्ध हुन राम्रा कुराहरूको धेरै सञ्चित संग्रह गर्नुपर्छ । त्यो बोधी प्राप्त गर्नको लागि सातवटा अंगहरू पूरा गर्नुपर्छ र यी हुन्- स्मृति, धर्म विचय, वीर्य, प्रीति, प्र श्रब्धी समाधि र उपेक्षा । यी सात शब्दको अहिलेको शाब्दिक अर्थभन्दा बुद्धको समयको पुरानो भाषाको अर्थ केही फरक छ । बुद्ध बन्नको लागि बोधिसत्वका जन्महरूमा यी सात अंगहरूको परिपूर्णता नितान्त आवश्यक छ । स्मृति जागरुकतासँग सम्बन्धित छ । धर्म, विचय, साधना अनुभवबाट संवेदनाहरूको उदय-व्यय जान्नु र तथष्ट-साक्षी भावमा स्थित भइरहनु हो ।
त्यस्तै वीर्यको अर्थ साधनाको पराक्रम र पुरुषार्थसँग सम्बन्धित छ । प्रीति साधनाबाट उत्पन्न हुने अखण्ड आनन्दको लहर हो भने प्र श्रब्धी आनन्दको लहरभन्दा पनि परको परम शान्त अवस्था हो । समाधि चरम एकाग्रता र सत्य साक्षात्कारको अवस्था हो अनि शरीर र चित्तमा विकार र क्लेषको नामोनिसान नभएको अवस्था हो । यी विषय साधना गर्दै जाँदा अनुभव हुँदै जाने कुरा हुन् र कुनै बुद्धि र तर्कका विषय होइनन् ।
हामी शरीर र मनमा द्वेष, राग, विकार, क्लेषका पहाड खडा गरेर बसेका छौं । त्यसैले स्वार्थी छौं, भ्रष्ट छौं र हिंसा, घृणा र अवहेलनामा उद्यत् छौं । आफू, परिवार, समाज र राष्ट्रप्रतिको दायित्व र जिम्मेवारीको सत्यबोध हुन सक्दैन यस अवस्थामा । भ्रष्टाचार गर्ने, स्वार्थी कामना भएका र सत्ताको दुरुपयोग गर्नेहरूले बुद्धलाई अवहेलना गरिरहेका छन् । बुद्धलाई मानेर मात्र पुग्दैन, बुद्धप्रति गौरव गर्छौं भनेर मात्र पुग्दैन, बुद्धका शिक्षा र साधना मार्ग के हुन् र तिनलाई अनुशरण गर्दै शील, समाधि र प्रज्ञामा पुष्ट हुँदै जाने त्यो महत्वपूर्ण कुरा छ ।
बुद्धले दिएका महत्वपूर्ण धर्म देशनाहरूलाई चिन्तनमनन गरी व्यवहारमा उतार्ने कोसिस गर्नु र बुद्धले सिकाउनुभएको साधना पद्धतिद्वारा विकारलाई जरैदेखि उखेल्ने प्रयत्न गर्नु बुद्धप्रतिको सच्चा स्मरण र गौरवको विषय हुन जान्छ र यही नै दुःखबाट विमुक्त हुने उपाय पनि हो, मानव कल्याणको मार्ग हो । प्रशान्त चीत्त र निश्चल निरवतायुक्त प्रशान्तिमा बुद्ध पुग्नुभयो र नै उहाँले सत्यलाई उजागर गर्नुभयो । समाजमा स्थिर र शान्त चित्तका मानिसको संख्या बढ्दै गएपछि स्वार्थ हट्दै जान्छ र सामूहिक भलाइको भावना बढेर शान्ति र समृद्धि हासिल हुन्छ । तर आज त्यो गतिविपरीत दिशामा प्रवाहित भइरहेछ । हामी आशा गरौं- सबैमा सत्बुद्धि आई त्यो मार्गमा हिँड्ने तरंग बुद्ध पुरुषका जीवन दर्शन र सत्य वचनले प्रदान गरून् । यो पनि आशा गरौं- भविष्यमा अर्को बुद्ध यही धर्तीमा पैदा होऊन् र पुनः संसारलाई अध्यात्म ज्ञान मार्ग देखाउँदै कल्याणको विद्या सिकाऊन् ।
हाम्रो देश नेपाल संकटबाट गुज्रिरहेको छ । संक्रमणकालको अन्त्य होइन, लम्बिने क्रम नै जारी छ । यसको मतलब हो- या त हामीले सही मार्ग लिएका छैनौं । अझै या त मार्गमा हिँड्ने बल साहस कमजोर छ । शान्ति र समृद्धि चाहे पनि त्यो टाढाको विषय बनेको छ, किन ? नेपालमा पटकपटक शान्तिका कुरा गरे पनि जालझेल र स्वार्थले अशान्ति बढाइरहेको छ । यसको प्रमुख कारण जिम्मेवार तह, पद र ठाउँमा रहेका मानिसहरूको शरीर, मन चित्तको विकार नै प्रमुख कारण हो र यसबाट नैतिक, इमान र चरित्रको पक्ष कमजोर भएका छन् । त्यसलाई बलियो बनाउन र सुधार गर्न बुद्धले देखाउनुभएको मार्ग उपयोगी छ । आज ती महान् आध्यात्मिक वैज्ञानिकको स्मरण गर्दै सुधारका लागि प्रण गरौं र बुद्धप्रति नमन गरौं ।