धरान/ २०१७ सालमा नेपालमा भएको पहिलो स्थानीय निर्वाचनदेखि वामपन्थीहरुले एकछत्र विजय हासिल गर्दै आएको धरानमा यसपटक पनि वामहरुकै बर्चस्व देखिएको छ । यसपटक उपमहानगरपालिकाको मेयरमा तारा सुब्बा र उपमेयरमा मञ्जु भण्डारीले जितेकी छिन् । एकपटकमात्र २०६४ सालको निर्वाचनमा नेकपा माओवादीका किरणकुमार राईले जितेका थिए । एकपटक माओवादी केन्द्र (यसअघि नेकपा एमाओवादी) ले जितेको धरानमा यसपटक पनि एमालेले जितेको छ ।

सधैं राज्यको मूलधारभन्दा अलग भएर राजनीति गर्ने विद्रोही स्वभावका धराने जनताले यसपालि कसलाई धरान उपमहानगरपालिकाको जिम्मेवारी दिने हुन् भन्ने विशेष चासोको विषय थियो । धरानमा भएको पहिलो चुनाव २०१७ साल कार्तिक ७ गते नेता केदारनाथ खनालबाट वामपन्थी नेताहरुले जित्ने परम्परा बस्न थालेको हो ।त्यसपछि पनि पञ्चायतकालभरी पनि सूर्यप्रसाद उपाध्याय, गोविन्द मोक्तान, कृष्णकुमार राई, वम देवान जस्ता वाम विचार राख्नेहरुले जितेका थिए । त्यसपछि देशमा बहुदल आएपछि २०४९ मा भएको पहिलो स्थानीय निर्वाचनमा ध्यानबहादुर राईले नगरप्रमुख जितेका थिए भने २०५४ मा भएको दोस्रो स्थानीय निर्वाचनमामा मनोजकुमार मेयाङ्बोले एमालेबाट धरानको मेयरमा विजय हासिल गरेका थिए । यसैगरी संसदीय चुनावमा समेत कम्युनिष्ट आन्दोलनका भीष्मपितामह स्व.मनमोहन अधिकारीले जितेको क्षेत्र हो ।

एमालेकै लिला श्रेष्ठ सुव्वा र कुन्ता शर्माले धरानबाट संसदमा चुनाव जितेका हुन् । दोस्रो संविधानसभा चुनाव २०७० मा एमालेका कृष्णकुमार राईले चुनाव जितेका थिए । यतिका पटक सबैले चुनाव जितेपनि फुलमन्त्री बन्नबाट भने सबै बञ्चित छन् तर पनि रचनात्मक कामका लागि धरान सबै क्षेत्रमा नमूना बन्दै आएको छ ।१२ जना प्रमुखका उम्मेद्वार खडा भएको यस उपमहानगरमा नेकपा एमालेबाट तारा सुब्बा, नेपाली कांग्रेसबाट तिलक राई, नेकपा माओवादी केन्द्रलगायतका ९ वटा साना दलका गठबन्धनका साझा उम्मेदवारको रुपमा आइन्द्रविक्रम बेघा चुनावी मैदानमा उत्रिएका छन् । यसबाहेक गणतान्त्रिक मोर्चावाट दावा शेर्पा, नयाँशक्ति नेपालका रविन लामा गोले, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट तारा शाक्य, राष्ट्रिय जनमोर्चाबाट कमला तामाङ खड्का र स्वतन्त्रबाट भीमबहादुर क्षेत्री, भीम चाम्लिड राई, तीर्थबहादुर तामाड, कृष्ण उदास र कृष्ण नारायण पालिखेले प्रमुखमा उम्मेदवारी दिएका थिए ।निर्वाचन अधिकृतको कार्यालयले सोमबार राति धरानको मेयरमा एमालेका तारा सुब्बा र उपमेयरमा मञ्जु भण्डारी सुवेदीलाई विजयी घोषणा गरेको हो ।

