काठमाण्डौं । असोज १७ बाट समानुपातिकतर्फको मतपत्र छपाइ सुरु हुने भएको छ । निर्वाचन आयोगले दसैं बिदालगत्तै समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छाप्ने तयारी गरेको जनाएको छ । आयोगले मतपत्रको डिजाइन र मतपत्रमा रहने राजनीतिक दलका चिह्नहरू टुंगो लगाइसकेको छ । आयोगका प्रवक्ता सहसचिव नवराज ढकालले निश्चित समयसीमा र कार्यतालिका बनाएर निर्वाचन लक्षित काम भइरहेको बताए । प्रदेश र प्रतिनिधिसभा निर्वाचनको निर्धारित दिन नजिकिँदै गएसँगै आयोगमा निर्वाचन तयारीसम्बन्धी कामको चाप बढेको उनको भनाइ छ । प्रवक्ता ढकालका अनुसार असोज १७ बाट समानुपातिकतर्फको मतपत्र छपाइ सुरु हुने जनाए । सरकारी छापाखाना जनक शिक्षा सामग्री केन्द्रमा मतपत्र छापिनेछ । यसअघि स्थानीय तह निर्वाचनको मतपत्र पनि त्यहीँ छापिएको थियो । समानुपातिकतर्फको मतपत्र हल्का रातो बनाउने तथा एउटै मतपत्रभित्र मतपत्र १ प्रतिनिधिसभा र मतपत्र २ प्रदेशसभा भनी छुट्याउने निर्णय आयोगले गरिसकेको छ । मतपत्र १ माथि र मतपत्र २ तल रहनेछ । प्रत्यक्षतर्फको मतपत्र पनि समानुपातिककै जसरी राख्ने निष्कर्षमा पुगे पनि त्यसको अन्तिम रूपबारे आयोगले निर्णय लिइसकेको छैन । समानुपातिक निर्वाचन प्रणालीमा ८८ वटा राजनीतिक दलले भाग लिने गरी आयोगमा निवेदन दिएकामा उनीहरूको निर्वाचन चिह्न पनि आयोगले तोकिसकेको छ । हाल व्यवस्थापिका संसधमा रहेका दलहरूले अघिल्लो संविधानसभा निर्वाचनमा समानुपातिकतर्फ ल्याएको मत संख्याअनुसार मतपत्रमा क्रमश निर्वाचन चिह्न रहने कानुनी प्रावधान छ । त्यसअनुसार नेपाली कांग्रेसको रूख चिह्न मतपत्रको सबैभन्दा माथि, दोस्रोमा एमालेको सूर्य चिह्न, तेस्रोमा माओवादी केन्द्रको गोलाकारभित्र हँसियाहथौडा चिह्न रहनेछ । राष्ट्रिय प्रजातान्त्र पार्टीको गाई चिह्न मतपत्रको चौथो क्रममा र राष्ट्रिय जनता पार्टीको छाता चिह्न पाँचौं लहरमा रहने गरी आयोगले मतपत्रको डिजाइन गरेको छ । संसदभत्रका ६ मधेसवादी दल एकीकृत भएर गत वैशाखमा राष्ट्रिय जनता पार्टी गठन भएको हो । ६ वटा दलले पाएको समानुपातिकतर्फको मत जोडा उक्त दलले मतपत्रमा पाँचौं स्थान पाएको हो । नेपाल लोकतान्त्रिक फोरमको दुई हात जोडेको नमस्कार छैटौं र संघीय समाजवादी फोरम नेपालको हातले समातेको मसाल चिह्न मतपत्रको सातौं लहरमा रहनेछन् । संसदभत्रका १९ दलले प्राथमिकता क्रमअनुसार मतपत्रको १९ औं लहरसम्म चिह्न पाएका छन् । त्यसपछि आयोगमा निर्वाचन प्रयोजनका लागि निर्धारण गरिएको अवधिभित्र दल दर्ता गराएकाहरूको दर्ता क्रमअनुसार मतपत्रमा चिह्न राखिएको छ । यसपटक प्रत्यक्ष निर्वाचनतर्फ ९१ राजनीतिक दलले चुनावमा भाग लिने उद्देश्यले आयोगमा निवेदन दिएका छन् । प्रत्यक्षतर्फको मतपत्रमा राजनीतिक दलहरूको चुनाव चिह्न सकिएपछि स्वतन्त्र उम्मेदवारका लागि तोकिएका चिह्न रहनेछन् । प्रवक्ता ढकालले उम्मेदवारको टुंगो लागिसकेपछि मात्रै प्रत्यक्षतर्फको मतपत्र छापिने बताए । पहिलो चरणमा मंसिर १० गते तोकिएको निर्वाचनका लागि कात्तिक ५ गते उम्मेदवारी दर्ता तोकिएको छ । त्यसको अन्तिम टुंगो कात्तिक ८ गते लाग्नेछ । त्यस्तै, दोस्रो चरणमा मंसिर २१ गते हुने निर्वाचनका लागि कात्तिक १६ गते उम्मेदवारी दर्ता तोकिएको छ । त्यसको अन्तिम टुंगो कात्तिक १९ गते लाग्नेछ । ‘समानुपातिकतर्फको सबै मतपत्र कात्तिक ९ अगावै छापिसकिनेछ,’ ढकालले भने, ‘त्यसपछि पहिलो चरणका लागि प्रत्यक्षतर्फको मतपत्र छाप्न सुरु हुनेछ र लगत्तै दोस्रो चरणको पनि प्रत्यक्षतर्फको मतपत्र छापिनेछ ।’ निर्वाचनका सबै काम तोकिएको समयसीमाभित्रै सम्पन्न गर्ने गरी आयोग लागिपरेको उनले बताए । प्रत्यक्ष र समानुपातिक दुवै निर्वाचन प्रणालीका लागि छुट्टाछुट्टै मतपत्र गरी ३ करोड ४० लाख संख्यामा मतपत्र छपाउने आयोगको तयारी छ । समानुपातिकतर्फको बन्दसूची बुझाउन आयोगले असोज २९ गतेको समय तोकेको छ । दलहरूले बन्दसूची बुझाउँदा क्लस्टर मिलाउनुपर्ने, समावेशिता र ५० प्रतिशत महिलाको प्रतिनिधित्वलाई ध्यान दिनुपर्नेछ । आयोगले बन्दसूची बुझाउँदा ध्यान दिनुपर्ने विषयहरूमा राजनीतिक दलहरूसँग दसैं बिदालगत्तै छलफलको तयारीसमेत गरेको छ ।