शनिश्चरे/वन कार्यालयले मातहतको कार्यालय खडा गरेर कर्मचारी सक्रिय बनाएको भनेपनि दक्षिणी इलामको चुरे क्षेत्रबाट काठ तस्करीको क्रम रोकिएको छैन ।चुलाचुलीबाट झापाको दमकहुँदै दक्षिणतर्फ वर्षौंदेखि हुँदै आएको तस्करी अझै पनि उसैगरी जारी रहेको छ ।
जिल्ला वन कार्यालय इलामले चुरे क्षेत्रको काठ तस्करी नियन्त्रणका लागि भन्दै इलाम र झापाको सीमानमा पर्ने चुलाचुली २ स्थित बह्रकोठे भन्ने स्थान इलाका वन कार्यालयको स्थापना गरिएको छ ।
तर, पनि वन कार्यालयको आँखा छलेर अझै पनि चोरी निकासी भइरहेको छ ।रात पर्नासाथ काठ तस्करहरुले स्थानीयलाई परिचालन गर्दै साइकलमा काठ झार्ने गरेको स्थानीयले बताएका छन् । इलाका वन कार्यालय चुलाचुलीका प्रमुख सहायक वन अधिकृत गंगाप्रसाद महतोले समेत काठको चोरी निकासीमा संगठित समूह नै रहेको अवस्था दर्शाए । विशेष गरेर चुरे क्षेत्रको महमाईबाट मुख्य रुपमा सखुवाको काठ तस्करी भएर तस्करहरुले दमकसम्म ल्याउने गरेको उनले यथार्थ प्रस्तुत गरे ।
महमाईबाट कन्काई नदीमा काठ बगाएर ल्याउँदै तस्करी हुने गरेको पाइएको छ । कर्मचारीको संख्या केही थप भएपनि आफुहरु गस्तीमा निस्किनु अघि नै काठ तस्करहरुलाई थाहा हुने भएकाले तस्कारीको जालो चिर्न स्थानीयवासीको महत्वपूर्ण भूमिका हुने उनले बताए । ‘पहिलेको ५ जना कर्मचारीको ठाउँमा अहिले १५ जना छौं । तर क्षेत्रफल नै धेरै र संगठित रुपमा तस्करी गर्ने संजाल भएकाले हाम्रो बुताले मात्र भ्याएको छैन । स्थानीयले हामीलाई साथ दिनुपर्छ ।’– उनले भने । चुरे क्षेत्रको माईपश्चिमदेखि मावा पूर्वको उत्तरी क्षेत्र हेर्नु पर्ने भएकाले एकातिर गस्ती गरेको थाहा पाएपछि अर्काेतिरबाट चोरी हुने गरेको उनले सुनाए ।इलामको सीमा क्षेत्रमा पर्ने रतुवामाई बृक्षारोपण परियोजना क्षेत्रको तस्करी अझ बढी खुलेआम हुने गरेको देखिन्छ ।
उत्तरी क्षेत्रबाट ल्याइएको काठ दमक, रतुवामाई, कन्काई, विर्तामोडसम्मका काठ मिलमा पुग्ने गरेका छन् । त्यस अलावा दक्षिणतर्फ भारत क्षेत्रसम्म पनि काठ पुग्ने गरेको स्थानीयले बताउँदै आएका छन् ।चुलाचुली वन कार्यालयले गत वर्ष तस्करहरुबाट करिब १२ लाख रुपैयाँको काठ बरामद गरेको थियो । यस वर्ष १२ सय क्युविक फिट काठ बरामद गरिएको कार्यालयमा विवरण छ ।काठ बोक्न प्रयोग गरिएका २ सय थान बढी साइकलसमेत बरामद गरिएको छ । यस वर्ष मात्र २५ जनाविरुद्ध वन मुद्धा दर्ता गरिएकोमध्ये ५ जना अभियुक्त फरार रहेका छन् ।