त्यस्तै २२ वर्ष अगाडि । त्यतिबेला म अध्यायन गर्दै थिए । मेरो दिदी र ऋषिजी (ऋषि लामिछाने) क्लासमेट रहेछन् । दिदीका कारणले उहाँसँग भेट भयो । सो समय म सानै थिए । उहाँ कलेज अध्यायन र चलचित्रतिर स्ट्रगल गर्दै हुनुहुदो रहेछ । हिरो बन्ने सपना थियो उहाँमा । दिदीका कारणले हाम्रो बेलाबेलामा भेट भइरहन्थ्यो । प्रेमी–प्रेमिकाका रुपमा भने त्यो भेटघाट थिएन । दिदीको साथी, असल मान्छे भनेर चिन्थे म उहाँलाई । मेरो घरमा पनि आइरहनु हुन्थ्यो । सुरुसुरुमा समान्य बोलचाल पनि मुस्किलले हुन्थ्यो । केही समयपछि हामी अलि क्लोज भयौँ । त्यही समयमा मलाई उहाँप्रति फिल भएको थियो, कति असल मान्छे, सबैको ख्याल गर्ने । राम्रो मान्छे भनेर । उहाँले मेरो पढाइदेखि काम, घर, परिवार, भाइबहिनी सबैको बारेमा सोध्नुहुन्थ्यो । यो बानीले म पनि उहाँप्रति खिचिँदै गएकी थिएँ । त्यतिबेला केही थाहा थिएन । अहिले आएर सोच्दा पो थाहा भयो त्यो माया रहेछ । त्यतिबेला मोबाइल सुविधा थिएन । मुस्किलले फोन गर्न पाइन्थ्यो । केही भन्नुपर्दा पनि भेटघाट गर्नुपथ्र्यो । भेटघाट बाक्लिदै जाँदा केही समय भेट नहुँदा पनि किन भेट भएन, कहाँ जानुभयो होला भनेर मनमा कुरा खेल्थ्यो । यस्तै यस्तैमा दिन बित्दै थिए । एक पटक यस्तो समय आयो, उहाँलाई घरबाट विवाहका लागि प्रेसर आएछ । मलाई सबै कुरा गर्नुभयो । अनि भन्नुभयो– ‘मलाई तिमी एकदमै मनपर्छ । प्रेमस्रेम त्यस्तो केही चक्करभन्दा पनि हामी विवाह गरौँ हुन्न ।’ म अल्लारे बुद्धिकी भएर होला सायद, मैले दायाँबायाँ केही नसोची सहमती जनाए ।
विवाहका लागि हामी दुई तयार भएपछि घरपरिवारलाई सोध्नुपर्छ भन्ने मलाई लाग्यो । घरको एक्लो छोरा, उहाँको बुबाको पनि केही चाहना होला । म पनि आमाबुबाले पुल्पुल्याएर पालेको छोरी । त्यतिबेला म मेरो प्रेम भयो, विवाह गर्छु भन्न पनि सक्दिनथेँ । उहाँले भनेको कुरा पनि घरपरिवारले मान्ने स्थिति थिएन । त्यसैले हामी दुवैले सल्लाह गर्यौँ । एक अर्कोलाई मन पराउँछौ र जीवन काट्न सक्छौँ भने घरमा भनेर तामझाम, दाइजो साइजो, भोजभतेर लगायतका झन्झटतिर किन लाग्ने । जीवन काट्ने हामी दुईले हो । यस्तै सोचका साथ निर्णय गरेर सुटुक्क विवाह गर्यौँ ।
बागेस्वरी मन्दिरमा दोस्रो विवाह भयो
विवाहपछि हामीसँगै बस्न थालेको ६ महिना भइसकेको थियो । उहाँको घरलगायत सबैतिर हाम्रो विवाहको खबर पुगिसकेको थियो । उहाँको घरबाट पनि विवाह भइसक्यो अब बुहारी भित्र्याउनुपर्छ भन्ने सल्लाह भएछ । विवाहपछि दशैँमा पहिलो पटक उहाँको घर बुटवल गयौँ । साझा बसमा चढेर हामी घरतिर लागेका थियौँ । यात्राको क्रममा उहाँले मलाई घरको बारेमा सबै बुझाउँदै