धरान/ सरकारी स्वामित्वमा रहेको नेपाल बैंक लिमिटेडको धरानस्थित शाखा कार्यालयमा करोडौं रुपैयाँ धितोभन्दा बढी लगानी गरेको भेटिएपछि बैंकको केन्द्रीय कार्यालयले छानविन थालेको छ ।
बैंकले ‘गोल्ड लोन’ शीर्षकमा दिएको ऋणमा समस्या भेटिएको बैंक स्रोतले जानकारी गराएको छ । स्रोतका अनुसार यसअघि धरानकै सेन्चुरी बैंकको शाखा कार्यालयमा देखिएको गोल्ड लोन प्रकरणमा संलग्न व्यवसायीहरुकै संलग्नतामा नेपाल बैंक लिमिटेडमासमेत त्यस्तै प्रकृतिको कारोबार गरेको भेटिएको हो ।
बैंकमा कार्यरत पुराना कर्मचारी धरान–१६ का होम भट्टराई (क्यासियर) को सहयोग र मिलेमतोमा सेन्चुरी बैंक घोटालामा संलग्न मानिएका धरानका केही सुन व्यवसायीहरुले धितोभन्दा कयौं गुणा बढी ऋण निकालेको बैंक स्रोतले जानकारी दिएको छ ।
लामो समयदेखि भट्टराईको सहयोगमा धितोभन्दा बढी ऋण निकाल्न सक्रिय धरानका केही सुन व्यवसायीहरुको पोल त्यतिबेला खुलेको थियो, जतिबेला बैंकमा नयाँ प्रबन्धकका रुपमा करिब ६ महिनाअघि बाबुराम कोइरालाले प्रवेश गरेका थिए । बैंकको केन्द्रीय कार्यालयको नियमित अनुगमनका क्रममा सेन्चुरी बैंक घोटालामा संलग्न मानिएका धरानका सुन व्यवसायीहरु ज्ञानेन्द्र पुर्कुटी र सञ्जय राईलगायतलाई दिइएको ऋणमा समस्या देखिएपछि बैंकमा भएको घोटाला प्रकरण बाहिरिएको हो ।
बैंकिङ भाषामा लोनमा देखिएको समस्यालाई ‘सट फल्ट’ भनिन्छ, जसको मतलव धितोभन्दा बढी ऋण प्रवाह गरेको भन्ने बुझिन्छ । नेपाल बैंकको धरान शाखामा देखिएको सट फल्टमा मुख्य दोषी ठानिएका क्यासियर होम भट्टराईमाथि आन्तरिक कारबाही थालिएको र सट फल्टमा संलग्न व्यवसायीहरुका हकमा भने उनीहरुको चल–अचल सम्पत्ति रोक्का गरी ऋण मिलानको प्रक्रिया अगाडि बढाइएको बैंक स्रोतले बताएको छ ।
घटनाका विषयमा नेपाल बैंकको धरान शाखाका प्रमुख बाबुराम कोइरालासँग जिज्ञासा राख्दा उनले आफूलाई केही पनि थाहा नभएको र त्यो विषयमा आफू केही पनि बोल्न नसक्ने बताएका छन् । उनले बैंकको केन्द्रीय कार्यालयको नियमित अनुगमनको प्रतिवेदन आइनसकेकोले आफूले केही पनि बताउन नसक्ने उल्लेख गरे । तर बैंक स्रोतले भने सट फल्टमा संलग्न रहेको भेटिएपछि क्यासियर भट्टराईलाई आन्तरिक कारबाही गरिएको र छानविन अघि बढाइएको जिकिर गरेको छ ।
बैंकका शाखा प्रबन्धक कोइरालासँग भट्टराईका विषयमा जिज्ञासा राख्दा उनले भट्टराई हाल बिदामा रहेको भन्दै उनीमाथि भइरहेको छानविन लुकाउने कोशिस गरे । भट्टराईले केही समयअघि ऋण निकाल्नेहरुलाई भेटेर ऋणमा समस्या देखिएको विषयमा बैंकको केन्द्रीय कार्यालयले छानविन गर्ने भएकोले तत्काल ऋण मिलान गरिदिन आग्रह गरेको सो समयमा उपस्थित एक प्रत्यक्षदर्शीले जानकारी गराएका छन् ।
भट्टराई बैंकमा नभेटिएपछि उनलाई भेट्न उनकै निवासमा पुग्दासमेत उनी भेटिएनन् । निवासमा रहेकी उनकी श्रीमतीले बैंकमा देखिएको समस्या मिलान भइसकेको भन्दै यो विषयमा नलेखिदिन आग्रह गरेकी थिइन् । फोन सम्पर्कमा भेटिएका भट्टराईले पनि ऋणमा समस्या देखिएको स्वीकार गर्दै भने –‘केही समस्या देखिएको थियो, त्यो मिलान भइसकेको छ, बाँकी मलाई केही पनि थाहा छैन ।’
धितोभन्दा बढी ऋण निकाल्ने काममा संलग्न धरानका सुन व्यवसायी ज्ञानेन्द्र पुर्कुटीको भने कथा भिन्न छ । उनीसँग घटनाका विषयमा सम्पर्क गरेर जानकारी लिन अगावै उनले उनीसँग निकट एकजना नाम चलेका सञ्चारकर्मी प्रयोग गरेर समाचार रोक्न दबाव दिएका थिए । दबाव आएलगत्तै फोन सम्पर्कमा आएका पुर्कुटीले यो विषयमा नलेखिदिन आग्रह गरे । उनले आफ्नो नेपाल बैंकको धरान शाखा कार्यालयमा कारोबार रहेको स्वीकार गरे तर सट फल्टका विषयमा भने केही पनि बताउन चाहेनन् ।
त्यसैगरी अर्का व्यवसायी सञ्जय राईसँग सम्पर्क गर्दा आफ्नो कारोबार रहेको तर सट फल्टमा आफू संलग्न नरहेको जिकिर गरे । उनले भने –‘मेरो कारोबार थियो तर मेरो कारोबारमा समस्या छैन ।’ तर बैंक स्रोतले भने सञ्जय राईको कारोबारमासमेत सट फल्टको समस्या देखिएको दाबी गरेको छ ।
केन्द्रीय कार्यालयले धरानस्थित शाखा कार्यालयमा भएको गोलमालको विषयमा गरिरहेको छानविनका सम्बन्धमा जिज्ञासा राख्न बैंकको केन्द्रीय कार्यालयको ०१–४२४७९९९–९ नम्बरको फोनमा दिनभर प्रयास गर्दा पनि सफल हुन सकेन ।