तेह्रथुम/ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तेह्रथुमको आठराई सङ्क्रान्तिबजारका अग्निपीडितको सहयोगका लागि घोषण गरेको १ करोड रूपैयाँसहितको विशेष राहत प्याकेज उपलब्ध नहुने भएपछि पीडितहरू चिन्तित भएका छन् ।

गत पुस १ गते आठराई गाउँपालिकाको केन्द्र सङ्क्रान्तिबजारमा भएको भीषण आगलागी क्षेत्रको स्थलगल निरीक्षण तथा अग्निपीडितसँग पुस १९ गते भेटेपछि प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट १ करोड उपलब्ध गराउने घोषणा गरेका थिए ।

पीडितहरूको पुनस्र्थापना तथा पुनर्निर्माणका लागि १ करोड उपलब्ध गराउने विषयमा गृह मन्त्रालयले अर्थमन्त्रालयको सहमति माग गरेको थियो । अर्थ मन्त्रालयले पीडितहरूका लागि सहुलियत ऋण उपलब्ध गराउने सहमति मात्र दिएपछि १ करोडको राहत पीडितहरूलाई उपलब्ध नहुने भएको हो ।

भोजपुर र तेह्रथुममा भएको आगलागीबाट पूर्णरूपमा क्षतिग्रस्त ३४ घरधनीले आवास निर्माणका लागि २ प्रतिशत ब्याजदरमा शहरी क्षेत्रमा २५ लाख र अन्य क्षेत्रमा १५ लाख रुपैयाँ सहुलियत ऋण पाउने भएका छन् ।

अग्निपीडित परिवारलाई ‘व्यवसाय पुनस्र्थापित गर्न विनाधितो न्यूनतम ब्याजदरमा ऋण दिने’ प्रधानमन्त्रीले भाषणमा उल्लेख गरेका थिए तर घरधनीले मात्र सहुलियत ऋण पाउने भएपछि ठूलो क्षति व्यहोरेका व्यापारीहरूलाई बेवास्ता गरिएको दुखेसो सङ्क्रान्तिबजारमा व्यापार गर्ने ताप्लेजुङका पीडित दीपेश प्रसाईंले व्यक्त गरे ।

‘लाखौँ लगानीको व्यापार खरानी भएको छ’, पीडित प्रसार्इंले भने, ‘राहत प्याकेज घोषणाले व्यापार पुनस्र्थापनामा सहयोग हुने आशा थियो तर राहत प्याकेज भाषणमा मात्र सीमित भयो ।’

केन्द्रीय दैवी प्रकोप उद्धार समितिको निर्णयानुसार भोजपुर र तेह्रथुमका अग्निपीडितहरूले आवास पुनर्निर्माणका लागि भूकम्पपीडितलाई उपलब्ध गराइएसरहको ऋण पुनर्उद्धार कोषमार्पmत् स्थानीय वाणिज्य बैङ्कबाट उपलब्ध हुने तेह्रथुमका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले जानकारी दिए ।

दुई जिल्लाका ३४ घरधनीलाई जिल्ला दैवी प्रकोप उद्धार समितिबाट प्रमाणित भएको क्षतिको विवरणका आधारमा मात्र सहुलियत ब्याजदरमा ऋण उपलब्ध हुने बताइएको छ । भोजपुर सदरमुकाममा गत मङ्सिर ५ गते आगलागी हुँदा आठ घर पूर्णरूपमा क्षति भएको थियो ।

तेह्रथुमको सङ्क्रान्तिबजारमा भएको भीषण आगलागीबाट २६ घरका ३२ घरहरू जलेर पूर्णरूपमा नष्ट हुँदा ७३ परिवार विस्थापित भएका थिए । सङ्क्रान्तिबजारमा प्रधानमन्त्री प्रचण्डले अग्निपीडितहरूका लागि राहत प्याकेजको घोषणा गर्दै पीडित परिवारलाई पुनर्निर्माण तथा व्यवसाय पुनस्र्थापना गर्न विनाधितो न्यूनतम ब्याजदरमा ऋण उपलब्ध गराउने, सदमुकाम म्याङलुङ र सङ्क्रान्तिबजारमा बृहत् खानेपानी आयोजनासहितको फायर हाइडेल सञ्चालन, दमकल खरिद, सङ्क्रान्तिबजारमा चाँडै केन्द्रीय प्रसारण लाइन विस्तार गरिदिने बताएका थिए । तर स्थानीयले अहिलेसम्म प्याकेजको महसुस गर्न पाएका छैनन् ।

प्रधानमन्त्रीले सङ्क्रानितबजारमा नेपाल बैङ्क तथा कृषि विकास बैङ्कका शाखाहरू तत्कालै पुनस्र्थापना गर्न सम्बन्धित निकायमा निर्देशन भइसकेको जनाउँदै यसका लागि आवश्यक पहल गरिने बताएका थिए । तर आठराईवासी सरकारी बैङ्कका सुविधा लिन सदरमुकाम म्याङलुङसम्म ६८ किलोमिटर हिलाम्मे बाटोको जोखिमपूर्ण यात्रा गर्न बाध्य भएको स्थानीयले गुनासो गरे ।

विकासका लागि तमोर जलाशययुक्त आयोजना अघि बढाउन ऊर्जा मन्त्रालयलाई निर्देशन, तेह्रथुम सदरमुकाम म्याङलुङ–वसन्तपुर सडकखण्ड कालोपत्रे, मध्यपहाडी लोकमार्ग निर्माण, पाँचथरको हाक्पारा घाटमा मोटर पुलको निर्माण, तमोर नदीको तटीय क्षेत्रका नौ गाविसमा खानेपानीको व्यवस्था साथै खोज तथा उद्धारका लागि सुरक्षा निकायलाई आवश्यक सामग्रीको व्यवस्था बजेटमा गरिने प्रधानमन्त्री प्रचण्डले बताएका थिए ।