लानुभयो । बेलाबेलामा जोक भनेर हसाउनु पनि हुन्थ्यो । एक पटक उहाँले मुम्बईमा लगेर बेचिदन्छु भनेरसमेत जिस्याउनु भयो । घरमा पुगेको दिन रामनवमी थियो । सबै परिवारले मलाई घरमा भित्र्याउनु भयो । घर भित्र्याउनुपूर्व उहाँको बुबाले विवाह भएको मैले देखेको छैन । मेरो अगाडि ऋषिले सिन्दूर हाल्नुपर्छ भन्दै घर नजिकको बागेस्वरी मन्दिरमा लगेर फेरि विवाह गराउनुभयो । यो मेरो उहाँसँगै दोस्रो थियो । सो विवाह सम्पन्न गरेर घरभित्र पस्ने बित्तिकै पानी पर्यो । उहाँको बुबा धेरै खुसी हुनुभयो । सबैकुरा सोध्नुभयो । त्यो घरमा सबैले मायालु व्यावहार देखाए । पहिलो पटक १८ दिन घरमा बसेँ । विवाह गरेको अहिले २० वर्ष भयो । यो समयसम्म मेरो जीवन राम्रो चलेको छ । राम्रो जीवन चल्नु भनेको भाग्यको कुरा हो ।
मुक्ति मेरो टर्निङ प्वाइन्ट बन्यो
चलचित्र अभिनय आउने मेरो कहिलै पनि सोच थिएन । ऋषिजीसँग विवाह गर्दा पनि चलचित्र खेल्छु भन्ने थिएन । ऋषिले नै मलाई यो क्षेत्रमा ल्याउनु भयो । मसँग विवाह हुँदा उहाँले धेरै भिडियो चलचित्र, टेलिचलचित्र खेल्नु भएको थियो । यो क्षेत्रसँग जोडिनुभएको थियो । चलचित्रभन्दा अर्को केही देख्नु हुँदैन थियो । म भने प्रोजेटमा जप गर्थें । तर शरीरको पछाडि भागमा भएको पीडाले काम गर्न गाह्रो भएको थियो । उहाँले मेरो पीडा देखेर जागिर छोड्न लागाउनुभयो । अरु केही गरौँला भन्नुभयो । जागिर छोडेर बसेकी थिएँ । के गर्ने, के नगर्ने दुविधामा थिएँ । यस्तैमा उहाँले निर्देशक तुलसी घिमिरेले नयाँ अनुहारको केटी खोज्दै गरेको थाहा पाउनुभएछ । तुलसी दाइलाई भेट्ने सल्लाह दिनुभयो । मेरा लागि त्यो अचम्मको कुरा थियो । किन र केका लागि भेट्न जाने भन्ने दुविधामा परेँ । तुलसी घिमिरेको चलचित्र बच्चैदेखि हेरेकाले भेट्ने इच्छा त भयो । तर फिल्म खेल्दिनँ भन्ने सोच बनाएर भेट्न गएँ । घरमा तुलसी दाइलाई भेटेँ । उहाँले बैनीको नाम के भनेर सोध्नुभयो । मैले सरिता भनेँ । उहाँ हाँस्नुभयो । फिल्म खेल्ने हो भन्नुभयो । मैले चलचित्र खेल्ने रहर होइन । तपाईंलाई भेट्न आएकी भनेँ । तर तपाईंको काम गर्न पाए गर्छु भने । १० मिनेटपछि तुलसीदाइको भाउजू आउनुभयो । उहाँले पनि मेरो नाम सोध्नुभयो । मैले सरिता भन्दा भाउजु पनि हाँस्नुभयो ।
किन हाँस्नु भएको भनेर सोधे । बुझ्दै जाँदा तुलसी दाइले बनाउन लागेको चलचित्रको मुख्य पात्रको नाम नै सरिता रहेछ । दाइ भाउजूले भगवानले हाम्रा लागि सरिता पठाइदिनुभयो भन्दै अभिनयका लागि मलाई फाइनल गर्नुभयो । त्यो चलचित्रको नाम मुक्ति थियो । मभन्दा पहिले त्यो भूमिकाको लागि धेरैसँग कुरा भएको रहेछ । तर मेरा लागि लेखिएको भएकाले होला म छानिएँ । मुक्ति नै मेरो अभिनयको टर्निङ प्वाइन्ट बन्यो । यसै चलचित्रबाट मेरो अभिनय यात्रा सुरु भयो । यसपछि अहिलेसम्म पछाडि फर्किएर हेर्नुपरेको छैन । साना तथा ठूला पर्दाका गरेर धेरै चलचित्र अभिनय गरेकी छु । यसैबाट मेरो परिचय बनेको हो ।
