[caption id="attachment_45593" align="alignleft" width="481"] प्रतिवादी थापेपछि ३ संचारकर्मी जिल्ला अदालत अगाडि[/caption] धरान/एनआरएन हङकङको ब्यानरमुनि संस्थाका उपाध्यक्ष तथा हिमाली इन्जिनियरिङ कन्स्ट्रक्सन लिमिटेडका म्यानेजिङ डाइरेक्टर प्रेमचन्द्र तामाङ (प्रताप) ले गरेको पत्रकार सम्मेलनको भिडियो रिपोर्ट तथा समाचार प्रकाशित गरेको र त्यसले आफ्नो मानहानी भएको भन्दै ३ जना संचारकर्मीबिरुद्ध मुद्दा दायर गरिएको छ। संचारकर्मीसगैं एनआरएन हङकङका अध्यक्ष ललित आङबुहाङ (लिम्बु) र प्रेमचन्द्र तामाङविरुद्ध पनि मुद्दा परेको छ। २१ फेब्रुअरी २०१६ मा एनआरएन हङकङले याक एण्ड यति रेष्टुरेन्टमा आयोजना गरेको पत्रकार सम्मेलनमा उपाध्यक्ष तामाङले आफुलाई ‘स्याङ्जाली कान्छाको नामले चिनिने कोमल गुरुङले २९ जनवरी २०१६ राती ११ बजे २ जना मास्कधारी गुन्डा लगाएर साँघातिक हमला गराएको र ११ महिने नाबालक छोरालाई ७ तला माथिबाट फालेर मार्ने प्रयास गरेको’ भनि आरोप लगाएका थिए। त्यसबखत बितरित प्रेस बिज्ञप्तिमा समेत यो कुरा खुलाईएकोथियो। उनले ज्यानधनको खतरा भएकोले पत्रकार सम्मेलन गरेको बताएका थिए। तामाङले उक्त साँघातिक हमलामा कोमल गुरुङलाई उनका साथी बिनय शाहले साथ दिएको हुनसक्ने आशंका जताएका थिए। तामाङले दुई जनामाथि लगाएको यही गम्भीर आरोपको भिडीयो फेसबुकमा शेयर गर्ने ज्याप स्टुडीयोका प्रोपाइटर तथा मल्टिमीडिया संचारकर्मी बिक्रम गुरुङ, समाचार लेखेर हङकङ नेपाली डटकममा प्रसारित गर्ने पोर्टलका सम्पादक तुल्सीराज राना र एभरेष्ट मिडीया प्रालि बिरुद्ध थापा र शाहले जिल्ला अदालत वानचाईमा मुद्दा दर्ता गराएकाहुन्। एभरेष्ट मिडियाद्धारा प्रकाशित एभरेष्ट साप्ताहिकका प्रकाशक तथा सम्पादक किसन राई हुन्। राई हङकङ नेपाली पत्रकार संघका अध्यक्ष हुन् भने राना र गुरुङ त्यसका कार्यकारिणी सदस्य हुन्। राई एनआरएन हङकङका प्रवक्ता समेत हुन्। हङकङमा नेपाली पत्रकार बिरुद्ध क्षतिपूर्ति माग राखि अदालतमा मानहानी मुद्दा दायर गरिएको यो पहिलो घटना हो। ललितलाई चाहिं एनआरएनको ब्यानर एनआरएनकै पूर्व कार्यकारी सदस्यहरु उपर आरोप लगाउन उपयोग गरिएकोमा मुद्दा दायर गरिएको बिनय शाहले बताएकाथिए। ‘उपाध्यक्ष प्रेमचन्द्र ज्यूले १३ फेब्रुअरी २०१६ मा लिखित निवेदन दिएर ज्यान खतरामा पर्यो भनेकोले निर्णय गरेर पत्रकार सम्मेलन गरिएको हो, जसलाई ६ अप्रिल २०१६ को पूर्ण बैठकले अनुमोदन गर्यो।’ एनआरएन हङकङका अध्यक्ष ललित शाहको असन्तुष्टि सम्बन्धमा भन्छन्, ‘मैले बिनयजीलाई तपाईंको कुरा राख्नुहुन्छ भने हामी तपाईंलाई पनि ब्यानर उपलब्ध गराउँछौं भनेकै हुँ। राख्नु भएन अदालत जानु भो।’ को हुन् कोमल गुरुङ र बिनय शाह समाचारले आफ्नो मानहानी भो भन्दै अदालत पुग्ने गुरुङ र शाह दुबै समाजका चल्तापुर्जा ब्यक्ति हुन्। जिल्ला अदालतमा दर्ता गराईएको मुद्दामा वादी कोमल गुरुङ र बिनय शाहको बलियो आर्थिक–सामाजिक हैसियत झल्कने परिचय खुलाईएकोछ। सन १९९६ देखि हङकङमा बसोबास गरिरहेका बेलायती नागरिक ब्यावसायी कोमल गुरुङ हवाई टिकट बेच्ने दलाल हुन्। उनी न्यू नेपाली कर्नरका संचालक हुन्। नेपाल भलिवल समाजका अध्यक्षको रुपमा चिनाईएका उनलाई नेपाल भलिवल संघको सल्लाहकार पनि भनिएको छ।
 

गुरुङले आफुलाई तमु समाज हङकङका अध्यक्ष, नमो बुद्ध आमा समिति हङकङका सल्लाहकार, सहारा क्लब हङकङका सल्लाहकार, नेपाल जनसम्पर्क समिति हङकङका सल्लाहकार, नेपाल चेम्बर अफ कमर्स हङकङका सक्रिय सदस्य र एनआरएन हङकङका सक्रिय सदस्यको रुपमा चिनाएका छन्। सन १९९९ देखि हङकङमा बसोबास गरिरहेका नेपाली नागरिक बिनय शाहलाई हङकङमा बसोबास गर्ने ‘सेक्युरिटी गार्ड‘ को रुपमा चिनाईएकोछ। हङकङ एकिकृत नेपाली समाज (हिन्स) का अध्यक्ष शाह जनसम्पर्क समिति हङकङका कोषाध्यक्ष पनि हुन्। उनले अदालतमा दिएको चिनारी अनुसार उनी एनआरएन हङकङका पूर्व संयोजक हुन्। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाजका सल्लाहकार हुन्। त्यसैगरी उनले आफुलाई ठकुरी समाज हङकङका पूर्व अध्यक्ष तथा बर्तमान सल्लाहकार, रिपोर्टस क्लब हङकङका अध्यक्ष, नेप्सटाईस समाजका अध्यक्ष र अरनिको समाज हङकङका अध्यक्षको रुपमा चिनाएकाछन्। उनी हङकङ सितारियो कराते डो (गुर्खा कम्युनिटी) का उपाध्यक्ष पनि हुन्। हङकङ नेपाली पत्रकार संघका संस्थापक सदस्य शाहले आफुलाई नेपाल चेम्बर अफ कमर्सका सक्रिय सदस्य र नमो बुद्ध आमा समितिको आजिवन सदस्यको रुपमा पनि परिचय दिएका छन्।
 

समाचारले गरेको क्षतिको दावी र भर्पाइ

यी दुइको यहि सामाजिक हैसियतलाई उल्लेख गर्दै पत्रकार सम्मेलनमा तामाङद्धारा लगाईएको आरोपले गुरुङ र शाहलाई कति ठुलो असर पार्नसक्छ भन्दै अदालतमा पेश गरिएको मानहानीपत्रमा अदालतको ध्यानाकर्षण गरिएकोछ। त्यहाँ लेखिएकोछ, ‘पत्रकार सम्मेलनमा आरोपीलाई क्रुर र आपराधिक ब्यक्तिको रुपमा चित्रित गरिएकोछ। यस्ता ब्यक्ति कुनैपनि सामाजिक संस्थाको कार्यकारी पद, ब्यावसायिक संस्थान र क्लबहरुमा बस्ने अधिकारबाट कानुनतः बन्चित हुन्छन्।’ मानहानीपत्रमा आरोप र प्रकाशित समाचारले पारेको प्रत्यक्ष क्षतिको पनि बिवरण दिइएकोछ। समाचार प्रकाशित र प्रसारित भएपछि कोमल गुरुङको हवाई टिकट बिक्रीमा मासिक ५० देखि ७५ हजार सम्मको गिरावट आएको उल्लेख गरिएकोछ। त्यसैगरि समाचारका कारण बिनय शाह अध्यक्ष रहेको गैरसरकारी संस्था हिन्सले सरकारबाट सन २००६ देखि प्राप्त गर्दै आएको ‘नेपाल कम्युनिटी सर्भिस टिम– नेपाल टिम’ परियोजना सन २०१६ देखि गुमाउनु परेको बताइएकोछ। समाचारकै कारण शाहलाई हङकङ नेपाल पत्रकार संघको सदस्यताबाट बर्खास्त गरिएको समेत जनाईएको छ। तुलसीराज राना र बिक्रम गुरुङले सम्बन्धित समाचार र भिडीयो फेसबुकमा अपलोड गरेपछि त्यसलाई ३,७५४,५०० जनाले हेरेको र १,३९०,८०० जनाले कमेन्ट गरेकोले त्यसले गुरुङ र शाहको सामाजिक छवि र व्यवसाय ध्वस्त बनाउन मद्दत गरेको उल्लेख गरिएकोछ। ‘हङकङमा १ लाख ५० हजार नेपाली बसोबास गर्छन्। गुरुङ र शाह नेपाली समाजका सक्रिय सदस्य हुन्।’ मानहानीपत्रमा क्षतिको विवरण दिंदै भनिएकोछ, ‘सामाजिक रुपले प्रतिष्ठित ब्यक्तित्व भएकोले उनीहरुको प्रतिष्ठामाथि गम्भीर क्षति पुगेकोछ। आर्थिक र सामाजिक क्षतिले हैरानी, अप्ठ्यारा, मानसिक तनाव भोग्नु परिरहेको छ।’ वादीहरुले ‘हङकङ हाईकोर्ट अर्डिनान्स’ को धारा ४८ र ४९ बमोजिम क्षतिपूर्तिको माग गरेकाछन्। यी धाराले जितेको खण्डमा वादीतर्फ भएको आर्थिक क्षति र उनीहरुले लगाएको कानुन ब्यावसायीहरुको खर्च र त्यसको ब्याज प्रतिवादीहरुबाट असुलउपर गराउन पाउने प्रावधान छ। मानहानीपत्रमा दुबै जना वादीहरु प्रतिष्ठित सामाजिक ब्यक्तित्व रहेको र समाचारले तिनको प्रतिष्ठा ‘ध्वस्त’ भएकोले अदालतले त्यसको हिसाबकिताब गरि तिनलाई आर्थिक क्षतिपूर्ति दिलाइदिन अनुरोध गरिएकोछ। साँढेको जुधाइ बाच्छाको मिचाइ अहिलेको मुद्दाको जड बुझ्न कोमल गुरुङ र प्रेमचन्द्र तामाङबीच चलिरहेको द्वन्द्वको अन्तर्वस्तुभित्र छिर्नु पर्दछ। हिमाली इन्जिनियरिङ कन्स्ट्रक्सन लिमिटेडका म्यानेजिङ डाइरेक्टर प्रेमचन्द्र तामाङ र कोमल गुरुङबीच आर्थिक कारोबारबाट शुरु भएको द्वन्द्व र मुद्दा मामिला अहिले देखि होईन। यसको लामो शृङ्खला छ। उनीहरुबीच ‘मारामार‘ शुरु भएको सन २०१४ देखि नै हो। सन २०१४ मा कोमल गुरुङले आफ्नो श्रीमती भगवती गुरुङ र न्यू नेपाली कर्नरको तर्फबाट हिमाली इन्जिनियरिङ कन्स्ट्रक्सन लिमिटेडलाई दिएको १७ लाख हङकङ डलर उधारो फिर्ता नगरेको भन्दै प्रेमचन्द्र तामाङ बिरुद्ध अदालतमा मुद्दा दायर गरेकाथिए। त्यसको बिरुद्ध तामाङले ‘२०१३ अप्रिल देखि २०१४ फेब्रुअरीको अवधिमा आफु ८ महिना नेपालमा बसेको बखत आफ्नो बिजनेस पार्टनर बिष्णु थेवेलाई धम्क्याउँदै स्याङ्जाली कान्छाले २९ लाख हङकङ डलर लगिसकेकोले बरु उल्टै १२ लाख लिन बाँकी रहेको’ भन्दै जिल्ला अदालतमा मुद्दा दायर गरिदिए। यसपछि शुरु भएको दुई पक्षबीचको बिवाद यतिसम्म चर्कियो कि २०१४ देखि २०१७ सम्मको अवधिमा प्रेमचन्द्र तामाङले कोमल गुरुङ बिरुद्ध अदालतमा ८ ओटा मुद्दा दायर गरेकाछन्। कोमल गुरुङले दायर गरेको लेनदेन मुद्दा पनि जोड्ने हो भने यी दुई संलग्न मुद्दा ९ वटा भैसकेकाछन्। अदालतमा दर्ता ति मुद्दामा प्रेमचन्द्रले कोमल गुरुङलाई ‘आफ्नो कार्यालयमा आएर घाँटी अठ्याएर मार्ने प्रयास गरेको, कार्यालयमा आक्रमण गर्न गुण्डा लगाएको, कार्यालय तोडफोड गरेको, घरमै आएर आफु र नाबालक छोरालाई मार्ने