शनिश्चरे/ गत वर्ष डेंगु रोगबाट प्रभावित मोरङको पथरीशनिश्चरेमा यो वर्ष डेंगु सहित औलो रोग समेत देखा परेपछि पथरी बजारमा रोग सार्ने लामखुट्टे मार्नका लागि विषादी छर्कन थालिएको छ ।

वडा नम्बर १ को पथरी बजार क्षेत्रमा २ जनालाई डेंगु र २ जनालाई औलो देखा परेपछि नगरपालिकाको पहलमा बुधबार रातीदेखि मालाथिन विषादीको धुँवा प्रयोग गरिएको हो । वडाध्यक्ष बाबुराम एङ्देनको अगुवाईमा स्वास्थ्य चौकी पथरीका प्रमुख मुरारी आचार्य, उर्लाबारीस्थित मंगलबारे अस्पतालका प्राविधिक सहितको टोलीले विषादी छर्कने काम गरेको छ ।

लामखुट्टेजन्य रोगको प्रकोपको अवस्था सिर्जना हुनसक्ने पथरी बजार क्षेत्रमा विहीवार रातीसम्ममा विषादी छर्कि सकिने वडाध्यक्ष एङ्देनले बताए । उनले यसखाले विषादी प्रयोग स्वास्थ्य र पर्यावरणका लागि हानिकारक समेत हुने भएपनि डेंगुसँगै औलो पनि देखा पर्न थालेपछि रोग सार्ने लामखुट्टे नियन्त्रणको अन्तिम विकल्प विषादी छर्कनुनै रहेकाले यसो गर्न वाध्य भएको सुनाए ।

पथरीशनिश्चरे १ का ३६ वर्षीया कुमार राई र पथरीस्थित एनआइसी एशिया बैंकमा कार्यरत झापा विर्तामोड ५ की २५ वर्षीया सुस्मिता कोइरालामा डेंगुको संक्रमण देखा परेको हो । राईको पथरीस्थित मोरङ हस्पिटलमा डेंगुको संक्रमण पत्ता लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । उनलाई त डेंगुसँगै औलो पनि देखा परेको छ । कोइरालाको विर्तामोडस्थित वीएण्डसी अस्पतालमा उपचार भइरहेको छ ।

मोरङ अस्पतालमा उपचारमा आएमध्ये पथरीशनिश्चरे १ की २३ वर्षीया शान्ति राईलाई औलोको ‘प्याज्मोडियम भाइवेक्स’ र पथरीशनिश्चरे २ की ११ वर्षीया आयुषा राईलाई कडाखाले औलो ‘फेलिसफेरम’ देखा परेको अस्पतालका डाक्टर उमेश गुरागाईले उल्लेख गरेका छन् । डाक्टर गुरागाईंले जाडो बढ्न थालेपनि पथरी बजार क्षेत्रमा डेंगु र औलो सार्ने लामखुट्टे अझ सक्रिय भएको अवस्था दर्शाए ।

जिल्लाको उर्लाबारीमा पनि डेंगु देखा परेपछि विषादी छर्किने काम सम्पन्न भएको छ । पथरी र उर्लाबारीमा विशेषगरी अव्यवस्थित रुपमा राखिएका टायरमा जमेको पानीमा त्यसखाले लामखुट्टे फेला परेका छन् ।

गत वर्षपनि पथरी पूर्वस्टेण्डमा रहेको मोहमद इकलाकले सञ्चालन गरेको मोटरसाइकल पन्चर टाल्ने पसलमा राखिएको टायर तथा अन्यत्र फालिएको टायरमा इडिस एजिप्टाई जातको लामखुट्टे फेला परेको थियो । तर पसलेले अटेर गरेर टायर वाहिर राखिरहँदा त्यसमा जमेको पानीमा यस वर्षपनि सोही प्रकारका लामखुट्टे भेटिएको छ ।

कुलर, गमला, टिन, प्लाष्टिकका डब्बा, टायरहरुमा पानी जम्न नदिनु नै डेंगु रोग नियन्त्रणको उपाय रहेको जनाउँदै १ महिना अघि पथरी बजारमा जिल्ला जनस्वास्थ्यको टोलीले स्थानीयलाइ सचेत गराएको थियो ।

गत वर्ष झापाको दमकमा डेंगुले महामारीकै रुप लिएको थियो । जसबाट छिमेकी नगर उर्लाबारीमा गत वर्ष ९ जनामा डेंगु देखा परेको थियो भनें यस वर्ष पनि केहीमा देखा परेको छ । पथरीशनिश्चरेको पथरी बजारमा गत वर्ष ३ जनामा यो रोग देखा परेको थियो ।