धरान/स्कुलले विद्यार्थीहरुलाई ‘लागूऔषध दुर्व्यसनी, हिंसा, मानव बेचविखन तथा ट्राफिक’ सचेतना गराइएको छ ।
[caption id="attachment_60094" align="alignnone" width="873"]
लागूऔषध बारे सचेतना गराउँदै डिएसपी रामेश्वर पौडेल । तस्बिरहरुः भोजराज श्रेष्ठ[/caption]
इम्मानुएल सेकेण्डरी बोडिङ स्कुलका विद्यार्थीहरुलाई सामुदायिक सेवा केन्द्र धरानले शुक्रबार सचेतना गराएको हो । इलाका प्रहरी कार्यालय धरानले एक सातामा १५ जना भन्दा बढीलाई लागूऔषध कारोबार तथा ओसारपसारमा मुद्दा दर्ता हुने गरेको छ । सेवनकर्ताहरु करिव ३० जनासम्म पक्राउ पर्ने गरेका छन् । जसलाई तारिखमा छाडिने इप्रका धरानका डिएसपी रामेश्वर पौडेल बताउँछन् । । लागूऔषध प्रयोगकर्ता तथा कारोबारको हिसावले राजधानीपछि सुनसरी जिल्ला दोस्रोमा पर्छ ।
राष्ट्रिय तथ्याङ्क विभागको लागूऔषध नियन्त्रण शाखाले निकालेको २०६९ को डाटा अनुसार सुनसरीमा ७ हजार ४०७ जना लागूऔषध प्रयोगकर्ता रहेको तथ्याङ्क छ । यो अनुपात सुनसरीको पनि धरानमा सबैभन्दा बढी रहेको छ । त्यसैले पनि स्कुलका विद्यार्थीहरुलाई लक्षित गर्दै केन्द्रले सचेतना गराउने गरेको छ ।
‘हरेक १५ दिनमा यस्ता कार्यक्रम गर्ने गरेका छौं ।’ केन्द्रकी कोषाध्यक्ष तारा शाक्यले भनिन्, ‘सचेतना कार्यक्रम अन्तर्गत नै यो स्कुलमा पनि कार्यक्रम राखिएको हो ।’ अध्ययनका अनुसार कलिलो उमेरमै साथीको संगतले, कस्तो होला भन्ने उत्सुकता र एक्लोपनका कारण लागूऔषध दुर्व्यसनीमा फस्ने गरेको देखाएको छ । कलिला बच्चाहरुमा राम्रो/नराम्रो छुट्याउन सक्ने क्षमता कम हुने कारणले पनि यस्ता कार्यहरु अपराधिक हुन् भन्ने बुझाउन आवश्यक रहेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी रामेश्वर पौडेलले जानकारी दिने क्रममा बताए ।
[caption id="attachment_60095" align="alignnone" width="979"]
प्रहरीको कुरा घतमानेर सुन्दै स्कुलका विद्यार्थीहरु ।[/caption]
लागूऔषध बोक्नु, खानु, कारोबार गर्नु, ओसारपसार गर्नु सबै अपराध भित्र पर्ने भएकाले यसमा जेल सजाय हुने भन्दै विद्यार्थीहरुलाई उनले सचेत गराए । ‘साथीले त्यस्तो गर्छ भने उसको संगत नै छाडिदिनुस्, एक्लै बस्नुस् ।’ उनले भने, ‘त्यस्ता कुराहरु प्रहरीलाई खबर गर्नुस् ।’ त्यस क्रममा उनले आफ्नो फोन नम्बर तथा प्रहरी कार्यालय बारे जानकारीसमेत गराए ।
विद्यार्थीहरुले लागूऔषध दुर्व्यसनी बारे जिज्ञासासमेत राखेका थिए । मोटरसाइकलमा तीन जना चढ्न नहुने, हेलमेट नलगाई चलाउन नहुने, लाइसेन्स बिना चलाउन नहुने र त्यो अवस्थामा कसैको ज्यान गए, अङ्गभङ्ग भए कर्तव्य ज्यान मुद्दामा २० वर्षसम्मको जेल सजाय हुने भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानका सई विनोदप्रसाद पोखरेलले सचेत गराए । त्यस्तै हिंसा तथा मानव बेचविखनमा पनि मुद्दा चल्ने र कारबाही हुने जानकारी गराएका थिए । महिला हिंसा, ट्राफिक बारे विद्यार्थीहरुले पनि जिज्ञासा राखेका थिए । उनीहरुको जिज्ञासा पनि प्रहरीहरुले मेट्ने प्रयास गरेका थिए ।
सामुदायिक सेवा केन्द्रले प्रहरीसँगको सहकार्यमा यस्ता कार्यक्रम गर्दै आइरहेको छ । जस बमोजिम यस्ता कार्यक्रमहरु विभिन्न स्कुलहरुमा गर्दै आएको अध्यक्ष नरेन्द्र पोमोले बताए ।