काठमाडौं । पूर्वपश्चिम राजमार्ग अन्तर्गत पर्ने नवलपरासीको बर्दघाट चौक । चौकमा ओर्लिएर दक्षिणतिर झण्डै ५ मिनेट हिँडेपछि पुगिन्छ शिवबस्ती । यही बस्तीमा छ मन्जु मल्ल थापाको घर । आँगनमा उम्रिएका दुवो पिँढीसम्मै उक्लिएका छन् । इटाले बनेको तीन कोठेघर जस्ताले छाएको छ । घरको अडाडि पट्टि लगाएको रंग पनि खुइलिसकेको छ ।

पिँढीमा दुईतीन जोर लुगा झुण्ड्याइएका छन् । घाम ढाड पट्टि पार्दै मन्जु पिँढीमा लडिरहनुभएको छ । ठुटै पारेर काटेको कपाल, हरियो कुर्ता र कालो रंगको सुरुवाल लगाएकी मन्जुलाई झिँगाले घेरिरहेको छ । सुतिरहेकी मन्जु नचिनेका मान्छे देखेपछि केही भन्न खोज्नुहुन्छ तर सक्नुहुन्न । बोल्न नसकेपछि रुन थाल्नुहुन्छ । उहाँ किन रुनुहुन्छ कसैलाई थाहा छैन । कारण उहाँ बोल्न सक्नुहुन्न । सिँगान र र्‍याल चुहिन्छ, तर बोली आउँदैन । त्यो दिन मन्जुकी जेठी छोरी सुमित्रा पनि स्कुल जानु भएको थिएन । खाना बनाउँदा, आमाको स्याहार गर्दा, भाइबहिनीलाई स्कुल पठाउँदा उहाँले स्कुल जान भ्याउनु भएन । घरको काम गर्दागर्दै  धेरै पटक सुमित्राको स्कुल यसरी नै छुटेको छ । वर्दघाट नगरपालिकाको वडा नम्बर ९ मा पर्ने पूर्णभद्र राजा मावीमा सुमित्रा कक्षा ९ मा, आकृती ४ मा र रोहन कक्षा ३ मा  पढ्नुहुन्छ । घरको काम हतार हतार गर्दा पनि स्कुल जान नभ्याउँदा सुमित्रालाई आफूलाई सघाउने कोही भइदिए हुन्थ्यो भन्ने लाग्छ । ‘म त भाइबहिनीलाई पठाउँदै भ्याउँदिन । म भन्दा ठूलो कोही भए त जान पाइन्थ्यो होला नि,’ पढाइ छुट्यो भनेर सुमित्रालाई चिन्ता लाग्छ । तर उहाँ नियमित स्कुल जान पाउनुहुन्न । स्कुल जान नपाउनुको पीडा त छँदैछ त्यसमाथी घरमा खानेकुरा नहुँदाको पीडा अर्कोतिर छ । भोकले भाइबहिनी रुँदा साह्रै नरमाइलो लाग्छ सुमित्रालाई । ‘पैसा पनि हुँदैन, न ड्रेस छ, न कापी किताब । कहिले त स्कुल नगइ भाइबहिनीलाई मात्र पढाउँ जस्तो लाग्छ,’ सुमित्राले रुँदै भन्नुभयो । भाइ रोहन र बहिनी आकृतिका अभिभावक हुनुहुन्छ सुमित्रा । मन्जुको एक मात्र सहारा ।  उनीहरुका बुवा बितेको ५ वर्ष भन्दा धेरै भैसक्यो । घरकी ठूली भनेको सुमित्रा नै हुनुहुन्छ । सुमित्रा १५ वर्षको हुनुभयो । उहाँका भाइ रोहन ८ र बहिनी ९ वर्षका भए । बालखैमा अभिभावक बनेकी सुमित्रा के गर्ने के नगर्ने भेउ पाउनुहुन्न । उहाँ आफूले गर्नसक्ने त गर्नुहुन्छ तर भाइबहिनी र बिमारले थलिएकी आमाको सहारा बन्दा उहाँले आफ्ना रहर मार्नु परेको छ । ‘पढ्ने, डान्सर बन्ने मन थियो, डान्स सिक्ने, पढ्ने पैसा कसले दिने । खान त छैन, घरको अवस्था देखेर मलाई त केही गरौं जस्तो नै लाग्न छाडिसक्यो,’ सुमित्रालाई एसइईसम्म पनि पढ्न नसक्ने भएँ भनेर चिन्ता लाग्छ । त्यो दिन ‘गेटबाट छिर्न दिएनन्, ढिलो भयो’ भन्दै सुमित्राकी बहिनी आकृति घर फर्कनुभयो । पुरानो देखिने गुलावी रङ्गको टिर्सट र कालोमा रातो पानका बुट्टा भएको सुरुवाल लगाएकी आकृतिको  सुरुवाल ठाउँठाउँमा च्यातिएको छ । च्यातिएको सुरुवाल पनि छिमेकीले दिएका हुन आकृतिलाई । उहाँले बोकेको ब्याग धेरै ठाउँमा फाटेको