भ्रुणको डिएनएमा गरिने सामान्य परिवर्तनबाट वंशाणुगत रुपमा लाग्ने रोगबाट जोगिन सकिने वैज्ञानिकले बताएका छन् । वैज्ञानिकले पहिलोपटक एक भ्रुणको डिएनएमा रहेको मुटु सम्बन्धी रोगको वंशाणुगत अवगुण हटाएका छन् । यसबाट वंशाणुगत रुपमा हुने गरेका १० हजार भन्दा बढी समस्या वा रोगबाट छुट्कारा पाउन सकिने ढोका खुलेको छ । अमेरिका तथा दक्षिण कोरियाका वैज्ञानिकको समूहले गरेको अध्ययनमा गम्भीर खालको मुटु सम्बन्धी रोग लाग्न सक्ने अवगुणसहितको डिएनएको अंशमा परिवर्तन गरेका हुन् । अध्ययनको क्रममा वैज्ञानिकले भ्रुणलाई पाँच दिनसम्म बढ्न दिएका थिए । अध्ययनले वंशाणुगत रोगको उपचार तथा निदानका लागि अपनाउन सकिने उपाय तथा बनाउनु पर्ने औषधिका सम्बन्धमा आश थपेको अनुसन्धानमा संलग्न वैज्ञानिकले बताएका छन् । तर नैतिक रुपमा भ्रुणको डिएनएमा गरिने परिवर्तन कत्तिको सहि हो भन्नेमा भने विवाद छ । सन् २०१५ मा सुरु भएको क्रिस्पर भनिने डिएनए एडिटिङ प्रविधिले अब नयाँ सम्भावनाको ढोका खोलेको अनुसन्धानमा संलग्न शौख्राट मितालिपोभले बताए । अमेरिकाको ओरिगन हेल्थ एण्ड साइन्स युनिभर्सिटी तथा साल्क इन्ष्टिच्युट र दक्षिण कोरियाको इन्ष्टिच्युट फर बेसिक साइन्सका वैज्ञानिकको समूहले गरेको अनुसन्धानको प्रतिवेदन नेचर जर्नलमा प्रकाशित भएको छ । वैज्ञानिकले भ्रुणको डिएनएमा रहेको मुटुको चाल तत्काल बन्द हुने खालको रोग (हाइपर्ट्रपिक कार्डिओमायोपथी) को अवगुण हटाएका हुन् । यस्तो रोग हरेक पाँच सयमा एकजनामा पाइने गरेको छ । यस्तो समस्या रहेका व्यक्तिको सन्तानमा यो रोग वंशाणुगत रुपमा सर्ने खतरा ५० प्रतिशतसम्म रहने गरेको छ । हाइपर्ट्रपिक कार्डिओमायोपथी भएका पुरुषको शुक्रकिट स्वस्थ महिलाको डिम्बसँग मिलाएर बनाएको भ्रुणमा डिएनए एडिटिङ गरिएको हो । यस प्रविधिबाट हाइपर्ट्रपिक कार्डिओमायोपथीको समस्या भ्रुममा नरहने सम्भावना भने ७२ प्रतिशत मात्रै रहने अनुसन्धानकर्ताले बताएका छन् ।

उज्यालाेबाट