भद्रपुर/ झापाको भद्रपुर स्थित मेची अञ्चल अस्पतालमा करिब ८० लाखको लागतमा आईसीयू (सघन उपचार कक्ष) सञ्चालनमा आएको छ । अस्पताल विकास समितिले विहिवार एक कार्यक्रमका बिच आइसियु सेवाको शुभआरम्भ गरेको हो ।

झापाका प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्री र विकास समितिका अध्यक्ष राम कटटेलले संयुक्त रुपमा उदघाटन गरेका छन् ।प्रमुख जिल्ला अधिकारी खत्रीले सरकारी अस्पतालमा आइसीयु सेवा सञ्चालनले गरिब जनताले सस्तो र सुलभ दरले सेवा पाउने प्रति अस्पताल प्रशासनलाई धन्यवाद दिएका छन् ।

आइसीयु सेवालाई निरन्तर रुपमा सञ्चालनका लागि प्रशासनको तर्फबाट सक्दो सहयोग गर्न प्रतिवद्धता समेत जाहेर गरे । अस्पतालका पूर्व अध्यक्ष ज्योतिसिह दर्लामीले अस्पताल विकास समिति र प्रशासनको दवाव बमोजिम नै आइसियु सञ्चालन हुन सकेकोमा खुशी व्यक्त गरे । नेपाली काग्रेसका क्षेत्रीय सभापति गणेश पोखरेलले स्थानीय राजनितिक दल र विकास समितिको पहलमा आइसीयु सञ्चालन आएपछि अव विरामीहरु अन्यत्र जानु पर्ने बाध्यताको अन्त्य भएको बताए ।

नेकपा एमाले भद्रपुर नगर इञ्चार्ज असारु राजवंशीले आइसीयु सञ्चालनका लागि स्थानीय निकाय र जनताले निरन्तर सहयोग गरेमात्र गरिब जनताले मेचीमा सुलभ र भरपर्दो उपचार पाउने बताए ।

माओवादी केन्द्रका भद्रपुर मेयरका उम्मेदवार शिवराज भण्डारीले अस्पतालको विकासको लागि सबैले सहयोग गरेमात्र जनताले यस अस्पतालबाट सोचे जस्तोसेवा पाउने बताए । अस्पतालको दोस्रो तलामा एउटा कोठामा ५ बर्षअघि नै आइसियु सञ्चालनको लागि कोठा तयार बनाइएको थियो । सोही पूर्वाधारसहितको कोठामा दुई वटा भेन्टीलेटरसहित चार वेडको आइसियु कक्ष सञ्चालनमा आएको हो ।

आइसियु कक्षमा विरामी राखेर उपचार सुरु भइसकेको अस्पताल प्रशासनले जनाएको छ । आइसियु सञ्चालनका लागि एनोसथेरियोलोजिस्ष्ट डा. जोशनलाल बज्रचार्यको नेतृत्वमा पाँच जना मेडिकल अफिसर राखिएको छ ।

स्वास्थ्य मन्त्रलायले सन् २०११ मा मेची अञ्चल अस्पताल भद्रपुरको स्तरोन्नती र विरामीको सेवा सुविधलाई मध्यनजर गर्दै आईसियु सेवा सञ्चालन गर्ने योजना अघि सारेको थियो । अस्पतालमा आइसियु सञ्चालन गर्ने बजेटको अभाव देखिएपछि ५ बर्षअघि स्वास्थ्य मन्त्रालयले करिब ५० लाख रुपैया बढीको उपकरण सामाग्री र तत्कालिन जिल्ला विकास समिति झापाले १० लाख रुपैया बजेट अस्पताललाई पठाएको थियो ।

तत्कालीन मेची अञ्चल विकास समितिका अध्यक्ष जेपी शर्मा र निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. टंक प्रसाद बाराकोटीको कार्यकालमा मन्त्रालयले आइसीयूका लागि अस्पताललाई चार थान बेड, भेन्टीलेटर लगायतको आवश्यक सामाग्रीहरु उपलब्ध गराएको थियो ।

तर, आइसियु सञ्चालनको लागि थप बजेटको आवश्यकता र आइसियु रेखदेखेको चिकित्सक अभावले लामो समयदेखि आइयिसु सञ्चालनमा आउन सकेको थिएन ।

मेची अस्पतालको निरीक्षण गर्ने क्रममा पछिल्लो पटक स्वास्थ्य मन्त्री गगन थापा समक्ष अस्पताल विकास समिति सहित स्थानीय राजनितिक दलले आइसियु सेवासहित स्तरोन्नती गर्नु पर्ने लिखित माग राखेका थिए । स्वास्थ्य मन्त्रीले मागको सुनुवाई गर्दै आइसियु सेवा सञ्चालनका लागि २० लाख रुपैया बजेट सहित चिकित्सक टोली नियुक्त गरेर पठाएपछि आइसियु सेवा सञ्चालनमा आएको हो ।

विरामी रेर्फरको रुपमा परिचित हुन थालिसकेकको अञ्चल अस्पतालमा आइसियु सेवा सञ्चालनमा आएपछि स्थानीयबासी हर्षित भएका छन् । आइसियु सञ्चालनका लागि अस्पताललाई केही चुनौती भएपनि विरामीलाई भरपर्दो र सस्तो सुलभ दरले सेवा प्रदान गरिने अस्पतालको लक्ष्य रहेको मेडिकल सुपरिटेण्डेन्ट डा. पिताम्बर ठाकुरले बताए ।

अन्य अस्पतालको तुलना ५० प्रतिशत छुट सहित एक दिनको दूई हजार सम्म शुल्क लाग्ने ठाकुरको भनाई छ ।झापासहित मेचीबासीको दिर्घकालीन समस्या र माग बमोजिम अस्पतालमा आइसियु सञ्चालन भएको अस्पताल विकास समितिका अध्यक्ष कटटेलले बताए । सरकारी अस्पतालमा आइसियु सञ्चालनमा आएकाले अव सानोदेखि जटिल उपचार पनि यही अस्पतालमा हुने भएकाले विरामी रेर्फर भएर अन्यत्र जानु पर्ने समस्या टरेको अध्यक्ष कटटेलको भनाई छ ।

अस्पतालमा यसअघि अस्पताल भित्रै फार्मेसी सञ्चालनमा ल्याइसकेको र अवको १५ दिन भित्र डाइलोसिस सेवा समेत सुचारु गरिने उनले बताए ।अस्पतालमा आइसियु सञ्चालनमा आएपनि यसको व्यवस्थापनमा केही चुनौती देखापरेको छ ।

अस्पतालमा अक्सिजन प्लाण्ट नभएकोले अक्सिजन अन्यत्रवाट ल्याउनु पर्ने, अस्पतालमा प्रयाप्त औषधी नहुनु, आवश्यकता अनुसारको चिकित्सक तथा कर्मचारी नहुनुले केही चुनौती देखापरेको छ ।

साथै यसको सञ्चालनको लागि आवश्यक बजेटको अभाव पनि देखिएको छ । आइसीयु सञ्चालनवाट मेची अञ्चलबासीले सरकारी अस्पतालबाट रेर्फर भई निजि अस्पतालमा चर्को शुल्क तिरेर उपचार गराउनु पर्ने बाध्यताको अन्त्य भएको छ ।