छ । ब्याग च्यातिएर किताब कापी देखिएका छन् । स्कुल जान ढिलो भएर मात्र हैन आकृतिलाई लेख्ने कापी नभएर पनि दिक्क लागेको छ । ‘साथीले दिएको कापी पनि सकियो, सरले दिन्छु भन्नुभाथ्यो दिनुभएन,’ आकृति यो भन्दा बढी बोल्न सक्नुभएन । भुईंतिर हेर्दै रुनुभयो । बहिनी रोएपछि सुमित्रा पनि बहिनीसँगै रुनुभयो । ‘अबको शनिबार आमाले पैसा ल्याउनुभयो भने कापी किनौंला, नरो न,’ सुमित्रा बहिनीलाई फकाउनुभयो । बोल्न नसकेपनि सुमित्राकी आमा प्रत्येक शनिबार माग्न जानुहुन्छ । ‘आमाले मागेर दाल चामल, दुध, पाउरोटीहरु ल्याउनुहन्छ त्यही खान्छौं,’ ‘सुमित्रा भन्नुहुन्छ, छिमेकीले आफ्ना छोराछोरीका पुरानो लुगा दिन्छन त्यही लगाउने हो,’ आकृतीले लगाएको मात्र हैन सुमित्राले लगाएको लुगापनि छिमेकीले नै दिएका हुन् । हप्तामा एक दिन मागेर ल्याएपनि सुमित्राले आमाको पिसावसम्म सोहोर्नु पर्छ । बेलाबेला लुगामै पिसाब फेर्नुहुन्छ । नुहाउन पनि सक्नुहुन्न । त्यसैले ती सबै काम सुमित्राले नै गरिदिनु हुन्छ । सानै भएपनि सुमित्रालाई जिम्मेवारीले समझदार बनाएको छ । उहाँ भाइबहिनी र आमाको पेट भर्न आफ्नो पेट खाली राख्नुहुन्छ । तर बेलाबेलामा भइबहिनीले मिठो पकाउन भन्दा चाहिँ सुमित्रालाई मन चसक्क हुन्छ । ‘दिदी आलुको तरकारीमा मसला पनि हालेर पकाउनु न कहिलेकाहीँ त,’ सुमित्राले तरकारी सधै आलु मात्र पकाउनुहुन्छ । नुन हाल्नुहुन्छ अनि कराइ भरी झोल । त्यसैले बेलाबेलामा सुमित्रालाई भाइबहिनीले तरकारीमा मसला हालेर पकाउन भन्छन् । कहिलेकाही छिमेकीले मिठो तरकारी दिए भने सुमित्राको घरमा दसैं आउँछ । मरमसला हालेर तरकारी पाकेको दिन भाइबहिनी खुसी भएको देख्दा सुमित्रा सबै दुःख बिर्सनुहुन्छ । तर त्यसरी मिठो तरकारी र भात खान सुमित्राको घरमा न आम्दानीको स्रोत छ न त खेतीपाती नै । सुमित्राको पढ्ने, खेल्ने, रमाउने उमेर हो यो । तर १३ वर्षको उमेरबाटै दुईजना भाइबहिनी र बिरामी आमाको जिम्मेवारीले सुमित्राको बालापन खोसिदियो । सुमित्रालाई बुवाको अनुहार पनि याद छैन । सुमित्रा सानै हुँदा बुवाले आत्माहत्या गरे । बुवा नभएपछि सुमित्रा मावलीमा बस्न थल्नुभयो । बुवा बितेको केही समयपछि सुमित्राकी आमा मन्जुले अर्को बिहे गर्नुभयो । सुमित्रा मावलीमै बसेर स्कुल पढ्नुहुन्थ्यो । अर्को बुवापट्टि दुई जना भाइबहिनी जन्मिएका थिए । बेलाबेला आमा भेट्न आउनुहुथ्यो । सुमित्रालाई मावलीमा बसेर पढ्दा आमाको बारेमा धेरै थाहा हुँदैनथ्यो । बेलाबेलामा भेट्न आउने आमा धेरै समयसम्म भेट्न भेट्न आउनुभएन । सुमित्राले आमा भेट्न नआउनुको कारण धेरै पछि थाहा पाउनुभयो । सुमित्राकी आमा मन्जु रोजगारीका लागि साउदी जानुभएको थियो । हजुरआमाकै काखमा हुर्किएकाले सुमित्रालाई आमा हुँदा कस्तो हुन्छ भन्ने थाहा छैन । हजुरआमा नै आमा बन्नुभएको थियो उहाँका लागि । आमाबुवाको साथमा नभएपनि सुमित्रालाई मावलीमा बस्दा पढ्न अप्ठ्यारो परेन् । पहिलो श्रीमानको मृत्युपछि अर्को बिहे गरेकी सुमित्राको आमा फेरि बिधुवा बन्नुप¥यो । त्यसपछि सुमित्राको काँधमा सबै जिम्मेवारी