इटहरी/ २०२५ साल तिरको कुरा हो । रतनबहादुर थापा भारतीय सेनाको जागिरमा थिए । बिदाका बेला उनी घर फर्किए । भोजपुरको घरमा बिदा सकाएर सेनाको जागरिमा फर्कने क्रममा उनी जोगबनी आइपुगे । त्यो बेला बिराटनगर जुटमिल मज्जाले चलेको थियो । त्यहाँ काम गर्ने मजदुरको ज्याला भारतीय सेनाको जागिर भन्दा आर्कषक थियो । क्वाटर सुबिधा, मजदुर खान्की मात्रै होइन सरसफाइका लागि चाहिने सावुन र सरफ समेत उद्योगले नै दिन्थ्यो ।
मजदुर र मजदुरका परिवारको स्वास्थ्य उपचारका लागि उद्योगले डाक्टरको व्यबस्था गरेको थियो । छोरा छोरीका शिक्षाका लागि समेत उद्योगले राम्रो प्रवन्ध थियो । आफन्तले यति राम्रो नोकरी यतै छ किन जान्छस सेनमा भनेपछि उनले विराटनगर जुट मिलमा काम थाले ।
२० बर्ष विराटनगर जुटमिलमा मजदुरी गरेका थापा सम्झन्छन्,‘ त्यस्तो राम्रो उद्योग कसरी यस्तो भयो ?’नाफामा रहेको उद्योगले तलब नै खुवाउन नसकेपछि जागिर छाडेको उनले बताए । उनले भने –‘मैले विराटनगर जुटमिलमा जागरि खाँदा कसैले भन्सारमा जागिर खान्छस् भन्दा मान्छेहरु खान्न भन्थे । त्यो बेला विराटनगर जुटमिलको जागिर भन्सारको भन्दा आर्कषक थियो ।’
बिक्रम सम्वत १९९३ सालमा भारतीय उद्दोगी राधाकृष्ण चिमोडीयाको सक्रियतामा उद्योग खुलेको हो । त्यो बेला नेपालमा उद्दोग नभएकाले सरकारले चिमोडियाको प्रस्ताव स्वीकार गर्दै केहि प्रतिसत सेयर समेत सरकारले लिएको थियो । उद्दोगमा राजपरिवारका नजिकका केहि मानिसहरुको समेत सेयर रहेको मानिन्छ ।
देशकै ठूलो र जेठो उद्दोग खुलेपछि यो उद्दोगलाई देशकै गौरबका रुपमा हेरिने गरेको थियो । थापा सम्झन्छन् –‘विराटनगर जुटमिलमा काम गर्छु भन्दा शान नै अर्कै हुन्थ्यो । विराटनगर जुटमलिमा काम गरेर नै जग्गा र घर घढेरी जोडेका थापालाई उद्दोग बन्द भएकोमा चिन्ता छ । उद्दोग अढाई बर्षदेखि पूर्ण रुपमा बन्द छ । यस अघि पनि पटक पटक उद्दोग बन्द हुँदै सञ्चालन हूँदै आएको थियो ।