भद्रपुर । सहायक मेची राजमार्ग जोड्ने झापाको चाराआली, भद्रपुर हुदै केचना सम्मको कालोपत्रे सडक निर्माण कार्यले तिव्रता नपाएपछि स्थानीय जनता फेरी निराश देखिएका छन् । झापाको उत्तर–दक्षिणी क्षेत्रका जनताको चार दशकदेखिको लामो संर्घष र आन्दोलन पश्चात नेपाल सरकारले गत २०७३ असोज दोस्रो साता पहिलो प्याकेजको ठेक्का लगाएको झण्डै एक बर्ष बित्न लाग्दा १० प्रतिशत मात्र काम सम्पन्न भएपछि निरास बनेका हुन् । झापाको दुवागडी, चन्द्रगढी, भद्रपुर, पृथ्वीनगर, बनियानी, केचना, पथरिया, पाठामारी, घेराबारीका स्थानीय जनताको बहुप्रतिक्षित चाराआली–केचना सडक कहिले बन्ला भन्नेमा त्यस क्षेत्रका स्थानीय जनता अझै अन्यौलमा देखिएका छन । समस्यालाइ मध्यनजर गरि तत्कालिन भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले भद्रपुरस्थित झापाचोकमा २०७३ असोज १७ गते शिलान्यास गरेका थिए । उनि शिलान्यस गर्ने तेस्रो भएका थिए । ३ नम्बर क्षेत्रका सांसद कृष्णप्रसाद सिटौला, सांसद जितु गौतम, सडक विभागका कर्मचारी लगायतको सहभागितामा शिलान्यास भएको थियो । शिलान्यस कार्यक्रममा बोल्दै तत्कालिन भौतिक पूर्वाधार तथा यातायात मन्त्री लेखकले सडकको बजेट सरकारले बेग्लै छुटाइसकेकोले ३० महिना भित्र सडक बन्ने दावी गरेका थिए । मन्त्री लेखकले ३० महिनामा सडक बन्ने विश्वास दिलाएपनि ठेकेदार कम्पनीले त्यसको धज्जी उडाइ दिएका छन् । एक बर्ष वित्न लाग्दा समेत निर्माण कार्यले गति लिएको छैन । सरकारसंग गरेको ठेक्का सम्झौता अनुसार निर्माण कम्पनीले एक बर्षमा ३० प्रतिशत काम सक्नुपर्ने हुलाकी राजमार्ग आयोजनाले जनाएको छ । चाराआलीदेखि भद्रपुर हुदै केचना सम्मको ४० किलोमिटर लामो कालोपत्रे सडकको ठेक्का दुई वटा निर्माण कम्पनीले लिएका छन् । निमार्ण कार्यमा अन्तरगत चाराआलीदेखि सगरमाथाचोक सम्मको २० किलोमिटर सडक निर्माणको ठेक्का कालिका, कनकाई र याकथुमहाङ्ग जेभीले सरकारसंगको सम्झौता २०७३ साल असोज १४ गते गरेको आयोजनाले जनाएको छ । भ्याट सहित ४१ करोड ६१ लख ८४ हजार १ सय ४२ रुपैयामा कुल बजेट रहेको यस सडकको निर्माण कार्य अवधि ३० महिना रहेको छ । कालोपत्रे सडकसहित ६० वटा पाइप कल्भर्ट, दुई वटा स्लाब कल्भर्ट, एउटा वक्स कल्भर्ट, एउटा कज्वे र साढे पाँच किलोमिटर नाला रहेको छ । याकथुमहाङ्ग निर्माण कम्पनीका ठेकेदार तेजकुमार कुरुङ्गवाङ्गले सडक निर्माण कार्यको सम्पूर्ण जिम्मेबारी लिएका छन् । त्यसैगरि सगरमाथाचोक देखि केचना सम्म २० किलोमिटर सडकको ठेक्का लामा, डाँफे र कञ्चनजंघा जेभीले २०७३ फागुन १५ गते सरकारसंग सम्झौता गरेको आयोजनाले जनाएको छ । भ्याट सहित ४२ करोड ५३ लाख ६५ हजार ४ सय ९७ रुपैया कुल बजेट रहेको यस सडकको निर्माण कार्य पनि ३० महिनाको रहेको छ । कालोपत्रे सडकसहित दुवैतर्फ गरी साढे ५ किलोमिटर नाला, १९ वटा पाइप कल्भर्ट र ४ वटा स्लाव कल्भर्ट रहेको छ । कञ्चनजंघका निर्माण व्यवसायी टेण्डी शेर्पाले सडकको जिम्मेबारी हेर्न गरी सम्झौता गरेका छन् । दुवै प्याकेजको काम कछुवा गतिमा भइरहेको छ । चाराआली भद्रपुर हुदै सगरमाथा चोक सम्मको निर्माण कार्य २०७३ चैतदेखि सुरु भएको हो । भने सगरमाथाचोकदेखि बनियानी हुदै