आइलाग्यो । घरसल्लाहमै दुई छोराछोरी श्रीमानको साथमा छाडेर २०६८ सालमा सुमित्राकी आमा साउदी जानुभएको थियो । भारतको बाटो हुँदै घरेलु काममा साउदी पुगेकी मन्जुले कमाएर पठाउनु भएन । ‘घरमा काम गर्छु भन्नुहुन्थ्यो तर पैसा पठाउनु भएन रे,’ सुमित्रालाई हजुरआमाले आमाले सुनाउनुभएको थियो । विदेश पुगको १ वर्ष लागेको थियो । मन्जुलाई श्रीमान् सिकिस्तै छन भनेर आफन्तले खबर गरे । उहाँ २०६९ मा घर फर्कनुभयो । बिरामी श्रीमानलाई भेट्न फर्किएकी मन्जुले श्रीमानको लास पनि देख्न पाउनुभएन । माछा मार्न गएका मन्जुका श्रीमान (आकृति र रोहनका बुवा)को पानीमा डुवेर निधन भएको थियो । बिरामी श्रीमानलाई निको बनाउने कल्पना गर्दै फर्किएकी मन्जुले श्रीमानको निधन सहन सक्नुभएन । उहाँ बिस्तारै बिरामी पर्नुभयो । सुरुसुरुमा कोहीसँग नबोल्ने, टोलाएर बस्ने गर्नुहुन्थ्यो । बिस्तारै थला पर्नुभयो । बोल्दा जिब्रो फट्कारिन छाड्यो । ‘बुवा बितेपछि धेरै टेन्सन लिनुभयो, अनि यस्तो भयो,’ सुमित्राले आमा बिरामी पर्नुको कारण बताउनुहुन्छ । मन्जु बिरामी भएपछि आकृति र रोहन बिचल्लीमा परे । त्यसपछि मावलीमा बसिरहेकी सुमित्रा आमा र भाइबहिनी भएकै ठाउँमा आउनुभयो । अहिले मन्जु हिँड्न सक्नुहुन्छ, बोल्न र सुन्न भने सक्नुहुन्न । मन्जुले कहिलेकाहीँ आमाले सुमित्रालाई हातको इसाराले काम अह्राउनुहुन्छ । सुमित्रालाई आमाले त्यती गर्दापनि साह्रै खुसी लाग्छ । आमा निको भैदिए हुन्ने लाग्छ उहाँलाई । ‘मिठो खान दिए रमाउनुहुन्छ, मैले कहाँबाट ल्याएर दिउँ । भाइबहिनी पढाउँ  कि,’ सुमित्रा टोलाउँदै बोल्नुभयो । साथीले राम्रो लगाएको देख्दा सुमित्रासँग भाइबहिनीले त्यस्तै लागउन पाए हुन्थ्यो भन्दै झगडा गर्छन । स्कुलले विद्यार्थीलाई भ्रमण लग्यो । तर सुमित्राका दिदीभाइ जान पाएनन् । ‘भाइले साह्रै रहर गरेको थ्यो, एक रुपैयाँ पनि थिएन पठाउँ भनेपनि,’ उहाँलाई भाइबहिनीको पनि इच्छा मार्नु पर्दा मरेकै जुनी लाग्छ । घर छ मुन्टो लुकाउन पाएका छन् । तर जाडोमा न न्यानो लुगा छ न ओड्ने ओछ्याउने । न त सुमित्रालाई साथ दिने दरिलो कसैको साथ छ । १५ वर्षे बालिका सुमित्रालाई घरव्यवहारले एकोहोरो बनाइसकेको छ । आधा पेट खाएर बस्नु पर्दा अनि जहिले अभावै अभाव झेल्दा, झेल्दा सुमित्राको केही गर्नसक्छु भन्ने आत्माविश्वास पनि हराइसकेको छ । घरमा बिरामी आमा छाडेर स्कुल जाँदा पनि सुमित्राको पढाइमा ध्यान जादैन । पढिरहदा पनि भरे के खाने भन्ने चिन्ताले सुमित्रालाई पिरोलीरहन्छ । साथीभाइ बुवाआमाको हात समातेर हिँडेको देख्दा सुमित्रालाई पनि रहर लाग्छ । उहाँको बुवाआमाको हात समाएर हिँड्ने रहर त पूरा नहोला । तर राम्रोसँग पढ्न पाए उहाँको सपना पूरा हुने थियो । भाइबहिनीले पनि अझ बलियो अभिभावक पाउने थिए । सुमित्रालाई यतिबेला न मावलीका हजुरआमाको साथ छ न घरपट्टिका आफन्तको । सुमित्राको धेरै पढ्ने, राम्रो डान्सर बन्ने सपना पूरा हुन गाँसबाससँगै दरिलो साथको आवश्यकता छ । यही हालतमा होला त सुमित्राको सपना पूरा ?

सन्जिता देवकोटा/उज्यालोबाट ।