धरान/ घडीमा १२ बज्नै लागेको छ । तर, जिल्ला आर्युवेद स्वास्थ्य केन्द्र अन्तर्गत धरान आयुर्वेद औषधालयमा तल्लो तहका कर्मचारी (पियन) भन्दा कोही छैनन् । कविराज रामबाबु यादवको कुर्सी खाली छ ।

त्यस्तै वैद्य आशेश्वर महाषेठको कुर्सी पनि उस्तै छ । धरान–१५ स्थित पुष्पलाल मार्गको औषधालयमा बुधबार पुग्दा यादव र महासेठको दुबैजना नभेटिएपछि यादव बस्ने निजी क्लिनिकमा पुगियो । क्लिनिकबाट पनि उनी इटहरीतर्फ रवाना भएको बुझियो । क्लिनिकमा रहेकी एक युवतिले भर्खरै इटहरी गएकाले ढेडघण्टापछि मात्रै आउने जनाउ दिइन् । जतिबेला घडीमा १२ बजेर १५ मिनेट गएको थियो । वैद्य भनाउँदा महासेठ पनि इटहरी तर्फै गएको पियनले जानकारी गराएका थिए ।

व्यक्तिगत कामका लागि पनि सरकारी समय खर्च गरिरहे पनि सम्बन्धित निकायको चासो नहुँदा मनलाग्दी गर्ने गरेका छन् । वर्षौदेखि पियनको भरमा औषधालय चलेको स्थानीयबासीहरुको भनाइ छ । यथार्थमा पनि त्यस्तै देखिन्छ ।

स्थानीय जनताको गुनासोपछि पछिल्लो ५ दिन यतादेखि ब्लाष्टकर्मीले चियोचर्चो गर्दा जनताले भनेको भन्दा फरक पाइएन् । बुधबार पुग्दा पनि उस्तै देखियो । एक जना पियन भेटिए । उनले पनि हाकिमहरु बारे बुझ्दा खाना खान गएको भनेर यथार्थ बग्याउन खोजे । खासमा कविराज यादव निजी क्लिनिकमा व्यस्त हुने स्थानीयबासीको आरोप लगभग सत्य रहेको पाइयो । धरान–७ स्थित सुमीदा आयुर्वेद औषधालय चलाएर बस्ने गरेको पाइएको छ ।

उनी अधिकांस समय त्यही औषधालयमा बिताउने गरेको धरान–१५ निवासी बलराम थापा बताउँछन् । ‘सरकारले खटाएको छ । तर, औषधालयमा देखिदैन ।’ उनी भन्छन् । उनका अनुसार औषधिहरुसमेत पाइदैन् । यो समस्या अहिलेदेखि मात्रै नभई विगत वर्षहरुमा पनि यही समस्या रहेको बताइन्छ ।

‘औषधालयमा पनि कहिलेकाही मात्रै देख्छु ।’ उनी भन्छन् । एक स्थानीयबासी नाम नछाप्ने शर्तमा भने, ‘बिहान १० बजेदेखि आएर ३ बजेसम्म नियमित बस्नु पर्ने हो । तर, उँ कहिले पनि समयमा आउँदैन । निजी क्लिनिकमै व्यस्त हुने गरेको छ । मनलाग्दी आउँछ र हाजिर गरेर जान्छ । यो औषधालय दुईजना पियनको भरमा छाडिदिने गरेको छ ।

विचारा पियनहरुले के गरोस् ।’ पियनहरु पनि आफूले जानेको भन्दा अर्को काम गर्दैनन् । दैनिक ५ देखि १० जनासम्म विरामीहरु चेकजाँचको लागि आइपुग्ने गरेको छन् । अहिले त, उच्च रक्तचाँप नाप्ने मेसिनसमेत विग्रिएकाले विरामीहरुको खासै आउजाउ नहुने गरेको पियन कृष्ण गौतमले बताए ।

सम्बन्धित निकायको अनुगमन तथा निरीक्षण अभावको कारणले यो समस्या भएको ती स्थानीय बताउँछन् । अर्का स्थानीय कुलबहादुर कार्कीले प्रशासनको रेखदेश नगरेको कारणले कर्मचारीहरुले मनलाग्दी गर्ने गरेको बताए । ‘कर्मचारी नियमित बस्नु पर्ने हो । एउटा नबस्दा कम्तीमा बैद्य त हुनुपर्ने हो नि हुँदैनन् ।’

उनले भने, ‘सम्बन्धित निकायको लापरबाहीको कारणले यो सबै भइरहेको छ । राज्यको दायित्व हो ।’ इलाका प्रशासन कार्यालय प्रमुख कमलबहादुर थापाले हालसम्म यस विषयमा उजुरी नआएको बताउँदै अव तत्काल अनुगमन र छड्के जाँच गरिने बताए ।

उनले त्यस्तो भएको पाइएमा कारबाही गरिने बताएका छन् । यस विषयमा यादवको फोनमा बारम्बार सम्पर्क गर्दा पनि सम्पर्क हुन सकेन् । हाल औषधालयहरु स्थानीय तह मातहतमा आइसकेको छ । तर, पनि स्थानीय निकायहरुले पनि यस बारेमा खासै ध्यान दिएको पाइदैन् ।