प्रयास गरेको’ जस्ता संगीन आरोप लगाईएका छन्। मध्ये ५ ओटा मुद्दा अदालतमा अझै बिचाराधिन छन्। यहि मुद्दाका कारण कोमल गुरुङ हङकङ बिमानस्थलबाट पक्राउ परेकाथिए भने प्रेमचन्द तामाङलाई आफ्नै कार्यालयबाट हिरासतमा लिइएको थियो। कोमललाई प्रेमले ‘आफुमाथि साँघातिक हमला गराएको’ आरोपमा पक्राउ गराएकाथिए भने तामाङलाई ‘आपराधिक रेकर्ड भएको बडीगार्ड राखेको’ आरोपमा पक्राउ गराईएको थियो। यी दुईबीच चर्किएको आर्थिक लेनदेनको प्रत्यक्ष असर २०१५ मा सम्पन्न एनआरएन चुनावमा पनि छताछुल्ल भएको थियो। उपाध्यक्षको लागि भिडेका दुबैले चुनावमा देखाएको पैसाको चलखेल र बाहुबलीहरुको प्रयोगले नेपालमा हुने संसदीय चुनावको स्मरण गराएको थियो। अन्तिममा उपाध्यक्षमा तामाङले जितपनि दुई पक्षबीच चलेको त्यो चुनावी घमासान र प्राप्त परिणामले श्रृजना गरेको तुष अझै मेटिएको देखिदैंन। संचारकर्मीलगायत एनआरएन अध्यक्ष ललितविरुद्ध दायर गरिएको मुद्दा यी दुईबीच चर्किएको द्वन्द्वको पछिल्लो परिणति हो, जसले हङकङेली नेपाली समाजलाई आन्तरिक द्वन्द्वमा अल्झाइदिएको छ।
मध्यस्थकर्ताले नै माने हार 
शाह र थापाको नाममा तिनका कानुन व्यवसायी एओङ एण्ड सोलिसिटर्स कम्पनीबाट १९ मे २०१६ मा प्रेमचन्द्र , ललित, बिक्रम र तुलसीराज बिरुद्ध पत्रकार सम्मेलनमा बोलिएका ‘आधारहिन आरोप’ ले आफ्नो मानहानी भएको र प्रष्ट जवाफ नदिए मुद्दा दायर गरिने जानकारीपत्र पठाइएकोथियो। पछि त्यस्तै प्रकृतिको पत्र एभरेष्ट मिडियाका किसन राईलाई पनि पठाइयो। ३ संचारकर्मी र २ नेताले कुनै लिखित जवाफ दिएनन। बरु यसलाई सामाजिक संन्जाल मार्फत समुदायबीच लगियो। समुदायसंग मद्दत मागियो। बिक्रम गुरुङको अगुवाईमा ५ जुन २०१६ मा सामाजिक अगुवाहरुलाई बोलाएर यहि मुद्दा उपर छलफल समेत चलाईयो। ‘कुनै मौखिक जानकारी बिना कानुनी बाटो समातेपछि हामीले जवाफ दिन आवश्यक ठानेनौं। बरु समुदायमै जाने सोंच बनायौं।’ सामाजिक अगुवाहरु भेला पारेका बिक्रम भन्छन्, ‘भेलाले अगाडि बढ्नोस्। सत्यका लागि हामी सहयोग गर्छौ भनेपछि जवाफ नदिएकाहौं।’ संखुवासभा समाज र गुरुङ तमु समाज संखुवासभाले बिक्रमको समर्थनमा प्रेस बिज्ञप्ति नै जारी गरेकाथिए। यस मुद्दामा संलग्नहरु सबै कुनै न कुनै संस्थासंग आवद्ध छन्। तिनलाई सम्बन्धित संस्थाहरुले खुलेर र कसैले पृष्ठभूमीबाट समर्थन गरिरहेकाछन्। जस्तैः प्रेमचन्द्र तामाङ एनआरएन हङकङका उपाध्यक्ष, तामाङ घेदुङ हङकङका प्रमुख सल्लाहकार र हङकङ नेपाली महासंघका सदस्य हुन्। त्यसैले सतहमा ५ जना देखिएपनि यस मामिलामा कुनै न कुनै रुपमा हङकङमा भएका डेढ सय संस्था नै रणमैदानमा उत्रिएको हो कि झैं देखिन्छ। समुदायबीच फाटो ल्याउने यो पक्ष नै यो मुद्दाको सबैभन्दा कमजोर र डरलाग्दो पाटो हो। बिवादले अदालतको बाटो समातेपछि सामुदायिक