भद्रपुर । इटा उद्योग सञ्चालनले नटेरेपछि पीडित स्थानीयबासी ईटा उद्योग परिसर भित्रै धर्नामा बस्न बाध्य भएका छन् । झापाको साविक (पृथ्वीनगर गाविस २) हाल भद्रपुर १ स्थित दियालोबस्तीमा सञ्चालित दुवै ईटा उद्योग सरकारले तोकेको मापदण्ड विपरित मानववस्तीमा सञ्चालति डिभिआई र नायक ईटा उद्योग हटाउने पक्षमा उभिएका स्थानीयले भद्रपुर नगरपालिका र झापा प्रशासन समक्ष पटक–पटक गुहार मागी सकेपनि कुनै सुनुवाइ नभएपछि उनिहरु धर्नामा बसेका हुन् । विगत केही महिनादेखि त्यहाँका पीडित स्थानीयले मानवबस्तीबाट ईटा उद्योग हटाउनु पर्ने भन्दै डीविआई, नायक ईटा भट्टा पीडित संघर्ष समिति गठन गरिसकका छन् । उद्योगमा ईटा उत्पादन बन्द भएको अवस्थादेखि आन्दोलित बनेका त्यहाँका स्थानीयको माग अहिले सम्म पूरा नभएको संघर्ष समितिका संयोजक देउकुमार लिम्बुले बताए । उद्योगले निम्ताएको वातावरण प्रदुषणका कारण करिव दुई सय घरपरिवार आन्दोलित बनेका छन् । आन्दोलन चलिरहेको बेला उद्योग सञ्चालकले पुनः उत्पादन सुरु गर्न भारतबाट कामदार मगाएपछि हामी उद्योग परिसरमा गएर धर्ना दिन थालेको संयोजक लिम्बुले बताए । उद्योग हटाउनु पर्नेमा उल्टै स्थानीयको मागलाई लत्याउदै सञ्चालकले पैसा र शक्तिको आडमा उद्योग सञ्चालन गर्न खोजेमा प्रतिकारमा उत्रिने संयोजक लिम्बुले चेतावनी दिए । डिभिआईले चारदिन अघि भारतीय कामदार लिएर आएपछि हामीले सोहि दिनवाट शान्तिपूर्ण धर्ना कार्यक्रम सुरु गरेको बताए । करिब दुईसय स्थानीयबासी भेला भएर दिनको दुई घण्टा धर्ना बस्दै आएको उनले बताए । शनिवार नायक ईटा उद्योगले पनि भारतीय कामदार मगाएपछि आइतबार विहान नायक उद्योग परिसरमा गएर हामी शान्तिपूर्ण धर्ना दिएको स्थानीय देवेन्द्र लिम्बुले बताए । पीडित गाँउले कुनै पनि हालतमा यसबर्ष ईटा उत्पादन गर्न दिने पक्षमा नरहेको उनले प्रष्ट पारे । ईटा सञ्चालकले जबरजस्ती गरे, यसको परिणाम राम्रो नहुने उनले आक्रोस समेत व्यक्त गरे । झापाको साविक (पृथ्वीनगर गाविस २) हाल भद्रपुर १ स्थित दियालोबस्तीमा सञ्चालित दुवै ईटा उद्योगबाट निस्किएको बायु तथा ताप प्रदुषणले स्थानीयबासी विरामी पर्ने थालेका छन् । डिभिआईले सरकारी नाला(पैनी) मिचेर टहरा बनाउनुका साथै स्थानीयको खेती योग्य जमिन काट्न गर्न थालिसकेको पीडित कृषकहरुको भनाई छ । उद्योग मन्त्रलायको कार्यविधि दिग्दर्शन २०७२ अनुसार घनाबस्तीबाट एक किलोमिटर टाढा उद्योग सञ्चालन गर्नुपर्ने बुदाँमा उल्लेख गरेको छ । बुँदामा उल्लेख गरिएको मापदण्ड दुवै उद्योगले पूरा गरेको पाइदैन । त्यस क्षेत्रमा बर्षौदेखि घनाबस्ती रहेको छ । तर, वातावरण प्रदुषण परिक्षण रिपोर्ट तयार गर्दा हचुवाको भरमा केही व्यक्तिलाई आर्थिक प्रलोभनमा रिपोर्ट बनाएर उद्योग सञ्चालनको अनुमति दिएपछि अहिले सञ्चालक र स्थानीयबासी बिच विवाद चुलिएको हो । सञ्चालक पक्ष ईटा उद्योग नहटाउने पक्षमा जबरजस्ती लागि परेका छन्, भने स्थानीय उद्योग हटाउने पक्षमा उत्रिएपनि भद्रपुर नगरपालिका र झापा प्रशासन पक्ष यस बारेमा अहिले सम्म कुनै ठोस निर्णय लिन सकेका छैनन् ।