धरान/पुरानो घर बाग्लुङ भएका नारायण रेग्मी कतार संकट सुरु हुनु एक महिनाअघि कामविशेषले नेपाल फर्केका थिए । केही दिन घरायसी काम सल्ट्याएर फेरि उतै फर्किने उनको योजना थियो ।
तर पछिल्लो दिनमा कतारमा संकट आएको थाहा पाएपछि नारायणले फेरि उता फर्किने वा नफर्किने निर्णय गर्न सकिरहेका छैनन् । कतारमा रहेका उनका साथीहरू पनि दोधारमा छन् । उनीहरूको आफ्नै भविष्यको टुंगो नभएकाले नारायणलाई फेरि कतार बोलाउन सकिरहेका छैनन् । पछिल्लो दिनमा कतार संकटका कारण नारायणजस्ता थुप्रै नेपालीहरू प्रत्यक्ष अप्रत्यक्ष रूपमा प्रभावित हुन थालेको देखिएको छ । खेतीयोग्य जमिन एकदमै कम भएको कतारसँग खाडीका छिमेकी सातवटा मुलुकले सम्बन्ध विच्छेद गरेपछि त्यहाँ मानवीय संकट उत्पन्न हुन सक्ने देखिएको छ । यद्यपि कतारले यो समस्याबाट पार पाउन भरमग्दुर प्रयास गरिरहेको छ । विशेषगरी इरान र टर्कीबाट आफ्नो देशलाई आवश्यक पर्ने सामग्रीहरू आपूर्ति गर्ने काम कतारमा सुरु भएको छ ।
साउदी अरबले सम्बन्धविच्छेद गरेको घोषणा गर्नेबित्तिकै दैनिक उपभोग्य वस्तुहरूका लागि साउदीको बजारमा पूर्णनिर्भर कतारमा हाहाकारको अवस्था सिर्जना हुने अनुमान गरिएको थियो । तर यो अवस्थामा क्रमशः सुधार आएको त्यहाँ रोजगारीका लागि पुगेका नेपालीहरू बताउँछन् । शनिबारमात्रै इरानको सरकारी विमान कम्पनी इरान एयरले आफ्नो देशबाट कतारका लागि पाँचवटा विमानमा खाद्यान्न भरेर पठाउन लागिएको जानकारी दिएको थियो । खाडीका छिमेकी मुलुकहरूले कतारसँग स्थल, जल र हवाई सम्पर्क विच्छेद गरेपछि अब कतार इरान र टर्कीमा आश्रित हुन पुगेको छ । गर्मीमा अत्यधिक गर्मी हुने र खाद्यान्नमा पूरै परनिर्भर रहेका कारण कतारमा बाहिरबाट नलग्ने हो भने हातमुख जोर्ने समस्या पैदा हुन्छ ।
इरान एयरका प्रवक्ता शाहरोख नुशराबादीले शनिबार भनेका थिए, ‘‘अहिलेसम्म काँचो खाद्य सामग्री जस्तै ः फल र तरकारीहरू लिएर पाँचवटा विमान कतार पठाइएका छन् ।’’ आइतबार इरानले छैटौं विमानसमेत कतार पठाएको समाचारमा उल्लेख छ । हरेक विमानमा ९० टन सामान राखिएको थियो ।
प्रवक्ताले भनेका छन्, ‘‘जहिलेसम्म माग रहन्छ, हामीले आपूर्ति गरिरहन्छौं ।’’ यद्यपि यो सामान इरानले मानवीय सहायताका रूपमा पठाएको हो या कतारले आयात गरेको हो भन्ने कुरा अझै स्पष्ट भएको छैन । तस्रिम समाचार समितिले स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै इरानी बन्दरगाहबाट ३५० टन खाद्यान्नसहित तीनवटा पानीजहाजहरू कतारतर्फ जान लागेको जनाएको छ । इरानको दय्यार बन्दरगाह कतारबाट सबैभन्दा नजिक पर्छ ।
तर इरान र टर्कीबाट ल्याउने भनिए पनि यो कुरा सजिलो चाहिँ छैन । साउदी अरबबाट ल्याउँदा कतारमा दैनिक उपभोग्य सामग्रीको भाउ केही सस्तो थियो तर अन्यत्रबाट ल्याउँदा भाउ महँगो हुन लागेको छ । यसले गर्दा त्यहाँ काम गर्न गएका नेपालीहरूले कमाएको पैसा उतै ठिक्क हुने अवस्था आउने जस्तो देखिन्छ । यसले त्यहाँ काम गर्ने नेपाली निरुत्साहित हुन सक्छन्