काठमाण्डौ । तराईका अधिकांश नदीमा जलमापक उपकरण राख्ने सरकारले तयारी गरेको छ । जलमापक उपकरणमार्फत पूर्वसूचना प्रणाली प्रभावकारी बन्दै गएपछि सरकारले आगामी वर्षदेखि वर्षामापक उपकरण राख्ने गरि योजना अगाडि सारेको हो । उपकरणले बाढी आउनुभन्दा तीन दिनअघि नै सर्वसाधारणलाई सूचना दिन सकिने जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान शाखाका हाइड्रोलोजिस्ट विनोद पराजुलीले बताए । सरकारले अहिलेसम्म आठ नदी तथा खोलामा वर्षामापक उपकरण राखेको पराजुलीले बताए । अर्को वर्ष मानवीयसँगै भौतिक क्षति गर्ने थप खोला र नदीको पहिचान गरी उपकरण राख्ने तयारी गरिएको उनको भनाई छ । चुरेसँगै तराई क्षेत्रबाट बग्ने खहरे खोलाले पनि ठूलो भौतिकसँगै मानवीय क्षति गर्दै आएकोले चुरे क्षेत्र दोहन हुँदै गएपछि बाढी आउने गरेको विज्ञहरू बताउँछन् । यस वर्ष बाढी, पहिरो र डुबानबाट एक सय ५३ जनाको मृत्यु भएको जनाएको छ । ३० बेपत्ता र ४२ जना घाइते भएको गृह मन्त्रालयले जानकारी दिएको छ । एउटा उपकरणलाई साधारणतया दुई लाख पर्ने पराजुलीले बताए । एउटा नदी वा खोलामा एउटा मात्र वर्षामापक उपकरण राख्न सकिने उनको भनाइ छ । जलमापक उपकरणमार्फत मास एसएमएस पठाउँदा कम मानवीय क्षति भएको सर्वसाधारणले बुझ्ने गरी रोमनमा सन्देश लेखेर पठाइने हाइड्रोलोजिस्ट पराजुलीले जानकारी दिए । मनसुन सुरु भएपछि बाढीले प्रभावित पार्न सक्ने क्षेत्रका सर्वसाधारणलाई ‘बाढी आउन सक्छ’ भन्ने सन्देश पठाइन्छ । बाढीको उच्च जोखिम भएका नदीमा खतराको चिह्न राखिएको छ । सोही चिह्नभन्दा माथि पानी गएको अवस्थामा त्यहाँका स्थानीयलाई सुरक्षित (अग्लो) स्थानतर्फ जान सुझाब दिइन्छ । पानीका मात्रा घट्दै गएपछि सबैलाई आ–आफ्नो वासस्थानतर्फ जान सुझाब दिइन्छ । उपकरण भएका नदी विभागले महाकाली, कर्णाली, पश्चिमराप्ती, बबई, नारायणी, पूर्वराप्ती, रिउखोला, बागमती, कोसी, कन्काई नदीमा उपकरण राखेको छ । यी नदीका जलाधारमा पानी धेरै परेपछि तटीय क्षेत्रका सर्वसाधारणलाई एमएमएस पठाइन्छ । यस वर्षको मनसुनमा अहिलेसम्म ७० लाखभन्दा धेरैलाई बाढीको पूर्वसूचना ‘एसएमएस’ पठाएको विभागले जनाएको छ । यसअघि बाढीले धेरै क्षति पुर्याउन सक्ने नदीमा मात्र खतराको घन्टी बज्ने (साइरन) व्यवस्था गरिएको थियो । सर्वसाधारणका लागि निःशुल्क टोल फ्री ११५५ नम्बरको व्यवस्था गरिएको थियो । मास एसएमएस सर्वसाधारणसँगै जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयलाई पनि पठाइने विभागले जनाएको छ ।