गल्ती सच्याउने काम छोरीले गर्छिन्
विवाह भएको २० वर्षसम्म पनि हाम्रो एक पटक झगडा भएको छैन भन्दा कतिपयलाई पत्यार नलाग्न सक्छ । उहाँले ठूलो स्वरमा बोल्नुभयो अथवा डिस्कस गर्नुभयो भने पनि मलाई निन्द्रा लाग्दैन । त्यो जतिको ठूलो टर्चर मेरा लागि केही हुँदैन । केही कारणले हामी अलगअलग सुतियो भने पनि पूरै राता ननिदाई बित्छ । अहिलेसम्म त्यस्तो झगडा भएको छैन, जुन झगडाले एक दुई दिन बोलचाल नभएको होस् । पछिल्लो समय छोरीको विषयमा कहिले काही सामान्य झगडा हुन्छ । त्यो झगडा छोरीले मिलाइदिन्छिन् । जबदेखि छोरी बुझ्ने भएकी छिन्, हाम्रो गल्ती सच्याउने, मिलाउने र गल्ती गर्नेलाई माफी माग्न लगाउने काम छोरीले गर्दै आएकी छन् ।
संसारकै उत्कृष्ट श्रीमान्
ऋषिजी मेरो नजरमा संसारकै उत्कृष्ट श्रीमान् हुन् । कहिले कहिले झनक्क रिसाउने, कुरै नबुझी रिसाउने एउटा बानी उहाँको खराब छ । यो बानी उहाँले सुधार्नुपर्छ । बाँकी केही छैन । अहिलेसम्म त्यस्तो केही कमिकमजोरी भेटेकी छैन । सबैलाई ख्याल गर्ने, सबैको विचार गर्ने, सबैलाई इज्जत गर्ने सबैभन्दा राम्रो बानी हो जस्तो लाग्छ । हरेक ठाउँमा श्रीमती आफुभन्दा अगाडि बढोस् भन्ने खालको श्रीमान् हुनुहुन्छ । हरेक कुरामा श्रीमातीले आफूलाई पछि पारोस् भन्नुहुन्छ । उहाँ एकदमै राम्रो ड्राइभर पनि हुनुहुन्छ । उहाँको ड्राइभले मेरो जीवनको गाडी पनि राम्रो गुडेको छ । समग्रमा भन्नुपर्दा एकदमै पोजेटिभ मानिस । चलचित्र क्षेत्रमै राम्रो मन भएको, सबैलाई, इज्जत गर्ने ।
ऋषि अभागी निर्देशक
ऋषिलाई मैले जति कसैले पनि चिनेको छैन र चिन्दैन पनि होला । यो हिसाबले भन्नुपर्दा उहाँ एकदमै राम्रो निर्देशक हुन् । घरमा कामको विषयमा हुने डिस्कस र कन्सिडेन्टको आधारमा पनि यो भन्न सकिन्छ । उहाँ क्रिएसन गर्न सक्ने निर्देशक पनि हुनुहुन्छ । तर उहाँ विभिन्न परिबन्धमा परेर क्रिएसन मार्ने गर्नुहुन्छ । धेरै निर्देशकले ठूला ठूला कुरा गरिरहेका हुन्छन् । तर त्यो कुरोमा उहाँ सधैँ पछाडि रहनुभएको छ । सीधै भन्नुपर्दा उहाँ अभागी निर्देशक पनि हुन् । प्रतिभा जति भए पनि ठाउँ नपाउने निर्देशकमा पनि पर्नुुहुन्छ । ठूलो क्यानभास नपाएको मान्छे भन्छु म । निर्माताको पैसा उडाएर नाम कमाऊँ नभन्ने मानिस । निर्माताको कारणले आफ्नो क्रिएसन मार्ने, फ्री भएर काम गर्न नपाएका निर्देशक ।
राताेपाटीबाट