विराटनगर/मोरङ कटहरीकी मालो मुडियारीले २०६६ सालमै एसएलसी पास गरेकी थिइन् । साहुको खेतमा हलो जोतेर उनका बुबाले परिवार पाल्दै आएका थिए । आमा पनि श्रीमान्लाई खेतीकै काममा सघाउँथिन् । स्थानीय जनता मा. वि. बाट एलएलसी पास गरे पनि आर्थिक अवस्था कमजोर भएको कारण उनको पढाई अघि बढ्न सकेन । पढ्ने इच्छा हुँदा हुँदै पनि आर्थिक अभावका कारण परिवारमा पढ्ने इच्छा लुकाउन विवस थिइन् ।

एसएलसी पास पछि चार वर्ष उनका दिन त्यतिकै बिते । एक दिन गाउँका आफन्त विरामी परेर उपचारको लागि विराटनगरस्थित नोवेल मेडिकल कलेज टिचिङ हस्पिटलमा आउँदा उनले आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई निःशुल्क पढाउने हल्ला सुनिन् ।  कुरा बुझ्दै जाँदा उनी र उनका अभिभावक नोवेल मेडिकल कलेज टिचिङ हस्पिटलका सञ्चालक डा. सुनिल शर्मासँग भेट्न पुगे । आर्थिक अवस्थाको बारेमा जानकारी गराए पछि डा. शर्माले भने ‘मालोलाई विना पैसा म पढाई दिन्छु ।’ त्यस पछि मालोका उज्याला दिन शूरु भए । अहिले उनी नोवेमा रेडियोग्राफी तेस्रो वर्षमा पढ्दै छिन् । ‘सुनिल सरले भने जस्तै यहाँ पढेको कुनै पैसा तिर्नु परेको छैन’ मालोले ब्लाष्टसँग भनिन् ‘सुनिल सरलाई नभेटेको भए अहिलेसम्म मेरो पढाई एलएसलीबाटै बन्द हुने थियो ।’ त्यसो त त्यस ठाउँका मुडियारी परिवारबाट मालो एक मात्र पढे लेखेकी चेली भएकी छिन् ।

कटहरीकै संगिता सरदारको पनि आर्थिक अवस्था मालोको जस्तै कमजोर हो । अर्काको खेतीमा अन्न उब्जाएर आएको अदियाँबाट परिवार चलाउँदै आएका संगिताका बुबा आमाले जेनतेन संगितालाई १२ कक्षा पढाउँदै थिए । गाउँकै साथीको सल्लाह अनुसार उनी रेडियोग्राफी पढ्न नोवेल गइन् । उनलाई पनि नोवेलका सञ्चालक डा. शर्माले निःशुल्क पढाउने अवसर मिलाए । अहिले उनी नोवेल मेडिकल कलेज र डा. सुनिल शर्माले जीवननै  बदलिदिएको भन्दै निकै खुसी छिन् । उनी पनि रेडियोग्राफी तेस्रो वर्षमा अढ्दै छिन् ।  यता, सुनसरी बर्जु गाउँ पालिका भीमपुरकी दलित परिवारकी राजमहिन ऋषीदेव (मुसर) ले त झन् रेडियोग्राफी पढ्ने जीवनमा कल्पना सम्म गरेकि थिइनन् ।

स्थानीय रामसिता उच्च माविबाट एलएलसी पास गरे पछि उनलाई थप पढाउन उनका बुबा आमाको मन भए पनि आर्थिक अवस्थाका कारण निर्णय गर्न सकेका थिएनन् । ग्रीलको काम गरेर दुःख सुख परिवार चलाउँदै आएका राजमहिनको परिवारको सुकुम्वासी जीवन यापन गर्दै आएका छन् । एक दिन नोवेल मेडिकल कलेजका सञ्चालक डा. सुनिल शर्माले आर्थिक अवस्था कमजोर भएका र दलित परिवारलाई निःशुल्क पढाउने भन्दै गाउँमा खवर पठाएका रहेछन् । गाउँमा हल्ला चल्यो पढेकी र आर्थिक अवस्था कमजोर भएकी त राजमहिन हो । त्यस पछि गाउँकै एक जना अगुवाले नोवेल मेडिकल कलेज टिचिङ हस्पिटलका सञ्चालक डा. सुनिल शर्मासँग भेट गराई दिए । नभन्दै उनले पनि सिटीइभीटीबाट लिने परिक्षा पास गरिन् र अहिले नोवेलमा झण्डै चार लाख रुपैयाँ खर्च हुने रेडियोग्राफी कोर्ष निःशुल्क पढ्न पाएकी छिन् । रेडियोग्राफी तेस्रो वर्षमा अध्ययनरत राममहिम भन्छिन् ‘मैले जीवनमै नसोचेको कोर्ष गर्न पाएँ, अब जव खोजेर परिवारलाई पनि केही सहयोग गर्छु ।’

