धरान/भद्दा जिउलाई छरितो बनाउन आजकाल युवतिहरु जुम्बाको ‘नशा’ मा डुबेका छन् । शरीरमा बढेको मोटोपनालाई खार्नको लागि जुम्बा युवतिहरुको लागि सजिलो माध्यम बनेको छ ।
म्युजिकको बिट अनुसार शरीरलाई लचक बनाउँदै नाँच्ने शैलीलाई जुम्बा भनिन्छ । त्यसैले त अहिले जुम्बामा युवतिहरुको आर्कषण बढिरहेको छ । जुम्बा र एरोबिक साथसाथमा हुने भएकाले कतिपयले स्वास्थ्य रहन र आफूलाई ‘योङ्ग’ देखाउनको लागि पनि जुम्बा जाने गरेका छन् । मोटोपना घटाउनको लागि नै जुम्बा आउनेहरु धेरै हुने गरेको झुनाज फिटनेसकी सञ्चालिका एवम् इन्स्ट्रक्टर झुना राई बताउँछिन् ।
तनाव घटाउन र तौलमा एकरुपता ल्याउनको लागि पनि जुम्बा आउनेहरु धेरै हुने गरेका छन् । हेर्दाखेरी डान्स जस्तै देखिने भएकाले कतिपयले डान्स भनेर बुझ्ने गरेका छन् । तर, खासमा यो डान्स जस्तो लागे पनि फिजिकल एक्सरसाइज भएको राई बताउँछिन् । धरान–१७ की अदिति भट्टराईको कुरा गरौं । उनी १३ वर्षकी भइन । ४५ केजी मात्रै भए पनि उनको जिउ बोदो भएकाले जुम्बा जान थालेकी छन् । आमा मनिषाको सल्लाह अनुसार उनी दुईमहिना जति जुम्बा गइन् । अहिले परीक्षाको कारण रोकिरहेकी छन् । ‘जिउ फुर्तिलो बनाउन जुम्बा गएकी थिएँ ।’ उनी सुनाउँछिन् ।
जुम्बा तथा एरोबिक गराउने जिमहलहरु धेरै छन् धरानमा । यतिखेर बग्रेल्ती रुपमा खुलेका छन् । जसमा युवतिहरु आफ्नो भद्दा जिउँलाई चुस्त बनाउँदै आफूलाई ‘योङ’ देखाउनमा मस्त छन् । धरान–१५ की अनु केसी डाक्टरको सल्लाह बमोजिम जुम्बा पुगेकी हुन् । ‘स्वास्थ्य रहनको लागि जुम्बा गएकी हुँ ।’ उनी भन्छिन्, ‘फुर्तिलो हुने, जिउ पनि घट्ने भएकाले जुम्बा राम्रो हुने रहेछ ।’
आजकाल सहरका युवा हुन् या युवति तथा महिलाहरु नै जुम्बामा धेरै नै भेटिने गरेका छन् । धरानमा झण्डै एक दर्जन बढीले जुम्बा गराउने गरेका छन् । जुम्बा तथा एरोबिककै कारण कतिपय फिटनेसहरु प्रख्यात पनि छन् । जिउ तिर्खाने साधनको रुपमा जुम्बालाई लिने गरिएको छ । विशेषतः धरानमा एउटा जुम्बामा झण्डै ५० देखि माथि २ सयसम्म जुम्बा सिक्ने युवायुवतिहरु पाउने गरेका छन् ।
यसरी गरिन्छ जुम्बा
विशेष गरेर जुम्बा गर्नु अघि शारीरिक रुपमा वार्मअप गराइन्छ । १० देखि १५ मिनेटसम्म वार्मअप गरेपछि जुम्बा डान्सको स्टेपहरु सुरु हुने गर्दछ । उमेर अनुसारको स्टेपहरु चाल्ने गरिन्छ । त्यसपछि फाष्टबिटको र लो बिटको म्युजिकमा जुम्बा गराउने गरिन्छ । जुम्बा समूहमा गर्दा जति सहज हुन्छ । एक्लै गर्दा त्यति नै असहज हुने गर्दछ । इन्स्ट्रक्टरले सिकाए अनुसार करिव एक घण्टा जुम्बा गर्नु उपयुत्त हुन्छ । विस्तारै गल्दै गएपछि भने स्लो बिटको म्युजिकमा नचाइने गरिन्छ । होलबडीको एक्सरसाइज गराउने भएकाले पनि जुम्बा सबै खाले उमेर समूहको लागि उपयुक्त हुने गरेको छ । |
त्यस्तै डान्स सेन्टरहरुमा पनि जुम्बा सिकाइने गरिएको छ । पछिल्लो समय चर्चित बनेको जुम्बा खासमा सन् १९९० देखि सुरु भएको हो । जुनसुकै उमेर समूहले गर्न सक्ने भएकाले पनि आर्कषण बढेको हो । ‘जतिसुकै उमेरले पनि आफ्नो तरिकाले गर्न सक्छन् ।’ इन्स्ट्रक्टर रेखा गुरुङ भन्छिन् । जुम्बा गराउने इन्स्ट्रक्टरहरुले बिहान र बेलुका एक घण्टा जुम्बा गरेमा शरीरको लागि एकदमै उत्तम हुने कुरा बताउँछन् ।
एरोबिककी इष्ट्रक्टर गुरुङका अनुसार डान्स फर्मलाई एक्सरसाइजको रुपमा मोडिफाई गरेर होलबडीको एक्ससाइज गराउने तरिका रहेको बताउँछिन् । ‘फिट एण्ड हेल्दीको लागि नै हो ।’ उनले भनिन्, ‘कोही फिट हुन आउँछ कोही हेल्दी हुन आउँछ । कतिपयहरु मोटोपना घटाउनको लागि आउँछ ।’
जुम्बाको सुरुवात
सन् १९९० मा सुरु भएको जुम्बा अहिले संसारको सबैजसो देशमा सञ्चालित छ । कोलम्बियन कोरियोग्राफर अर्वट विटो पर्जले यसको सुरुवात गरेका थिए । तर, यसलाई थप उन्नयनमा अर्का ब्राजिलियन पप सिङ्गर अन्तराष्ट्रिय एम्बेस्टर जुम्बा फिटनेस बने संगै संसार भरिनै फैलिएको छ । हाल संसारको १८० भन्दा धेरै राष्ट्रहरुमा जुम्बा फिटनेस क्लास संचालन हुने गरेको दाबी छ ।