जित्नेहरुका लागि हरेक समस्या एउटा नयाँ बिहान हो, हार्नेहरुका लागि जिन्दगी समस्या नै समस्याहरुको चिहान हो । यो कथा बाबुराम कार्की र उनकी सानी छोरीको हो, यो कथा एक सय २२ वटा गाईको हो । यो कथा कुनै महान कथाकारले रचेको काल्पनिक कथा भन्दा कम छैन । तर, यो नियतिले रचेको कथा हो । हो, बारम्बार पछारिँदै जुरुक्क उठ्दै गरेका बाबुरामको विचित्र कथा हो यो । त्यो एउटा दुर्दान्त दिन केही महिना अघि एउटा विष्मयकारी समाचारले करोडौं मानिसको मनमष्तिष्क नराम्ररी हल्लाइदियो । त्यो दिन थियो ३ असार २०७३ । त्यो दिन काठमाडौंको सुन्दरीजल स्थित एउटा गोठमा एक सय १० वटा गाई जलेर एकै चिहान भएको खबर डढेलो सरी फैलिएको थियो । दसवटा गाई जलेर मर्नु न बाँच्नुको अवस्थामा पुगेका थिए । त्यो गोठका मूल गोठालो थिए बाबुराम कार्की । विद्युतीय गडबडीले आगलागी भएर गोठका एकसय २२ मध्ये एक सय १० वटा गाई मारिए । गोठमा आगलागी आफैमा विष्यमयकारी थियो, त्यसमाथि त्यति ठूलो संख्यामा गाई मारिनु दुर्दान्त थियो । पूरै मुलुक शोकमा डुब्यो । अनुमान गरौं, बाबुरामको हालत के भयो होला ? बाबुराम भन्छन्, ‘गोठ आगलागी भएपछिको १० दिन केके भयो मलाई याद छैन । म अर्ध बेहोस थिएँ ।’ दैनिक सयौं लिटर दूध दिने ती प्यारा गाईको विभत्स मृत्युमा बाबुरामले निरन्तर आँशु बगाए । तर, दूध जसरी आँशुलाई लिटरमा नाप्न सकिएन । महावियोगको अवस्था थियो त्यो । र, सिन्धु पनि मरिन् गोठका सबै गाईसँग बाबुरामको भावनात्मक सम्बन्ध थियो । बाबुरामले ती मध्ये कैयन गाईलाई काखमा राखे जसरी हुर्काएका थिए । सन्तानतुल्य थिए ती गाईहरु । जलेर घाइते भएर गाईले विभत्स चित्कार गरेका थिए । ती दर्दनाक आवाज सम्झँदा अहिले पनि उनी आँशु थाम्न सक्दैनन् । आँशु पुछ्दै उनले भने, ‘घरपरिवार जस्ता मेरा सबै गाई मरे । सिन्धु पनि मरिन् ।’ एउटी गाई थिई, सिन्धु । सिन्धुबाटै सुरु हुन्छ बाबुरामको गोठको कथा । बाबुरामकी छोरी अहिले आठ वर्षकी छिन्, नाम हो ओजश्वी । पाँच वर्ष अघि उनले ओजश्वीलाई गाईको शुद्ध दूध खुवाउने विचार गरे । तर, भनेजस्तो सहज तरिकाले दूध पाइएन । आमाले बाबुरामलाई भनिन्, ‘अब आफै गाई पाल ।’ बाबुरामले गाई पाल्ने निधो गरे । तर, एउटा पालेर के गर्नु ? ६ वटा पाले । भक्तपुरको दूधबाटीमा गोठ बनाए । तिनैमध्येकी एउटी थिई सिन्धु । सिन्धुकै दूध पिएर हुर्केकी हुन् ओजश्वी । त्यसैले सिन्धुसँग बाबुरामको अलि विशेष सम्बन्ध थियो । ओजश्वी पनि सिन्धुसँग झ्याम्मिन्थिन्, सिन्धुले ओजश्वीलाई माया देखाउँथिन् । आगलागीमा सिन्धु पनि मरिन् । सिन्धु र ओजश्वीको कथा बताएर बाबुराम