यस्तै मोरङको रंगेली २ की सरिता मुडियारी (झाँगर)ले भाई विरामी भएर नोवेलमा उपचार गराउन आएकी थिइन् । २०६८ सालमै एलएलसी दिएर जसो तसो प्लस टु पढ्दै गरेकी सरिताले त्यहाँ थाहा पाइन् कि नोवेलमा आर्थिक अभाव भएकालाई निःशुल्क पढाउने व्यवस्था छ । त्यस पछि उनी डा. सुनिल शर्माको सम्पर्कमा पुगिन् । उनले पनि रेडियोग्राफी निःशुल्क पढ्ने अवसर पाइन् । अरुकै खेती गरेर चार जनाको परिवारको पालन पोषण गर्दै आएका सरिताका बुबा आमालाई यति महङ्गो पैसा तिरेर छोरीलाई स्वास्थ्य सम्वन्धी कोर्ष गराउने सोचाईनै थिएन । तर, नोवेलले यति राम्रो अवसर दिए पछि उनी पनि जीवननै परिवर्तन भएको भन्दै खुसी छिन् ।

मोरङको सुनवर्सी नगरपालिकाकी अन्विसा सिंहले पनि नोवेलमा निःशुल्क रेडियोग्राफी पढ्ने अवसर पाएकि छिन् । उनलाई पनि यो अवसर दिलाउने नोवेल मेडिकल कलेजका सञ्चालन डा. सुनिल शर्मानै हुन् । मेडिकल कलेज सञ्चालन गरेर आर्थिक समस्या भएका विद्यार्थीलाई स्वास्थ्य सम्वन्धी विभिन्न कोर्षमा पढ्ने अवसर दिलाउन डा. सुनिल शर्माले त्यहाँ सञ्चालित सिटिइभिटी र  एमवीवीएस कोर्षमा पनि निःशुल्क पढाउने व्यवस्था मिलाएका दर्जनौ विद्यार्थी भेटिन्छन् । लाखौं रुपैयाँ खर्च हुने कोर्ष गरिव तथा दलितलाई निःशुल्क पढाउनुको कारणबारे बुझ्दा डा. शर्माले भने ‘व्यवसायसँगै सेवा पनि महत्वपूर्ण पक्ष हो ।’ विराटनगरमै नोवेल मेडिकल कलेज सञ्चालन भइरहँदा आसपासका आर्थिक अभाव भएका र दलित, विपन्न परिवारले  पैसाको अभावमा पढ्न वाट वञ्चित हुनु भन्दा विना पैसा अवसर दिए ति विद्यार्थी भोली यही समाजका गहना बन्ने सोचाईले आफ्नो  प्रयासमा थुप्रै विद्यार्थीलाई निःशुल्क पढाएको डा. शर्माले बताए ।

डा. शर्मालाई आफ्नो बाल्यकालको अभावको जिन्दगीले पनि गरिव तथा विपन्न परिवारलाई सहयोग गर्न उर्जा मिलेको हो । डा. शर्माको लामो समयको प्रयास र सामाजिक जिम्मेवारी वोधका विपन्न परिवार र लोपोन्मुख दलित तथा सिमान्तकृत समुदायका दुई सय विध्यार्थीहरु पुर्ण छात्रब्रत्तिमा एम.वि.वि.एस, वि डि एस, वि एस्सि नर्सिङ, सि टि ई भि टि अन्तर्गतको पारामेडिकल कोर्षहरुमा बाँतर, ऋषीदेव, मुसहर, हस्ता, वास्के, मुर्मु, मर्डी, उराव, विश्वकर्मा लगायतका समुदायबाट दुई सय जना विद्यार्थीहरु विराटनगरको नोवेल मेडिकल कलेज टिचिङ हस्पिटलमा अध्ययनरत गरिरहेको कलेजले जनाएको छ ।