उपमहानगरपालिकाको मेयर र उपमेयरमा नेकपा एमालेका तारा सुब्बा र मञ्जु भण्डारीेले नेपाली कांग्रेसका उम्मेदवारलाई फराकिलो मत अन्तरले हराउँदै विजयी भएका हुन् । अन्तिम परिणाम अनुसार मेयर सुब्बाले २१०७६ र उपमेयर भण्डारीले २१३२९ मत ल्याई विजयी भइन् । नेपाली कांग्रेसका नेपाली कांग्रेसका मेयरका उम्मेदवार तिलक राईलाई ४ हजार ९ सय ७५ मत अन्तरले हराउँदै सुब्बाले धरानको मेयरमा जितेका हुन् भने कांग्रेसकै उपमेयरकी उम्मेदवार श्यामा रेग्मीलाई ६ हजार २ सय ४४ मत अन्तरले हराउँदै भण्डारी उपमेयरमा विजयी भइन् ।मेयर सुब्बाले २० हजार ९ सय ७५, उपमेयर भण्डारीले २१ हजार २ सय ५६ मत प्राप्त गरेकी थिइन् । मेयरका निकटतम प्रतिद्वन्द्वी काङ्ग्रेसका तिलक राईले १६ हजार १ सय २, उपमेयरकी निकटतम प्रतिद्वन्द्वी काङ्ग्रेसकै श्यामा रेग्मीले १४ हजार ९ सय १७ मत प्राप्त गरेकी छन् । नौवटा दलीय गठबन्धन गरेको माओवादी केन्द्रले भने धरानमा तेस्रो स्थानमा चित्त बुझाउनुपरेको छ ।

गठबन्धनका तर्फबाट माओवादी केन्द्रका मेयरका उम्मेदवार अइन्द्रविक्रम बेघाले ११ हजार १ सय ८० मत प्राप्त गरे भने गठबन्धनबाट उपमेयरका उम्मेदवार सङ्घीय समाजवादी फोरमका पारस काङमाङ राईले ५ हजार १ सय ८१ मत प्राप्त गरेका छन् ।२०४६ पछि भएका प्रायः सबै स्थानीय र राष्ट्रिय निर्वाचनमा धरानमा एमालेले जित्दै आएको जिल्ला सदस्य मुरारी सुवेदी बताउँछन् ।

प्रष्ट विचार राख्ने युवा नेता एवं मेयर सुब्बाले धरानलाई शैक्षिक तथा पर्यटकीय हव बनाउने साथै सुरक्षित र सुविधा सम्पन्न शहरको रुपमा विकास गर्ने प्रतिवद्धता जनाइसकेका छन् । सुकुम्बासी समस्या समाधान, धरान बसपार्क, धरानमा विमानस्थल बनाउने नारालाई पनि उनले अघि सारेका थिए । उनले सबै दलहरुसँग हातेमालो गर्दै अघि बढ्ने पनि बताएका छन् । ‘दलगत स्वार्थभन्दा माथि उठेर काम गर्नेछु’, उनले भने, ‘अन्य दलहरुलाई पनि साथ लिएर अघि बढ्छु ।’

