यौनसम्पर्क स्थापित गर्दा वा योनिमार्गको अधिक संवेदनशीलताले त्यसमा पीडादायक संकुचन हुनसक्छ । किशोरी वा युवतीको भित्री तिघ्रा तथा पुट्ठाभित्रका मांसपेशीहरू एकाएक संकुचनमा जाँदा यस्तो परिस्थिति सिर्जना हुन्छ ।
योनि संकुचन हुने प्राथमिक कारणमा कुनै रोग वा विशेष समस्या हुँदैन । यौनसम्बन्धी मनोगत समस्याले प्रायस् यौनसम्बन्ध राख्न डराउने महिलामा यस्तो समस्या उब्जन्छ । योनिवरिपरि कुनै पीडादायक समस्या हुँदा योनि संकुचनको समस्या सिर्जना हुन्छ । योनिमार्ग वरिपरिको भल्भ सुन्निँदा, योनिद्वार ढाक्ने झिल्लीको चोट, योनिद्वारमा रहेको पीडादायक खत, साँगुरो योनिद्वार एवं मार्गका कारण योनि संकुचित हुनसक्छ । यो अस्थायी प्रकृतिको हुन्छ र कारक तत्वको उपचार गर्नेबित्तिकै समस्या समाधान हुन्छ ।
दोस्रो प्रकृतिको समस्या निदान गर्न गाह्रो नभए पनि पहिलो प्रकारको समस्या पत्ता लगाउन गाह्रो हुनसक्छ । यस्तो अवस्थामा कहिलेकाहीँ पीडित महिलालाई बेहोश बनाएर जाँच गर्नुपर्ने हुन्छ । सामान्यतस् चोर औंला र माझी औंला गरी दुईवटा औंला छिराउन सकिन्छ भने योनिमार्गको आकार यथेष्ट छ भन्ने प्रमाणित हुन्छ ।
प्रथम प्रकारको योनि संकुचनको समस्याका लागि दम्पतीलाई यौन शिक्षा दिने, उनीहरूमा आत्मविश्वास जगाउने, मनोचिकित्सा सेवा दिने, औंला वा डाइलेटरको मद्दतले योनिद्वार ठूलो पार्ने कसरत आदि सिकाउनुपर्छ । यस्तो अवस्थामा आवश्यकताअनुसार योनिद्वार ढाक्ने झिल्ली मिलाउने हाइमेनोप्लास्टी वा योनिमार्ग ठूलो पार्ने फेन्टोन नामक भजाइनोप्लास्टी शल्यक्रिया पनि आवश्यक हुनसक्छ । यसमा योनिमार्ग चिप्लो पार्ने ल्युब्रिकेन्टयुक्त जेलले पनि सघाउ पुर्याउन सक्छ । दोस्रो प्रकारको योनि संकुचनको समस्या औषधि वा शल्यक्रियाबाट हटाउन वा निराकरण गर्न सकिन्छ ।
थप व्यवस्थापन
व्यक्तिपिच्छे शारीरिक बनावट फरक भएजस्तै प्रत्येक व्यक्तिको लिंग तथा योनिको नाप तथा आकारमा भिन्नता हुन्छ । तन्किने एवं खुम्चिने क्षमतायुक्त मांसपेशीबाट बनेको योनिमार्गको भित्ता सामान्य अवस्थामा एक–अर्कामा टाँसिएको हुन्छ । यौन उत्तेजनासँगै हल्का खुल्ने भएकाले यौनसम्पर्कका दौरान योनिमा जतिसुकै ठूलो वा सानो आकारको पुरुष लिंग ग्रहण गर्ने क्षमता हुन्छ । योनिमार्गको यही क्षमताका कारण गर्भावस्थामा पुरुष लिंगको तुलनामा निकै ठूलो शिशु सजिलै बाहिर निस्कन्छ । गर्भावस्थामा योनिमार्गमा आएको परिवर्तन गर्भपूर्वको अवस्थामा फर्कन ४ देखि ६ हप्ता लाग्न सक्छ ।
योनिमार्गको तन्किने–खुम्चिने क्षमताको ज्ञान नहुनु, पुरुष लिंगको आकारको गलत विश्लेषण गर्नु, यौनसम्पर्कसम्बन्धी उचित ज्ञानको अभाव, अनुभवी व्यक्तिहरूबाट शारीरिक सम्पर्कका दौरान हुन सक्ने पीडाको बढाइ–चढाइले योनि संकुचनको समस्या सिर्जना हुनसक्छ । त्यसैगरी कुमारित्व, पहिलो यौनसम्पर्कका बेलाको रक्तश्राव, कसिलो योनिमार्ग, पीडादायक यौनसम्पर्कको विगतको अनुभव वा अस्वभाविक आँकलन पनि यसका कारण हुन सक्छन् ।
मानव यौनसम्पर्कका चार चरण यौन उत्तेजना, यौन उत्तेजनाको निरन्तरता, चरम सुख र उत्तेजनापूर्वको अवस्थामा फर्कने क्रिया हुन् । सफल सम्भोग अर्थात् यौनसम्पर्कका यी विभिन्न चरणमा पाकक्रीडाको आफ्नै महत्व छ । योनिभन्दा बाहिर पनि यौन संवेदनशील क्षेत्र हुन्छन् । पाक्क्रीडाका बेला यौन उत्तेजना हुँदा उत्पादन हुने पर्याप्त मात्राको योनिरसले पुरुष लिंग प्रवेशलाई सजिलो बनाइदिन्छ । पाक्क्रीडा एवं यौनक्रियामा विभिन्न आसनको प्रयोगले योनि संकुचनको समस्या घटाउन मद्दत गर्छ ।
यौनसम्पर्कअघि पाक्क्रीडाका दौरान वा यौनसम्पर्कका बेला नवविवाहित जोडीले सहयोग गरेको खण्डमा योनि संकुचनको समस्या धेरै हदसम्म कम हुन्छ । त्यसैगरी करकाप वा बलजफ्तीमा होइन कि महिला यौन साथीलाई पनि मानसिक एवं शारीरिक रूपमा यौनसम्पर्कका लागि तयार पार्न सके योनि संकुचनको समस्या सजिलै हट्छ । आवश्यक परेमात्र शल्यक्रिया आवश्यक हुन्छ भने धेरैजसो प्रभावित किशोरी वा महिलालाई मोडल, डमी देखाएर यौनशिक्षा दिएको खण्डमा धेरै हदसम्म यो समस्या निराकरण हुन्छ । प्रभावित व्यक्तिलाई यौन शिक्षा प्रदान गरी एक पटक सफल तरिकाले यौनक्रिया गराउन सके वा पटक–पटकको यौनसम्पर्कपछि तुलनात्मक रूपमा योनिमार्गमा खुकुलोपन आएपछि यौनसम्बन्ध राख्न कुनै समस्या हुँदैन ।
महिलाले डरका कारण पनि योनि संकुचनसम्बन्धी समस्या नभनेका हुन सक्छन्, त्यसैले उनीहरूमा आत्मविश्वास जगाई पुरुष यौन साथीले समस्या निराकरणका लागि सहयोग गर्नुपर्छ ।