धरान/धमिलो र लेदो पानीका कारण हरेक वर्ष झाडापखला, आउँजस्ता रोगबाट आक्रान्त हुँदै आएका धरान–६ पानबारीका १८ सय घरधुरी अव यो समस्याबाट मुक्त हुने भएका छन् ।
[caption id="attachment_58485" align="alignnone" width="979"]
धरान–६ पानबारीमा निर्माण भइरहेको बायो स्यान्ड फिल्टर प्लान्ट । तस्बिरः ब्लाष्ट/भोजराज[/caption]
नेपाल सरकारको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय इटहरीले सवा करोडको लगानीमा पूर्व मै पहिलो पल्ट धरान–६ पानबारीमा ‘बायो स्यान्ड फिल्टर’ प्लान्ट निर्माण गरेका कारण पानबारीका उपभोक्तालाई राहत मिलेको हो । पानबारीबासीले वर्षौ अघिदेखि पाइपलाइन बिछ्याएर सिधै सेहराखोलाको पानी पिउँदै आएका थिए । १८ सय घरधुरी मध्ये ३५ देखि ४० प्रतिशत उपभोक्ताहरुमा घरमा राखिने फिल्टर राख्नेसम्म क्षमता नहुँदा सिधै खोलाबाट आएको पानी पिउने गरेको पानी आपूर्ति गर्दै आएको पानबारी खानेपानी तथा सरसफाई उपभोक्ता समितिले जनाएको छ ।
‘अनुमानित ३५ देखि ४० प्रतिशत पानबारीबासीले सिधै खोलाको पानी पिउँथे भन्दा फरक पर्दैन ।’ समितिका कोषाध्यक्ष विश्वराज कार्की बताउँछन् । यो ट्रिटमेन्ट प्लान्ट २०७० सालदेखि चरण–चरण गरी निर्माण भइरहेको छ । उक्त प्लान्ट निर्माणमा हालसम्म करिव सवा करोड खर्च भइसकेको खानेपानी उपभोक्ता समितिका अध्यक्ष रमेश बस्नेत बताउँछन् । ‘बायो स्यान्ड फिल्टर’ निर्माणको ठेक्का इनरुवाको साह निर्माण सेवालाई दिइएको छ । सेवाका प्रमुख जयप्रसाद साहले चालू आर्थिक वर्षसम्म निर्माण पूरा गर्ने दाबी गरे । उनले भने, ‘गत आर्थिक वर्षको असार मसान्तसम्म मात्रै सम्झौता थियो । तर, बर्खाको बेला राम्ररी काम गर्न सकिएन् । स्यान्ड ल्याउनलाई समस्या भयो । ९० प्रतिशत काम सकिसकेको छ ।’
बजेट समयमा विनियोजन नहुँदा समयमा काम पूरासमेत नभएको अध्यक्ष बस्नेतको भनाइ छ । ‘खासमा अस्तीको आर्थिक वर्षमा सकिसक्नु पर्ने हो । तर, समयमा बजेट नआउँदा समस्या भएको छ ।’ उनी भन्छन् । यो फिल्टर निर्माण सम्पन्न भएपछि भने कुनै पनि उपभोक्ताहरुलाई घर घरमा फिल्टर राखिरहनु पर्ने आवश्यकता नहरेको समिति बताउँछन् । समितिले २०६५ सालदेखि सेहरा खोलाको मामफाङ भन्ने स्थानबाट पानी संकलन गरेर खुवाउने गरेको थियो ।
तर, त्यो बेलामा सामान्य ब्लिचिङ पाउडर प्रयोग गर्ने गरेको समितिमा प्लम्बरको काम गर्दै आएका प्राविधिक भीम खनाल बताउँछन् । जसका कारण हरेक वर्ष झाडापखाला, आउँ, रुखामार्की, ज्वरोलगायतको समस्या आउने गरेको थियो । बर्खाको बेलामा हरेक घरमा बिरामीको संख्या बढ्ने गरेको उनी बताउँछन् । ‘धमिलो पानी खाँदा खाँदा जवरो, झाडापखला, मर्की लाग्ने समस्या हुन्थ्यो । यो भइसकेपछि त्योबाट मुक्ता भइन्छ भन्ने विश्वास हामीलाई छ ।’ खनाल सुनाउँछन् । उक्त ट्रिटमेन्ट प्लान्ट निर्माणको लागि उपभोक्ताहरुबाट ५ सयका दरले रकम संकलन गरेर साढे २ कठ्ठा जग्गा खरिद गरी निर्माण सुरु गरिएको समिति बताउँछन् ।
२५ लाख रुपैया तिरेर अढाई कठ्ठा जग्गा खरिद गरेका थियौं ।’ अध्यक्ष बस्नेत सुनाउँछन्, ‘यो प्रविधि सम्भवत पूर्वमै पहिलो हो भनेर हामीलाई जानकारी आएको छ ।’
उनका अनुसार यस्तो प्रविधि नवलपरासीको गैडाकोटमा रहेको छ । त्यहाँको निरीक्षण अवलोकन पछि नै यो निर्माण थालिएको हो । सुनसरीमा भने यो पहिलो ‘बायो स्यान्ड फिल्टर’ प्लान्ट हो । फिल्टर प्लान्टमा एक लाख लिटर माथिका दुईवटा ‘स्यान्ड फिल्टर’ ट्यान्की रहेको समिति बताउँछ । समितिले हाल १६ सय निजी धाराहरु जडान गरेको छ । समितिसँग २ लाख २५ हजार घनमिटर क्षमताको रिजर्भ ट्यान्कीहरु रहेका छन् भने १६ किलोमिटर पाइपलाइन विस्तार गरेका छन् । उपभोक्ताहरुले मासिक १५ हजार लिटर पानी खपत गर्ने गरेको समिति बताउँछ ।