 २० वटा वडा रहेको धरानमा उपमहानगरमा एमाले १४ वटा र कांग्रेसले ५ वटा र माओवादी केन्द्रले १ वटा जितेको छ । वडा न. ३, ४, ६, ७, ८, ९, १०, ११, १२, १३, १५, १६, १९ र २० एमालेले जितेको छ । त्यस्तै कांग्रेसले १, २, ५, १४ र १८ जितेको छ भने तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले १७ वडा जितेको छ । जनगणना २०६८ अनुसार सवैभन्दा धेरै संख्या भएको पाच जातीय समुदायहरुमा क्रमशः राई (२८५३६) खसआर्य(२४४५६) लिम्वु (१६०६१) नेवार( १५२३७) र तामाड (१०००३) रहेका छन् । जनगणना २०६८ अनुसार धरानको जनसख्या १ लाख ३७ हजार ७ सय ५ रहेको छ । को हुन् सुब्बा ? विद्यार्थी आन्दोलनबाट राजनीति सुरु गरेका सुब्बा युवा आन्दोलनको नेतृत्व गर्दै अघि बढेका हुन् । जनप्रतिनिधिका रुपमा लामो समय काम गरेका उनी तेह्रथुमको खाम्लालुङमा २०२३ साल माघ १८ गते जन्मिएका हुन् । उनले ०३७ सालमा धरानको शिक्षा निकेतन हाइस्कुलमा भर्ना भएपछि अनेरास्ववियु पाँचौबाट राजनीतिक जीवन शुरु गरे  । ०४६ को जनआन्दोलनमा धरानको भानुचोकबाट पक्राउ परी केही दिन प्रहरी हिरासतमा समेत परेका थिए । २०४७ सालमा प्रजातान्त्रिक राष्ट्रिय युवा संघ (हालको युवा संघ) सुनसरीको स्थापना गरी दुई कार्यकालसम्म उनले जिल्ला अध्यक्षको जिम्मेवारी निर्वाह गरे । ०५४ को स्थानीय निर्वाचनमा धरान १७ बाट वडा सदस्यमा निर्वाचित भई उनले जिल्ला विकास समितिमा इलाका नं. २ को सदस्य रहे । यस्तै, एमालेका तर्फबाट धरान उपमहानगरपालिकाको अध्यक्ष समेत उनै हुन् । मेयर ५१ वर्षीय सुब्बा एमाले धरान उपमहानगर कमिटी अध्यक्ष हुन् । पार्टीको नगर कमिटि सदस्य उपसचिव, कार्यवाहक सचिव र सचिव हुँदै पार्टीमा बहुपदीय प्रणाली शुरु भएपछि पनि सुब्बाले तेस्रो पटक अध्यक्षको जिम्मेवारीमा छन् । यसअघि उनी २०५४ सालको स्थानीय चुनावमा वडा नम्बर १७ मा वडा सदस्यमा चुनिँदै जिल्ला विकास समिति सुनसरीमा इलाका नम्बर २ बाट जिविस सदस्य पनि भएका थिए । उनी पार्टीमा माधव नेपाल पक्षका मानिन्छन् । को हुन भण्डारी (सुवेदी) ? मञ्जु भण्डारी महिलामाझ परिचित नाम हो । लामो समय अनेरास्ववियुमार्फत विद्यार्थी आन्दोलनमा होमिएकी अखिलकी पूर्वकेन्द्रीय सदस्य भण्डारी २०५३ सालदेखि पार्टी र संगठनका काममा सक्रिय छिन् । धरान १५ आडा लाइन निवासी उनको जन्म २०३९ साउन २ गते इटहरी– ८ मा भएको हो । सुनसरीका एमाले नेता मुरारी सुवेदीसँग ०६४ सालमा जनवादी विवाह भएपछि उनी धरानवासी भएकी हुन्  । स्नातक तहसम्मको शिक्षा हासिल गरेकी उनले ०५३ सालमा कक्षा ८ मा अध्ययन गर्दा जनता मावि इटहरीमा अनेरास्वियुको प्राक सदस्यबाट सांगठनिक जीवन शुरु गरेकी हुन् । संगठनका जिल्ला, अञ्चल कमिटी हुँदै उनी दुई कार्यकाल केन्द्रीय सदस्य भइन् । उनले २०५८ सालमा पार्टीको संगठित सदस्यता प्राप्त गरेको हो । दुई कार्यकालसम्म पार्टीको जिल्ला कमिटी सदस्य पनि रहिन् । समाजका हरेक क्षेत्रमा प्रभावकारी महिला सहभागिता र विकास अभियानमा महिलाको निर्णायकत्व स्थापित गर्ने लक्ष्य रहेको उनले सुनाइन् । उपमेयर भण्डारी एमाले जिल्ला कमिटि सदस्य हुन् । विद्यार्थी राजनीतिबाट भुगोलमा आएकी उनी ओली पक्षका मानिन्छन् । महिला सञ्जाल धरानकी सहसचिव समेत रहेकी भण्डारी महिलाहरु माझमा राम्रो छवि बनाएकी नेतृ हुन् । निर्वाचनमा निर्वाचित जनप्रतिनिधिहरु १ नं. रोशन अधिकारी (नेपाली कांगे्रस) २ नं. माधवगोेबिन्द श्रेष्ठ (नेपाली काङ्ग्रेस ) ३ नं. आशा श्रेष्ठ (एमाले) ४ नं. मानबहादुर राई) (एमाले) ५ नं. सन्तोश लिम्बु (काङ्ग्रेस ) ६ नं. भुवन बस्नेत (एमाले) ७ नं. भुवनराज मोक्त्तान (एमाले) ८ नं. रुद्रबहादुर लिम्बू (एमाले) ९ नं. रत्न कटुवाल (एमाले) १० नं.श्री प्रसाद सुब्बा (एमाले) ११ नं. बाबुलाल लामा १२ नं.टंक राई (एमाले) १३ नं.नेत्र काफ्ले (एमाले) १४ नं.कृष्ण भटृराइ (काङ्ग्रेस) १५ नं. नरेश ईबारम एमाले १६ नं. दिल कुमार गिरी एमाले १७ नं. मनोज भट्टराई (माके) १८ नं.नरेन्द्रकुमार (प्रवीण राई) (काङ्ग्रेस) १९ नं.पुर्ण लिम्बू (एमाले) २०. नं. मणिराम राई (एमाले)