धरान/२४ वर्षदेखि प्रअ रहेकी पूर्वाञ्चल ज्ञानचक्षु विद्यालयकी केशरी थापामाथि शिक्षक विद्यार्थीहरुलाई ‘शारीरिक र मानसिक यातना’ दिने गरेको गम्भीर आरोप लागेको छ । [caption id="attachment_46052" align="alignnone" width="1186"] पत्रकार सम्मेलन गरी प्रअ थापाको कर्तुत बारे सार्वजनिक गर्दै शिक्षक तथा पूर्व विद्यार्थीहरु । तस्बिरः भोजराज श्रेष्ठ[/caption] यही आरोप लगाउँदै स्कुलमा कार्यरत ६ जना शिक्षकहरुले राजिनामाको माग टड्कारो रुपमा उठाएका छन् । शिक्षक, विद्यार्थीहरुमाथि हुने गरेको अत्याचारको सीमा नाघेकाले पनि आन्दोलनमा उत्रिनु परेको शिक्षकहरुले बताए । आइतबार पत्रकार सम्मेलन गर्दै शिक्षक प्रकाश कार्की, डोल्मा योञ्जन, सुशिला थापा, विद्या शाक्य, सीता कार्की र तुलसी तिम्सिनाले राजिनामाको माग गरे । विरोध स्वरुप हातमा हालोपट्टी बाधेर पढाई भने सूचारु राखेका छन् । यि शिक्षकहरुले आन्दोलन सुरु भएको पाँचौ दिनबाट प्रअ थापालाई कार्यालय प्रवेश निषेध गर्ने कार्यक्रम तय गरेका छन् । तर, प्रअ थापाले आफू विधि सम्मत र प्रक्रिया पु¥याएर ज्ञानचक्षुमा आएकाले विधिसम्मत तरिकाले मात्रै विदावारी हुने बताइन् । उनले आफूले कुनै पनि विद्यार्थी तथा शिक्षकहरुमाथि अत्याचार नगरेको प्रष्टाइन् । भनिन्, ‘मैले स्कुल सुधार्नको लागि केही कडा रुपमा प्रस्तुत भए हुँला । तर, कसैमाथि शारीरिक मानसिक पीडा दिएको छैन् । यो सबै गलत कुरा हो ।’ उनले आफू आर्मी परिवारबाट प्रतिनिधित्व गर्ने भएकाले अनुशासन सिकाउने क्रममा ‘स्ट्रिक्ट’ रुपमा प्रस्तुत भएको बताइन् । ‘केही कडा छु, म आर्मी परिवारबाट आएको हुँ, त्यो भएर सुधार गर्नुपर्ने कुरामा स्ट्रिक्ट भए होला ।’ उनले भनिन् । तर, पूर्व विद्यार्थीहरु सुन्दर लिम्बू, सुमिन चौधरी र भक्तबहादुर गुरुङले आफूहरुमाथि अभद्र व्यवहारसँगै चरम यातना दिएको बताए । भक्तबहादुरले भने, ‘यही शरीरले ८० लठ्ठी गनी गनी खा’को छु । कुरो खासै गहिरो पनि होइन, ‘म र मेरा गाला’ भन्ने शब्दलाई अंग्रेजीमा उल्था मात्रै गरेको हुँ । त्यति कमजोरीमा मैले यातना पाएँ ।’ प्रअले विद्यार्थीहरुलाई जेल जस्तै गरेर राख्ने गरेको उनको भनाइ थियो । उनले भने, ‘स्कुल हामीलाई जेल जस्तै लाग्छ । हामीले आफ्नो कुरा स्पोन्सरलाई राख्नको लागि पनि प्रतिबन्धित थियो ।’ त्यति मात्रै हैन, धाईआमा सीता फुयालले समेत आफूलाई सामान्य विषयलाई लिएर कानको जाली फुट्ने गरी कुटेको दाबी गरिन् । त्यही कुटाईका कारण हाल उनी देब्रे कान सुन्न नसक्ने भएको बताउँछिन् । र, तलवसमेत आधा कटौती गरेको बताइन् । तर, यी कुराहरुलाई प्रअ थापाले सिधै नकारिन् । ‘मैले कसरी पिट्न सक्छु । त्यो बेलामा कस्ले गन्यो होला ८० लठ्ठी भनेर ।’ उनले धाईआमाको विषयमा पनि आफूले नकुटेको दाबी गरिन् । प्रअ थापा २०५० सालको अन्ततिर काजमा सरुवा भएर ज्ञानचक्षु आइपुगेकी हुन् । उनको यही आउँदो मंसिरमा अवकास हुँदै छ । उनी आएलगत्तै २०५३ सालतिर तत्कालीन विद्यार्थीहरुले ‘राणा शासन शैली’ को विरोधसमेत गरेका थिए । तत्कालीन विद्यार्थी दीपक थापाले प्रअको विरुद्धमा आन्दोलन नै गरेको बताए । ‘उहाँको कार्यशैली अमानवीय छ । यतिसम्म की खानाको कम्प्लेन गर्दा घरमा यतिको पनि खान पाएका थियौं के ? भन्दै अपमानजनित भाषा प्रयोग गर्ने गर्नुहुन्थ्यो ।’ पत्रकार सम्मेलनमा आइपुगेका उनले भने ।