केचना सम्मको काम २०७४ असार दोस्रो साताबाट सुरु भएको हो । सव ग्रेड, सव बेस, वेस र कालोपत्रे गरी सात मिटर चौढाई रहेको सडक निर्माण कार्यमा ठेकेदार कम्पनीले लापारबाही गर्दे आइरहेको स्थानीय जनताको आरोप छ । कम्पनीले चाराआलीदेखि चन्द्रगढी सम्मका सडकमा पाइप कल्भर्ट र नाला खन्ने काम मात्र सम्पन्न गरेको देखिन्छ । त्यो काम पनि गुणस्तरयुक्त नभएको स्थानीयको आरोप छ । सडक बनाउने कामतर्फ अहिले ५ किलोमिटर सव वेसको काम गरेको देखिन्छ । ठेकेदारले झापाचोकदेखि आपगाछी सम्म २ किलोमिटर सडकमा सव ग्रेड र सव वेसको काम गरेर छाडेका छन् । वेस बनाउनेदेखि कालोपत्रे सडक बनाउने काम अझै बाकी छ । सोचे अनुसारको प्रगति नभएको स्विकारर्दै ३० महिनामा निर्माण सम्पन्न हुनेमा ठेकदारले आशंका गरेका छन् । खोलाजन्य सामग्री उत्खन्न बन्द रहेकोले सामग्री पाउन साथ काम सुरु हुने लामा, डाफे र कञ्चनजंघाका प्रविण शेर्पाले बताए । हुलाकी राजमार्ग आयोजना, योजना कार्यालय इटहरीका इन्जिनियर उपेन्द्र दासले निर्माण कार्यमा ढिलासुस्ती भएको स्वीकारेका छन् । पहिलो प्याकेजको काम हेर्न हो, भने केही ढिलाई भएको उनको भनाइ छ । एक बर्षमा ३० प्रतिशत काम हुनुपर्नेमा अहिले १० प्रतिशत काम मात्र सम्पन्न भएको इन्जिनियर दासले बताए । निर्माण कार्यमा ढिलासुस्ती भएपछि दुवै निर्माण कम्पनीलाई लिखित पत्र पठाएपछि निर्माण कार्यलाई तिव्रता दिने प्रतिवद्धता दुवै कम्पनीले दिइसकेको उनको भनाइ छ । सडकलाइ देखाएर यस क्षेत्रका नेताले जित हासिल गरिसकेका छन् । स्थानीयले सडक निर्माणका लागि विगत झापा क्षेत्र १ पर्ने यस क्षेत्रबाट २०४८ बैशाख २९ गते भएको सासदीय निर्वाचनमा एमालेका द्रोणचार्य आचार्य, २०५१ साल असार २७ गतेको संसदीय निर्वाचनमा एमालेका पुष्पराज पोखरेल, २०५६ सालको संसदीय निर्वाचनमा नेपाली काग्रेसका कृष्णप्रसाद सिटौलालाई सडक बनाउने बाचाका साथ भोट हालेर यहाका जनताले बिजयी गराएका थिए । झापा क्षेत्र नम्बर ३ भएपछि २०६४ सालको पहिलो संविधानसभाको निर्वाचनमा माओवादी केन्द्रका पूर्णप्रसाद राजवंशी, २०७० सालको दोस्रो सविधानसभामा नेपाली काग्रेसका कृष्णप्रसाद सिटौलालाई यहाका जनताले जिताएपनि सडकले भने निर्माणको गति लिएन । निर्माण कार्य सुरु भएपनि यसले तिव्रता नलिएपछि स्थानीयमा सडक बन्नेमा विश्वास नरहेको निलबहादुर भुजेलले बताए । २०२२ सालदेखि नै सडक बनाउने हावा चलेपनि सडक बन्नेमा अझै विश्वास नलागेको भुजेलको भनाइ छ । ठेक्का लागेको सडक निर्माण कार्यमा सरकारी पक्ष र ठेकेदार कम्पनीले चासो नदेखाएपछि अहिले बर्खामा सडकमा सवारीसाधन गुडाउने स्थिति छैन । बर्खामा पानी जम्नु र हिउदोमा धुलो उडने समस्याले सवारी चालक पनि पीडामा छन् । सडक नबन्दा निजि क्षेत्रमा प्रत्यक्ष असर परेको झापा उद्योग संघका अध्यक्ष टीकाराज ढकालले बताए । स्थानीय जनताको आर्थिक विकासको भविष्य जोडिएको चाराआली– केचना सडकमा गुणस्तरयुक्त काम हुनुका साथै छिटो भन्दा छिटो निर्माण कार्य सक्नुपर्ने अध्यक्ष ढकालले माग गरेका छन् । सम्बन्धी निकायले ठेकेदारलाई कारबाही गरेर वा दवाव दिएर होस सडक निर्माण गराउने पक्ष जिम्मेबार भएमा सडकले गति लिने उनले बताए ।