तेह्रथुम/ वर्षा सँगै सडक हिलाम्मे भए पछि जिल्लाका साविक एक दर्जन बढी गाविसमा खाद्यान्न लगायतका दैनिक उपभोग्य बस्तुको अभाव हुन थालेको छ । वर्षाले सडक हिलाम्मे भएसँगै ठाउँ ठाउँमा माथि बाट पहिरो खसेपछि सडक अवरुद्ध हुँदा सर्वसाधारण यात्रुहरुलाई सास्ती परेको छ भने ढुवानी गर्न नपाएर गाउँका बजार पसल रित्तै छन् ।
सडक अवरुद्ध भएपछि ढुवानी गर्न नपाउँदा व्यवसायमा पुर्ण असर परेको व्यापारीहरुले बताएका छन् । ढुवानी गर्न नपाउँदा पसलमा चामल, नुन, चिउरा, तेल, चाउचाउ लगायतका सामानको अभाव भएको औँशीबजारका होटल सन्चालक चित्र श्रेष्ठले बताए । होटलमा खाने चामल नै नहुँदा आउने ग्राहकहरुलाई फर्काउने अवस्था आएको छ, उनले भने । पसलमा सामान केही नभएपछि छाडेर हिड्नु पर्ने अवस्था सृजना भएको ओयाक्जुङका व्यापारी जीवन भण्डारीले बताए ।
दुःख सुख गरेर ट्याक्टरमै भएपनि ढुवानी गरिदै थियो, सजिलो, छिटो र सस्तो पनि थियो, उनले भने–तर खोरुङ्गा खोलामा पुन नहुदा, खोला बढेर ढुवानी गर्न नपाउँदा समस्या आइपरेको छ । सडक हिलाम्मे हुदाँ मान्छेलाई बोकाउन पहिले जस्तो भारी बोक्ने मान्छे पनि नपाउने गरेको ईसिवुकी व्यापारी जमुना कार्कीले बताइन् । सदरमुकाम देखि पुर्वका साविकका ओयाक्जुङ, जलजले, सिम्ले, सम्दु, ईसिवु, खाम्लालुङ, थोक्लुङ र पश्चिमी गाविसहरु पन्चकन्या, फाक्चामारा, ओख्रे, सुदाप लगायत गाविसहरुमा खाद्यान्न लगायतका दैनिक उपभोग्य बस्तुहरुको अभाव भएको हो ।
दैनिक उपभोग्य बस्तुहरुको अभाव हुन थालेपछि स्थानीय बासिन्दाहरु आफैँ सदरमुकाम बाट सामान खरिद गरेर पिठ्युँमा बोक्न थालेका छन् । बाटो नहुँदा व्यापारीले पाइने सामान पनि लुकाएर पर्ने भन्दा बढी मुल्य लिन थालेको ईसिवुका तुलसी निरौलाले बताए । गाउँका पसलमा ढुवानी गर्न समस्या हुँदा उपभोग्य बस्तुको अभाव सँगै कालोबजारी पनि बढेको छ, उनले भने– सदरमुकाममा १२ रुपैयाँ पर्ने चाउचाउ मात्रै पनि गाउँमा २० रुपैयाँ प्रति गोटा पर्न थालेको छ, चामल नुन लगायत अत्यावश्यक बस्तुहरु त पाउनै पाउदैन ।
असारको तेश्रो हप्ताबाट जिल्लाको पुर्वी व्यापारिक स्थल सक्रान्तिबजारबाट म्याङलुङ जोडिने ६८ किमि सडक पुर्ण रुपमा बन्द छ । दैनिक रुपमा धरान सम्म सिधा सवारी सन्चालन हुने सिधुवा–शुक्रबारे खण्डमा पनि वर्षात्ले क्षति पुर्याए पछि अवरुद्ध छ । सिधुवा शुक्रबारे सडक खण्डको अधिकांश ठाउँमा पहिरो झरेको छ । यस्तै म्याङलुङ मोराहाङ जोड्ने सडक खण्ड पनि वर्षाले क्षतविक्षत् भएको छ । अन्य दर्जनौँ ग्रामीण तथा कृषि सडकहरुमा वर्षाले क्षति पुर्याएपछि यातायात चल्न सक्ने अवस्थाका छैनन् ।
तर ती सडकको मर्मत र पुननिर्माण कसले गर्ने भन्ने समेत अन्योल भइरहँदा छ । बाटो नभएको कारण गाउँमा ढुवानी गर्न पाइएको छैन, अब सडक खुल्दा सम्म बजारमै अभाव हुनसक्छ, ईसिवुका व्यापारी राम कार्कीले भने । सडक विस्तार सँगै मर्मत सम्भार र ढल निकासमा पनि उत्तिकै ध्यान नदिँदा समस्या भएको उनले बताए ।
यता प्रमुख जिल्ला अधिकारी बेदनिधि खनालले भने क्षतिग्रस्त सडकको स्तर हेरेर तत्काल मर्मत गरी उपभोग्य बस्तुको अभाव हुन नदिने बताए । सडकको मर्मत गर्नूपर्ने अवस्था भएको छ, प्रजिअ खनानले भने–तर बजेट अभावका कारण कसले गर्ने भन्ने अन्योल हो । ग्रामीण सडकको मर्मत र संभारमा स्थानीयले ध्यान दिनुपर्ने उनले बताए ।