अनियमितताको कुरा अख्तियारसम्म

अनियमितताको विषय अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरीस्थित सम्पर्क कार्यालयमा उजुरी पुगेको छ । उक्त उजुरी पछि अख्तियारले चारदिन अघि सम्पूर्ण कागजात बरामद् गर्दै अनुसन्धान थालेको छ । ‘अहिले हामी प्रारम्भिक अनुसन्धानको क्रममा छौं ।’ अख्तियारका इटहरी प्रमुख प्रेमप्रसाद भट्टराईले फोनमा भने, ‘अहिले नै सबैकुरा आइसकेको छैन । सम्पूर्ण कागजात अनुसन्धान पछि थाहा हुन्छ ।’ अख्तियारमा पनि रकम हिनामिनालगायत फर्जी कागजात बनाएको लगायतको विषयमा उजुरी परेको थियो ।

अनियमितताको आरोप

प्रअ थापामाथि विभिन्न सामग्री खरिदमा अनियमितता गरेको अभियोग लागेको छ । प्रअ थापाले तलव विवरणको खाली फारममा हस्ताक्षर गराउने गरेको शिक्षकहरुले बताएका छन् । जुन कागजबाट पनि पुष्टी हुन आउँछ । २०७२ साल असाढमा पूर्ण विवरण भरेको कागज देखिन्छ भने त्यही सालको खाली कागजमा हस्ताक्षर गराएको अर्को फारमसमेत भेटिएको छ । जसमा केही शिक्षकहरुले हस्ताक्षर गरेको देखिन्छ । तर, त्यहाँ भने कुनै विवरण हालिएको देखिदैन । यसबारेमा प्रअलाई बुझ्दा शिक्षकहरुको जिल्ला शिक्षा कार्यालयमा विवरण पठाउने क्रममा तलव स्केल र खास स्केलको अलग अलग बनाएर पठाउनु पर्ने भएकाले शिक्षकहरुकै अनुमतिमा त्यो गरिएको प्रष्टाइन् । तर, २०७२ सालमा मात्रै खाली कागजमा हस्ताक्षर गर्नुपर्ने कारण सोध्दा उनले गतिलो जवाफ दिन सकिनन् । उनले अन्य बेला खाली फारममा हस्ताक्षर नगराएको बताइन् । त्यस्तै उनले १० वटा प्लाष्टक रेकर्डर ल्याउनु पर्नेमा पुरानै प्रविधिको एमपि ३ रेकर्डर ल्याएर त्यसमा अनियमितता गरेको शिक्षकहरुको आरोप छ । शिक्षा मन्त्रालयबाट प्लाष्टक –बोली रेकर्डर आधुनिक प्रविधि) र कम्प्युटर खरिदका लागि ३ लाख रुपैया आएकोमा पुरानै खाल्को एउटा रकेर्डर ल्याएर फर्जी बिल जिल्ला शिक्षा कार्यालयमा पेश गरी रकम हिनामिना गरेको बताएका छन् । त्यस्तै शिक्षक गोपाल राईको २०७० माघ १ गतेदेखि निमावि शिक्षकमा नियुक्त दिएर प्रावि सरह मात्रै तलव दिएर अन्य रकम हिनामिना गरेको अभियोग लगाएका छन् । तर, प्रअले आफूले कुनै पनि गलत काम नगरेको प्रष्टाएकी छन् । उनले प्रक्रिया अनुसार नै काम गरेको दाबी गरेकी छन् ।