इटहरी/मोरङको सुन्दर हरैचा नगरपालिका– ५ स्थित फोकल्याण्ड टापुका वासिन्दामा लेप्टोस्पाइरोसिस नामक जिवाणू फैलिएको पुष्टी भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौं गरिएको परिक्षणमा सो जिवाणू फेला परेको हो ।

केही दिन अघि फोकल्याण्ड टापुमा ज्वरोको कारण दुई जनाको ज्यान जानुका साथै प्रायः वस्तीवासी विरामी भए पछि जिल्ला जन स्वास्थ्य कार्यालय मोरङले रोगको पहिचानको लागि रगतको जाँच गराएको थियो ।

ज्वरोको कारण बढी मात्रामा बालबालिका प्रभावित थिए । ज्वरोकै कारण दुई जना बालबालिकाको मृत्यू भएको समाचार प्रकासन प्रशारण भए पछि जिल्ला जन स्वास्थ्य कार्यालय मोरङ, नोवेल मेडिकल कलेज विराटनगर र वी पी प्रतिष्ठान धरानबाट स्वास्थ्य टोली आएर सबैको चेक जाँच गरेको थियो ।

जिल्ला जन स्वास्थ्य कार्यालय मोरङका सूचना अधिकारी एवम् प्रकोप व्यवस्थापन फोकल पर्सन खेम सिवाकोटीले ६ जनाको रगत परिक्षण गर्दा २ जनाको रगतमा सो जिवाणू देखिएको बताए । सन् २००६ देखि ०१५ सम्म मभारतको उडिसामा यस्तो संक्रमण देखिएको थियो । यो जिवाणु जनावारबाट मान्छेमा सर्ने गर्दछ । रिकेसिया समुहको यो जीवाणुबाट ५ देखि १५ माइक्रन लम्वाईको हुने सिवाकोटीले बताए । जिल्ला जन स्वास्थ्य कार्यालय मोरङले आइतबार सो वस्तीमा चेतनामुलक कार्यक्रम आयोजना गरेको छ । यो जिवाणू जंगलमा हुने र खोला बाढीले बगाएर ल्याउँछ वा मुसा मार्फत अन्य जनावरमा सर्ने गर्दछ । जन स्वास्थ्य कार्यालय कार्यालय मोरङले वस्तीवासीमा सरसफाई ध्यान दिन आग्रह गरेको छ । ल्याटोस्पारोसि जिवाणु शरिरमा प्रवेश गरे पछि मानिसलाई उच्च ज्वरो आने र कलेजो र मृगौलामा समस्या हुने सुन्दरपुर स्वास्थ्य केन्द्रका प्रमुख रमेश गौतमले बताए ।

ज्वरोको कारण स्थनीय दिलबहादुर राईका १४ बर्षका छोरा विजय राई र निर्मला तामाङकी ५ वर्षीया छोरी सुस्मिता तामाङ्गको मृत्यु भएको थियो । राईको गत असार २९ गते ज्वरोको कारण घरमै मृत्यू थियो ८ गते तामाङको उपचारको क्रममा धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यू भएको थियो । प्रायः गरी बालबालिका र अन्यमा पनि ज्वरो आउने, टाउको दुख्ने र रिँगाटा लाग्ने लक्षण देखिने गरेको समस्या देखिएको थियो ।

इटहरी उपमहानगर पालिकासँगै जोडिएको फोकल्याण्ड टापुमा पिछडिएको वस्ती रहेको छ । त्यहाका वासिन्दा दैनिक मजदुरी गरेर जिविको पार्जन गर्दै आएका छन् । इटहरी–३ सँगै जोडिएको मोरङको फोकल्याण्ड टापुमा जान इटहरी ३ बाटै जानु पर्ने हुन्छ । तामाङ्ग र राईहरुको बसोबास रहेको वस्ती वुढी खोला र मुगु खोलाको बिचमा पर्छ । सो वस्तिमा आइतबार जिल्ला जन स्वास्थ्य कार्यालयले रोगको पहिचान भएको जानकारी रोग लाग्ने र सर्ने कारणका बारेमा जानकारी गराउने स्वास्थ्य केन्द्र प्रमुख गौतमले बताए । कसरी सर्छ रोग ? लेप्टोस्पाइरा जातिको जीवाणुको संक्रमणबाट मुसा, गाईभैँसीजस्ता पशुबाट मानिसमा सर्ने रोग हो लेप्टोस्पाइरोसिस । लेप्टो भनेर चिनिने यो रोग विश्वका धेरै देशमा महामारीका रूपमा देखापर्ने गरेको छ । पशुमा संक्रामक तरिकाले लाग्ने यो रोग मानिसमा समेत सर्न सक्ने हुनाले यसलाई जुनोटिक रोगको सूचीमा राखिएको छ । यो रोगलाई विभिन्न देशमा मड फिवर, क्यानिकोला फिवर, वेल्स डिजिज, हेमोरेजिक जन्डिस, स्वाम्प फिवरजस्ता फरक–फरक नामले चिनिने गरिएको छ । नेपालमा लेप्टो रोगको वस्तुस्थितिबारे खास अध्ययन भएको पाइँदैन । यो रोग संक्रमित मुसा वा छुचुन्द्राको पिसाबबाट वा संक्रमित गाईवस्तुको पिसाबबाट सर्ने गर्दछ । त्यसैले गाईभैँसीको हेरचाह गर्ने वा अन्य अप्रत्यक्ष रूपमा संलग्न हुने व्यक्तिहरू यो रोग सर्ने सम्भावना अत्यधिक रहन्छ । बाढीको प्रकोप भई घर कम्पाउन्ड डुबानमा पर्दा पनि मानिस तथा पशुमा यो रोग फैलन सक्ने स्वास्थ्य चिकित्सकहरुले बताएका छन् । लेप्टो रोगको जीवाणु मानिसको शरीरमा काटिएको घाउचोट, मुख, घाँटी, आँखा आदिबाट शरीरमा सर्न सक्छ । गाईभैँसीको दाना राख्ने भण्डार कक्षमा मुसाले सहज प्रवेश पाउँछ । त्यस्तो स्थानमा दानामा मुसाको पिसाबबाट प्रदूषित हुन गई रोग सर्न सक्छ । रोकथाम गर्ने तरिका लेप्टो रोग नियन्त्रण गर्न सबैभन्दा पहिला मुसालाई नियन्त्रण गर्नुपर्छ । त्यस्तै, खुला हातले जिउँदो या मरेको मुसालाई कहिल्यै छुनुहुँदैन । घाउ, चोटपटक लाग्दा तुरुन्तै साबुनपानीले राम्ररी सफा गर्नुपर्छ । त्यस्तो स्थानमा पानी नछिर्ने गरी पट्टी बाँधेर मात्र अन्य काम गर्नुपर्छ । पशुसम्बन्धी काम गरिसकेपछि, फोहोरमैला छोएपछि साबुनपानीले राम्ररी हात धुनुपर्छ । हात नधोईकन खानेकुरा सेवन गर्नुहुँदैन । प्रदूषित पानी पिउनुहुँदैन । पशुको पिसाब मिसिएको वा मिसिन सक्ने पानीमा, पोखरी वा आहालमा नुहाउनुहुँदैन । रोगविरुद्ध कुकुर तथा गाईभैँसीलाई नियमित खोप लगाउनुपर्छ ।