धरान/विद्युत् प्राधिकरणले भारतबाट मगाएर उपभोक्तालाई बिक्री गर्न खोजेको एलईडी चिमको मूल्य विवादित बनाउने प्रयास भइरहँदा नौ वाटको फिलिप्स एलईडी चिमको मूल्य भारतको राजधानी दिल्लीमै प्रतिगोटा एक सय ९० भारु (तीन सय चार रुपैयाँ) पर्ने त्यहाँका बिक्रेताले बताएका छन् ।
नयाँदिल्लीस्थित द्वारका सेक्टर १२ मा रहेको संकल्प इलेक्ट्रिकल्सका बिक्रेता अविनाश गुप्ताले फिलिप्स ब्रान्डको एलईडी चिमको एक सय ९० भारु पर्ने जानकारी दिनुभयो । ‘हामीले फिलिप्सको नौ वाटको एलईडी चिम सबैभन्दा सस्तोमा यही मूल्यमा बेचिरहेका छौं’, गुप्ताले टेलिफोनमा भन्नुभयो । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।
प्राधिकरणले भारतीय सरकारी कम्पनी इनर्जी इफिसेन्सी सर्भिसेस लिमिटेड (ईईएसएल) मार्फत यही ब्रान्ड र यही क्षमताको २ करोड थान चिम आयात गर्दैछ । उक्त चिममा भन्सार महसुल, कर, ढुवानीलगायत शुल्क जोडेर उपभोक्तालाई प्रतिगोटा एक सय ४० रुपैयाँमा वितरण गर्ने योजना प्राधिकरणको छ ।
नेपालको हेटौंडासम्म प्रतिगोटा ६५ रुपैयाँ भारु (एक सय चार रुपैयाँ) पर्ने यो चिमको मूल्यमा स्थानीय कर र सेवा शुल्क जोडिँदा नेपालका उपभोक्ताका लागि प्रतिगोटा एक सय ४० रुपैयाँसम्म पर्ने प्राधिकरणका कार्यकारीनिर्देशक कुलमान घिसिङले बताउनुभयो ।
अर्थात् दिल्लीमा फिलिप्स ब्रान्डको एउटा एलईडी चिमलाई पर्ने मूल्यमा नेपालमा प्राधिकरणले दुईवटा त्यस्तै चिम बिक्री गर्नेछ । काठमाडौंको बजारमा भने फिलिप्स नौ वाटको एलईडी चिमको मूल्य चार सयदेखि पाँच सय रुपैयाँसम्म पर्छ ।
प्राधिकरणले खरिद गर्न लागेको उक्त एलईडीका लागि ईईएसएलले प्रस्ताव गरेको ६५ भारुको मूल्यमा दुई अर्ब ८० लाख रुपैयाँ तिर्नुपर्नेछ । भारतीय उपभोक्ता मूल्यमा यो परिमाणमा आयात गर्ने हो भने यसको मूल्य ६ अर्ब ८० लाख रुपैयाँ पर्छ ।
भारतीय उपभोक्ता बजार र प्राधिकरणले बिक्री गर्ने मूल्यबीच प्रतिगोटा एक सय ६४ रुपैयाँको अन्तर छ । यही हिसाबले पनि प्राधिकरणका उपभोक्ताका लागि तीन अर्ब २८ करोड रुपैयाँ लागत बचत हुने देखिएको छ ।
भारतमा सन् २०१७ को मूल्यमा एउटा ९ वाटको फिलिप्स ब्रान्डको एलईडी चिमलाई ३९.५० भारु पर्ने प्राधिकरणलाई उसले पठाएको ‘कोटेसन’ मा उल्लेख छ । उक्त आधार मूल्यमा दुई प्रतिशत ढुवानी खर्च (आपूर्तिकर्ताको गोदामदेखि बन्दरगाहसम्म) र दुई प्रतिशत सीएसटी चार्ज गरी १.६० भारु जोडिएको छ ।
