बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको एकेडेमिक सेक्सनबाट स्वर्ण पदक पाउँदैछु भनेर फोन आउँदा आफैँलाई विश्वासै लागेन । तैपनि ममीलाई फोन गरेर सुनाएँ । उहाँ एकदमै खुसी हुनुभयो । मेरो परिवारका सबै सदस्य अत्यन्त खुसी भए । साथीहरुले पनि खुसी भएर बधाई दिए । मैले आफ्नो मात्र नभएर परिवार, गुरु वर्ग, अग्रज दिदीहरु र साथीहरु सबैको सहयोग र निरन्तरको हौसला र सहयोगले सफलता पाएकी हुँ । उहाँहरु सबैलाई कहिल्यै बिर्सिन सक्दिन।
म सुरुदेखि नै पढाइमा लगनशील थिएँ । कुनै नयाँ किताब पाएँ भने त्यसलाई केही छिनमै पढेर सिध्याउन मन लाग्थ्यो । कक्षामा पनि ध्यान दिएर सुन्थेँ र परीक्षामा पनि सधैँ प्रथम हुन्थेँ। बाबा भारतीय आर्मी भएको हुँदा मैले विभिन्न स्कुलमा पढ्ने मौका पाएँ । कक्षा ३ सम्म पोखरामा पढेँ । त्यसपछि भारतमा ६ कक्षासम्म अध्ययन गरंँ । त्यसपछि नेपालमै फर्कियौँ । आदर्श पब्लिक इङ्लिस स्कुलबाट ८३.८८ प्रतिशत ल्याएर एसएलसी गरेँ । त्यसपछि डाक्टर बन्ने उद्देश्य लिएर अर्किड साईन्स कलेजमा प्लस टु पढेँ र ७६.२ प्रतिशत अंक ल्याएँ पनि।त्यसपछि एमबीबीएसमा नाम निकाल्नको लागि प्रिप्रेसन क्लास सुरु गरंँ र इन्ट्रान्स एक्जाम पनि दिएँ तर दुःखको कुरा, नाम निकाल्न सकिनँ । जसरी भए पनि मेडिकल नै पढ्नुपर्छ भनेर हिम्मत कसेँ । धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नाम निस्क्यिो।
१ सेप्टेम्बर २०१० बाट बीएस्सी नर्सिङको पढाइ सुरु भयो । चारवर्षेे बीएस्सी नर्सिङमा ७९.२४ प्रतिशत अंक ल्याएर गोल्डमेडल पाउन सफल भएँं । यसलाई मैले जीवनकै महत्वपूर्ण क्षणका रुपमा लिएकी छु । मेडिकल लाइनमा लाग्छु भन्ने मेरो बच्चैदेखिको लक्ष्य थियो । सानोमा हस्पिटल जाँदा सेतो कोट लगाएका मान्छेहरु देख्दा आफू पनि त्यस्तै हुन पाए भन्ने लाग्थ्यो । सेतो कोटप्रतिको त्यही आकर्षणले अहिलेको ठाउँमा आइपुगेकी छु। मलाई पढ्नका लागि परिवारले सधैँ सहज वातावरण प्रदान गर्यो । पढ्नका लागि दुःख नभए पनि मेरो मिहिनेत पनि कम छैन । त्यसैले म आफूलाई मिहिनती मान्छे भन्न रुचाउँछु । कक्षामा शिक्षकले प्रश्न सोध्दा उत्तर दिन नसक्दा आत्मग्लानि हुन्थ्यो । त्यसैले क्लास जानुअघि सकेसम्म पढेर जाने प्रयास गर्थें । निरन्तर कडा परिश्रम गर्ने हो भने नर्सिङ गाह्रो छैन। प्लानिङ नगरी कुनै काम सम्भव पनि छैन । अब धरान अथवा आईओएममा मास्टर इन नर्सिङ गर्ने योजना बुनेकी छु । मलाई नर्सिङ फिल्ड एक्दमै राम्रो लाग्छ । यो प्रोफेसनमा डिसिप्लिन, रेस्पेक्ट र मोटिभेसन आवश्यक छ । हुन त अधिकांश नर्सले बेरोजगार बस्नु परेको छ । कतिपय विदेश पलायन हुन बाध्य छन् । सम्बन्धित निकायले त्यसतर्फ बेलामै सोच्न आवश्यक छ।नोट: दीपा रानाभाट २०७१ सालको बीएस्सी नर्सिङमा स्वर्ण पदक विजेता हुन्।
-स्वास्थ्य खबरबाट