तेह्रथुम/ जिल्लाका दुई दर्जन सडक लगातारको वर्षाका कारण एक महिना देखि अवरुद्ध भएका छन् । ६ स्थानीय तह र ४३ बडा रहेको जिल्लाका ३० बढि वडाको मोटर बाटोमा वर्षाले क्षति पुर्याए पछि यी वडाको सडक अवरुद्ध भएका हुन् ।
निर्माण भैसकेका र निर्माणाधिन सवै सडक वर्षाले बगाएर र बाढीले खोलेर ठुलठुला खाडल वनाए पछि ट्याक्टर समेत संचालन हुन सकेका छैनन् । गाउँका सडकमा एम्बुलेन्स जान नसक्दा विरामीलाई समस्या भएको छ । हिउदको समयमा वर्षौ लगाएर खनेको सडक वर्षाले बगाए पछि गाउँका बासिन्दा वर्षादको समयमा सास्ती व्यहोर्न वाध्य भएका छन् ।
वर्षै पिच्छे काम नलाग्ने गरी सडक भत्कीने गरेकाले सवारी आवागमनमा समस्या भएको पूर्व जिविस सभापति किशोरचन्द्र दुलालले बताए । वर्षाको पानीले सडक हिलाम्मे भएकाले जिल्लाका ३० वढि वडाका सडकमा एकै पटक सवारी आवागमन ठप्प भएको छ ।
वर्षाको भेलले बगाएका यी सडकहरुमा चालु आवमा मात्रै करोडौं रुपैंया खर्च भएको छ । वातावरणीय प्रभाव अनुगमन मुल्याकन नै नगरी नियम विपरीत डोजर र स्काभेटर लगाएर गाउँ गाउँमा खनिएका धेरै सडकहरु पहिरोमा परीणत भएका छन् ।
खनिसकिएका सडकमा सवारी साधन गुढ्नु पर्नेमा यतीबेला वर्षाको भेल कुदीरहेको छ । उपभोक्ता समितिले विना सर्भेक्षण निर्माण गरेका अधिकांस यस्ता सडकमा असार महिना शुरु भए संगै ढुंगा मुढा र खहरे भेल मात्र कुदीरहेको छ । प्राविधिक सर्भेक्षण विना गाउँमा खनिएका ग्रामिण र कृषि सडकको अवस्था झन् विजोग भएको छ ।
गाउँमा कसले पहिला मोटर बाटो पुर्याउने भन्ने होडवाजीका साथ खनिएका सडक पहिरोमा परीणत भएको छ । गाउँमा खनिएका यी नै मोटर बाटोमा वर्षाको भेल पसेर धेरै किसानको खेतवारी बगाईरहेको छ । वर्षाको समयमा सडकले किसानलाई फाईदा होईन, वेफाईदा बढि पुर्याएको किसानहरु बताउछन् । गाउँका सडक हिलाम्मे भएसगै दुध बाेक्ने गाडि समेत समयमै आउने गरेका छैनन् ।
स्थानीय विकास मन्त्रालयले जारी गरेको ‘जिल्ला विकास समिति र गाउँ विकास समिति अनुदान सञ्चालन कार्यविधि २०६७’ मा नयाँ सडकको ट्रयाक खोल्ने कार्यलाई कम प्राथमिकता दिई भैरहेका सडकलाई बाह्रै महिना संचालन हुने गरी मर्मत संभार गर्नुपर्ने व्यवस्था गरेको छ ।
सोही कार्यविधिमा सडक निर्माण कार्यमा ठूला मेशिनरी उपकरणको प्रयोग गर्न समेत प्रतिवन्ध लगाईएको छ । तर उपभोक्ता समिति र ठेकेदारले कार्यविधि विपरीत जस्तोसुकै जमिनमा पनि डोजर लगाएर सडक निर्माण गर्दा वातावरण संरक्षण ऐन, २०५३ र वातावरण संरक्षण नियमावली, २०५४ को समेत ठाडो उल्लघन भएको पाईएको छ ।
५ वर्ष अघि खनिएका सडकमा समेत वर्षै पिच्छे मर्मत संभारको नाममा करोडौं रुपैंया खर्च भैरहेको जिल्ला समन्वयन समितिले जनाएको छ । मोटो रकम खर्च गरेर मर्मत गरीएका सडक वर्षाको भेलले प्रत्येक वर्ष बगाउने गरेकाले वर्षेनी मर्मत संभारको नाममा लाखौ रुपैंया राज्यकोषको स्वाहा भैरहेको छ । तर सडकको अवस्था भने उस्ताको उस्तै । गाउँ गाउँमा खनिएका यस्ता सडकमा हिलो उठेकाले गाउँलेलाई पैदल हिड्न समेत अर्ठ्यारो भएको स्थानीय बासीको भनाई छ । एक दशक अघि देखी निर्माण थालिएको सिंधुवा शुक्रबारे ९ किलोमिटर कृषि सडक समेत हिलोकै कारण अवरुद्ध छ । वर्षाले यो सडक खण्डको २० बढि स्थानमा खाडल परेर हिलो उठेको शुक्रवारे बजार व्यवस्थापन समितिका सचिव धाम बहादुर कार्कीले बताए ।
अघिल्ला वर्षहरुमा आर्थिक वर्षको अन्त्यमा धमाधम डोजर लगाएर खनिएका जिल्लाका धेरै सडक पहिरोको जोखिममा छन् । हतारमा गरिएको काम गुणस्तरीय नहुने भएकाले भर्खर निर्माण गरिएको सडकमा बढि क्षति पुगेको उपभोक्ताको भनाई छ । कृषि सडकको नाम दिएर खनीएको जिरिखिम्ती मोराहाङ सम्दु सडकको पनि हालत उस्तै छ ।
यता लसुने मगलबारेमा त जेष्ठ महिना देखी ट्याक्टरनै कुद्न सकेका छैनन । करोडौं रुपैंया लगानी भएको यो सडकमा हिलो उठेर सवारी आवागमन ठप्प छ । गाउँलेहरु हिलो सडकमा एक दिनको पैदल हिडेर खाद्यन्न लगायत दैनिक उपभोग्य वस्तु ओसार पसार गरीरहेका श्रीजुङ्ग निवासी रुप बहादुर लिम्बु बताउछन् । मर्मत संभार नगरे जिल्लाका कुनै पनि सडक संचालन हुने अवस्थामा नरहेको रेडक्रसका सभापती भुपतीलाल श्रेष्ठले बताए । २१ करोड रुपैंयाको लागतमा निर्माण सम्पन्न भएको भनिएको ६७ किलोमिटर म्याङलङ्गु संक्रान्ती हरीत सडकको हालत पनि उस्तै छ । ग्रामिण पहुंच कार्यक्रम (र्याप) ले बनाईदिएको यो सडकमा बर्खा लाग्ना साथ सवारी चल्दैनन् ।