नेताहरु नै एकापसमा भिड्न थालेपछि त्यसले समाजलाई ध्रुबीकरणमा लगेकोछ। यसैकारण दुई पक्षबीच मध्यस्थता गराउन एनआरएन केन्द्रीय सल्लाहकार त्रिलोक गुरुङको संयोजकत्वमा ५ सदसीय समिति बनाई मिलाउने प्रयत्न गरिएको थियो। तर त्यसले पनि पार लागेन। समितिमा कानुन ब्यावसायी जेबी ओख्राबु, सामाजिक नेतृ टीका गुरुङ, ब्यावसायी जेएन ज्ञवाली र एनआरएन नेता कृष्ण पाण्डे सम्मिलित थिए। ‘तिमी बिरुद्ध मुद्दा हाल्दैछौं भन्ने जानकारीपत्र आएपछि प्रतिवादी बुझ्न जान लागेको मलाई समितिका साथीहरुले रोक्नु भो।’ प्रेमचन्द्र तामाङ भन्छन्, ‘एनआरएनको बेईज्जत हुन्छ मिल्नुपर्छ, हामी मिलाउँछौं भन्नु भो तर उहाँहरुले पनि सक्नुभएन।’
 

दुबै पक्षका आ–आफ्ना तर्क थिए। संचारकर्मीहरुले आफ्नो धर्म निर्वाह गरेकोले आफुहरु निर्दोष रहेको बताइरहेकाथिए। उता वादीहरुले गम्भीर आरोपको समाचार लेख्नुअघि आरोपीलाई पक्ष राख्ने मौका नै नदिई ‘समाचार ब्यालेन्स’ नगरेकोले कानुनको ढोका ढक्ढक्याएको तर्क दिइरहेका थिए।

‘जसरी प्रचार गरिएको छ इस्यू त्यति ठुलो हैन। तर २ जनाले आफुलाई बदनाम गरेको ठाने। त्यो भावनालाई पनि बुझेर हामीले मिलाउने प्रयास गर्यौं। धेरै चोटी बैठक गर्यौं।’ दुई पक्षलाई मिलाउन सक्रिय रुपमा खटेका समन्वय समितिका सदस्य कानुन व्यवसायी जेवी ओख्राबु भन्छन्, ‘मिल्नलाई मन मिल्नु पर्यो। दुबैतीरका साथीहरुको जुघाँको लडाई देखियो। अत्तो थाप्ने र इगो पालेको देखियो। यस्तो कुरामा अरुले जर्वदस्ती मिलाएर मिल्ने कुरा हैन। हामीले सकेनौं।’ मिल्ने मिलाउने यही क्रममा २७ अप्रिल २०१७ का दिन ५ जना बिरुद्ध मुद्दा दायर भएको छ। ५ जनाको नाममा ५० पेज लामो मानहानी पत्र पठाइएको छ। प्रतिवादीले अदालतलाई चिठी बुझेको जानकारी दिइसकेका छन्। यसको अर्थ २ जना एकातर्फ र ५ जना अर्कोतर्फ भई नेपाली नेपालीबीच ’सिङ जुधाउने खेल’ शुरु भइसकेकोछ। ‘जिल्ला अदालत गै प्रतिवादी थापियो,’ किसन राई भन्छन्, ‘२८ दिनभित्र प्रतिवादीको तर्फबाट हामीले स्टेटमेन्ट बुझाउने तयारी गरिरहेका छौं।’ एक जना कानुन ब्यावसायीको भनाइमा दुई पक्ष कानुनी प्रक्रियामा छिरिसकेपछि यसको अन्तिम फैसला हुन कम्तिमा एक बर्ष सम्मको समय लाग्न सक्दछ। बेलाबखत भैरहने सुनुवाईका लागि समय निकाल्न कामकाजी नेपालीहरुका लागि सहज हुनेछैन। पैसा त्यतिकै खर्च हुन्छ। ‘मुद्दा हार्नेले त खरानी धसेर हिंड्ने नै भो। जित्नेले पनि त्यतिन्जेल धेरै चीज गुमाईसकेको हुन्छ,’ झन्झटिलो कानुनी प्रक्रिया र आपसी खिचातानी हटाउन नेपाली उखान सुनाउँदै उनले उपाय पनि सुझाए, ‘अदालतमा मुद्दा गएतापनि दुई पक्षले चाहेको खण्डमा जतिखेर पनि मिलापत्र गर्न पाईन्छ। अदालतलाई चित्तबुझ्दो कारण जानकारी गराएर मुद्दा थुत्न सकिन्छ।’ याे समाचार नेपालखबर अनलाइनबाट साभार गरिएकाे हाे ।