घोप्टो परे । आँखा पुछे । अनि, ठाडो भएर मुसुक्क हासे । असाध्यै हसिला छन् बाबुराम । यहाँ दिइएको भिडियोमा पनि हेर्नुस् न, आँशु लुकाएर कसरी हास्छन् बाबुराम । सुन्दर, शान्त र विशाल परिवार गाईहरुसँग उनले यस्तो ‘लभ’ परेछ कि दिन बितेको पत्तै पाएनन् । दत्तचित्त भएर गाईको सेवामा लागे, गाईले पनि उनको सेवा गर्न थाल्यो । अर्थात्, मनग्ये दूध दिन थाल्यो । हेर्दाहेर्दै उनको गोठ ४० वटा गाईको सुन्दर परिवार बन्यो ।
आगलागीमा सिन्धु पनि मरिन् । सिन्धु र ओजश्वीको कथा बताएर बाबुराम घोप्टो परे । आँखा पुछे । अनि, ठाडो भएर मुसुक्क हासे । असाध्यै हसिला छन् बाबुराम । यहाँ दिइएको भिडियोमा पनि हेर्नुस् न, आँशु लुकाएर कसरी हास्छन् बाबुराम ।
गोठ बढ्दै जाँदा उनी दोबाटोमा पुगे । एउटा बाटो रोजे गाई, गोबर र दानाघासको जिन्दगी हुन्थ्यो । अर्काे बाटो रोजे अर्थशास्त्रको प्राध्यापन र अनुसन्धान गर्ने जागिरको जिन्दगी हुन्थ्यो । उनले जागिर छोडे, गाई र गोबर रोजे । बाबुराम बिहान ३ बजे उठ्थे, राति दस बजेसम्म गोठमै काम गर्थे । तर, परिवार झन बढ्न थाल्यो । गाई ब्याउन लागे । गाईको संख्या एक सय २२ पुग्यो । बढ्दो परिवारका लागि ठाउँ नपुगेपछि बाबुरामले गोठ सारे । ठाउँ खोज्दै उनी काठमाडौंको सुन्दरीजल पुगे । पचास रोपनी जग्गा भाडामा लिए । त्यहिँ गोठ सारे । पहिले आपत, त्यसपछि विपत सुन्दरीजल सर्नु अघि भक्तपुरमा छँदै आपतको अवस्था आएको थियो । भक्तपुरमै हुँदा भूकम्प आयो । भूकम्पले पूरै समाज अस्तव्यस्त भयो । त्यस्तो बेला दूध किनेर कसले खाने ? दूध फाल्नुपर्यो । भूकम्पले अस्तव्यस्त बनेको समाज बिस्तारै समालिन थाल्यो । दूध विक्री बढ्न थाल्यो । गोठ र व्यापार पूरानै अवस्थामा आउन थाल्यो । तर…. तर फेरि वज्रपात भयो । भारतले नेपाललाई नाकावन्दी लगाइदियो । व्यापार व्यवसाय चौपट भयो । दानाको भाउ आकास्सियो । गाई विरामी भएर घाटा लाग्यो, भूकम्पका कारण घाटा लाग्यो, नाकावन्दीले पनि घाटा नै लगायो । जति नै समस्या परे पनि बाबुरामले गाईहरुसँग दुख देखाएनन् । दानापानी र घास खुवाइरहे । हरेक गाईलाई माया र स्नेह दिए । उनले प्रत्येक गाईको नाम राखेका थिए । हरेकलाई नामले बोलाएर माया गर्थे, बोलाउँदा गाईले स्नेहपूर्वक बाबुरामलाई पुलुक्क हेर्थे । यसरी हेर्थे, मानौं उनीहरु भनिरहेका छन्, ‘बाबुराम, हामीलाई पाल्न तिमीलाई कति समस्या भयो है ?’ भूकम्पमा बाबुराम हारेनन्, नाकावन्दीमा पनि हारेनन् । समस्यालाई जित्दै ०७३ फागुनमा सुन्दरीजल सरेका थिए । त्यहाँ सरेको ६ महिना नपुग्दै गोठै आगलागी भएर प्रिय गाईहरु मारिँदा उनले हारे । अचेत भए । आँशु नै आँशुमा डुबे । परिवारका सबै सदस्य गुम्दा मानिसलाई कस्तो हुन्छ ? बाबुरामलाई त्यस्तै भयो । यसरी भयो काजक्रिया गाई जलेको ह्रदयविदारक घटनाले कसको मन रोएन ? उनको गोठमा मृत गाईहरुलाई श्रद्धान्जली दिन ठूलो संख्यामा मानिसहरु आउन थाले । विश्व हिन्दु महासंघ, ओमकार सेवा समिति, पशुपति विकास कोष लगायतका धार्मिक संघ संस्थाका मानिसहरु आए । बौद्ध लामाहरु पनि आए । विभिन्न एनजीओका मानिस आए । घाइते गाईको उपचारमा धेरैले सहयोग गरे । गोठमा सबै मिलेर स्वस्तीशान्ति, होम यज्ञ, गीता पाठ, रुद्री गरे । सवाल गौमाताको थियो । घटनाको १२ औं दिनमा ठूला पुरोहितहरुको प्रत्यक्ष संलग्नतामा गाईको विधिपूर्वक काजक्रिया सकियो । अब बाबुराम एक्लै परे । उनलाई सम्झाउने कोही थिएनन्, श्रीमती पनि आँशुमा डुबेकी थिइन् । छोरी ओजश्वी खोई सिन्धु भन्दै खोज्थिन् । बाबुरामले आँशुमा डुबेर मर्ने होइन, आँशुकै सागरमा पौडिएर पार लाग्ने निश्चय गरे । एउटा परिवारको पुर्नजीवन यो ह्रदयविदारक कथामा अब खुसी हुने पालो आएको छ । घाइते दसवटा गाईको औषधी र स्याहारसुसार जारी राख्दै उनले गाई थप्न थाले । गोठको पुर्ननिर्माण थाले । अब पाठकहरुको मन प्रशन्न हुने एउटा वाक्य लेखौं, ‘अहिले उनको गोठ एकसय नौ वटा गाईको परिवार भएको छ ।’ बाबुरामलाई धेरैले उधारोमा गाई दिए, धेरैले ऋण दिए, विभिन्न कम्पनीहरुले उधारोमा दाना दिए । सबैले सहयोग गरे, स्थानीय सुन्दरीजलवासीले त झनै ठूलो सहयोग गरेको र उनीहरुको गुण तिरेर नसकिने बताउँछन् बाबुराम । अहा, एकसय नौवटा गाई । चिहान बनेको त्यो गोठ अहिले उज्यालो भएको छ । करिब एक दर्जन गोठालाहरु गाईको सेवामा तल्लिन छन् । बाबुराम बिहान तीनबजे नै उठेर गोठमा पस्छन् । गाईले बाँबाँ गरेर कराएको आवाजले गोठ गुन्जायमान भइरहेछ । गोबर र घासको सुगन्ध सुन्दरीजलको मन्द हावामा मिसिँदैछ । अहिले ६५ वटा दुहुना गाई छन् । अब केही दिनमा अरु कैयन गाई ब्याउने छन् । त्यसपछि बाछाबाछी बुर्कुसी मारेर गोठमा खेल्नेछन्, माऊको थुन चुस्नेछन् । ओजश्वीले पनि बाछाबाछीलाई खेलाउने छिन् । अनि, यो परिवार अझ सुन्दर हुनेछ, अझ खुसी हुनेछ । अँ, बाछाबाछी थपिएपछि बाबुरामलाई अर्काे एउटा समस्या आइलाग्नेछ । थपिएका बाछाबाछीको नाम के राख्ने ? अब बाबुराम र उनको गोठलाई कुनै समस्या नपरोस् भनी प्रार्थना गरौं तर एउटा समस्याले चाहिँ कहिल्यै साथ नछाडोस् भनी कामना गरौं । त्यो समस्या हो, परिवार बढेर बाछाबाछीको नाम खोजिरहनुपर्ने समस्या निरन्तर परिरहोस्, बढिरहोस् ।  (असीम तिमल्सिना २०७४ मंसिर ६  हाम्राे कथा डटकम बाट)