यसपछि १० प्रतिशतले प्रतिगोटा ४.११ भारु ईईएसएलको प्रशासकीय खर्च, स्थानीय खर्च गरेर ४.११ भारु जोडिएको छ । यसबाहेक आन्तरिक बन्दरगाहदेखि ढुवानी (हेटौंडासम्म) १२ प्रतिशतले प्रतिगोटा ५.४२ भारु, हेटौंडासम्म ढुवानीका क्रममा भएको बिमा दुई प्रतिशत (९० पैसा भारु) गरी यातायात र बिमा खर्चपछि एउटा एलईडीको मूल्य ५१.५३ भारु पर्छ । उक्त मूल्यमा टुटफुट, मर्मत तथा प्रतिस्थापन खर्च (तीन वर्षका लागि) गरी ९.३५ भारु र ब्याज ४.१२ गरी एउटाको मूल्य ६५ भारु पर्ने प्रस्तावमा उल्लेख छ ।
सन् २०१४ मा नेपाल र भारतबीच विद्युत् व्यापार सम्झौता भयो । यो सम्झौताअनुसार दुई देशबीच विद्युत् व्यापारसम्बन्धी सम्पूर्ण कामकारबाही द्विदेशीय सचिवस्तरीय सबैभन्दा उपल्लो निर्णय ‘संयुक्त स्थायी समिति’ (जेएसटीसी) ले आवश्यक सिफारिस सम्बद्ध सरकारलाई गर्छ ।
दुवै देशबीच विभिन्न ११ स्थानमा अन्तरदेशीय प्रसारण लाइन निर्माण पूरा नहुन्जेल र ढल्केबर-मुजफ्फरपुर प्रसारण लाइन ४०० केभी क्षमतामा चार्ज नहुन्जेल (आगामी सन् २०१९ पछि) नेपालको लोडसेडिङ कम गर्ने एक मात्र विकल्प नेपालको माग घटाउने रहेको प्राधिकरण प्रवक्ता प्रबल अधिकारीले बताउनुभयो । उहाँका अनुसार ऊर्जा व्यापारको विषय भएकाले दुई देशको सचिवस्तरीय बैठकको कार्यक्षेत्रभित्र परेको हो ।
बजारमा प्रतिस्पर्धा गराउँदा मूल्य र गुणस्तरको ग्यारेन्टी हुँदैन । ठेकेदारले आपूर्ति गर्ने दुई करोड एलईडी चिम सबैलाई परीक्षण गरेर साध्य नहुने र तिनको गुणस्तर नियन्त्रण कसरी गर्ने भन्ने समस्या रहन्थ्यो ।
दुई करोड थान चिम भण्डार गर्ने क्षमता नभएका कारण गुणस्तरको ग्यारेन्टी नभएको घिसिङले बताउनुभयो । तर भारत सरकार आफैं ग्यारेन्टी बसेकाले कदाचित बिग्रेको बत्ती आएमा त्यसलाई प्रतिस्थापन गर्न सकिन्छ ।
प्राधिकरणको उद्देश्य एलईडी बेच्ने नभई बजार हस्तक्षेप गरी उपभोक्तालाई कम बिजुली खपत गराउनु रहेकाले सस्तो र ग्यारेन्टीयुक्त सामान पाए मात्र उपभोक्ताले उपयोग गर्ने भएकाले ब्रान्डेड सामान खरिद गर्नुपरेको घिसिङले बताउनुभयो ।
ईईएसएलले गत बुधबार आसाम राज्य सरकारसित गरेको सम्झौतामा ९ वाटको एलईडी प्रतिगोटा ७० भारुमा बिक्री गर्ने सम्झौता गरेको छ । ईईएसएलले यसअघि तामिलनाडु र श्रीलंकासित पनि ९ वाटकै फिलिप्स एलईडी ६५ भारुमा खरिद गर्ने पत्राचार गरेको थियो