रोल्पा/ श्रीमान्ले अर्की टिपेर हिँडेपछि जङ्कोट– ४ रोल्पाकी तिलकुमारी घर्ती बेसाहारा बनिन् । दुई वर्षे काखे बालक च्यापेर दिनरात घरको काम गरे पनि उनलाई घरका सदस्यले समेत वास्ता गर्न छाडे । मन बुझाउने कुनै उपाय नभएपछि बाध्य भएर उनी छोरा च्यापेर कोर्चवाङमा रहेको माइत गइन् । आफैँ आत्मनिर्भर कसरी हुनेभन्ने चिन्ता थियो उनलाई ।

तत्कालीन मओवादी सशस्त्र द्वन्द्वका वेला गाउँमा माओवादीले घरेलु उद्योग सञ्चालन गरेका थिए । त्यही उद्योगमा तालिम गर्ने व्यवस्था मिलाइ दिए उनको एक आफन्तीले । माओवादी छापामारका कपडा सिलाउन थालिन उनले । कही समय त्यहाँ काम सिकेपछि उनी माडिचौर आएर सिलाइ पसल खोलिन् । करिब दुई वर्ष माडिचौरमै सिलाइ पसल गरेकी उनी अहिले आएर सदरमुकाममा नै व्यवस्थित ढङ्गले पसल सञ्चालन गरेकी छिन् ।

आजभोलि उनी कपडा सिलाउनमै व्यस्त हुन्छिन् । त्यसैवाट मासिक रु ३० हजार आम्दानी गर्ने उनी त्यही कमाईबाट छोरालाई बोर्डिङमा पढाउँदै आएकी छिन् । आत्मनिर्भर भएपछि अर्की श्रीमती टिपेर हिँडेको श्रीमान् र घरमा बस्न नदिने सासूसमेत बेला बेला भेट्न आउने गरेको उनी बताउँछिन् ।

श्रीमान्ले गाडी चलाउने पेसा अपनाए पछि आफू पनि स्वरोजगार हुने विचारले तालावाङ –५ रोल्पाकी प्रेमकुमारी कुँवर सिलाइकटाइ तालिम लिन काठमाडौँ गईन् । रु ६० हजार खर्च गरेर ६ महिना सीप सिकेपछि उनी पुनः रोल्पा फर्किइन् । सदरमुकाम लिवाङमा सिलाइ पसल सञ्चालन गरेर बसेकी उनी अचेल मासिक रु २५ हजारदेखि रु ३० हजारसम्म आम्दानी गर्दैआएकी छिन् ।

श्रीमान् श्रीमती दुबै स्वरोजार हँुदा जीविकोपार्जनमा सहज भएको छ । दुई छोरा निजी विद्यालयमा पढाउँदै आएकी उनले भविष्यमा छोराहरुलाई ठूलो मान्छे बनाउने सङ्कल्प लिएकी छिन् ।

त्यसैगरी तीन वर्षदेखि निरन्तर सिलाइकटाइ गर्दै आएकी रोल्पा जङकोटकी कमला ओलीले पनि यो व्यवसायबाट मासिक रु ३० हजार भन्दा बढी कमाइ गर्दै आएको छिन् ।

घरको दैनिकी काम सकेर बाँकी समय उनी सिलाई पसलमा काम गर्छिन् । नाबालक बच्चासँगै पेसा गर्ने धेरै महिलाको बाध्यता जस्तै कमलाले पनि बच्चा स्याहार्दै सिलाइकटाइ गर्ने गर्छिन् । आत्मनिर्भरताका कारण कसैबाट अपहेलित हुनपरेको छैन, ओलीले भनिन् ।

रोल्पा जिल्लामा यसरी सिलाइकटाइ गरेर स्वरोजगार हुने महिलाको सङ्ख्या १५० भन्दा बढी रहेको जनाएको छ । थोरै लगानीमा धेरै आम्दानी हुने तथा जोखिम पनि नहुने भएका कारण जिल्लामा यस पेसाप्रति महिलाको आकर्षण बढ्दै गएको घरेलु तथा साना उद्योग विकास समिति रोल्पाका कार्यालय प्रमुख बालकृष्ण आचार्यले बताए ।

महिलाको माग नै सिलाइकटाइमा अधिक हुने भएकाले कार्यालयले हरेक वर्ष सिलाइकटाइ तालिम सञ्चालन गर्दै आएको प्रमुख आचार्यले बताए । रोल्पाली सिलाइकटाइ प्रशिक्षण केन्द्रका सञ्चालक मनबहादुर नेपालीले बर्सेनि जिल्लामा विभिन्न सङ्घ संस्थाको सहयोगमा यस्तो तालिम आयोजना हुने गरेको बताए। हरेक वर्ष झन्डै दुई सय जति प्रशिक्षार्थीले यो तालिम लिँदै आएको उनले बताए ।

विगतमा सिलाइकटाइमा पुरुषको एकाधिकार भएकोमा पछिल्लो समयमा यसप्रति महिलाको आकर्षण बढ्दो छ । सशस्त्र द्वन्द्वका वेला आफ्नो श्रीमान् गुमाएका तथा अन्य कारणले एकल भएका महिलासमेत यस पेसाबाट आम्दानी गर्न सफल भएको मानव अधिकारका लागि एकल महिला समूह रोल्पाका अध्यक्ष तुलसा आचार्यले बताउनुभयो । श्रीमान्को मृत्युपछि जीवनको साहारा गुमाएका उनीहरुलाई सिलाइकटाइ पेसा नै साहारा हुनपुगेको आचार्यले बताए ।

जिल्लामा पुरुष वैदेशिक रोजगारीमा जाने प्रवृत्ति बढिरहको बेला महिला स्वरोजगार हुने गरी गरेको पेसालाई धेरैले प्रशंसा गरेका छन् ।