पाँचथर/ प्रतिनिधि सभा सदस्यमा पाँचथरबाट बाम गठबन्धनका संयुक्त उम्मेद्वार नेकपा एमालेका वशन्त कुमार नेम्बाङ भारी मतले बिजयी भएका छन् । लोकतान्त्रिक गठबन्धनका उम्मेद्वार नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सांसद भीष्मराज आङदेम्बेलाई १०६१६ मतले पछि पार्दै नेम्बाङ बिजयी भएका हुन् । पाँचथरमा बिहीबार साँझदेखि मतगणना सुरु भएको थियो । प्रारम्भिक मत परिणामबाटै नेम्बाङले अग्रता लिएका थिए । शनिबार बिहान दश बजे सार्वजनिक भएको प्रतिनिधि सभा सदस्य तर्फको अन्तिम मतपरिणाम अनुसार नेम्बाङले ३८६४१ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्धन्दी आङदेम्बेले २८०२५ मत प्राप्त गरेका छन् । जिल्लामा बाम र लोकतान्त्रिक गठबन्धन बीच कडा प्रतिश्पर्धा हुने अनुमान गरिएको थियो । झिनो मतान्तरले मात्र हारजीत हुने आँकलन गरिएको भए पनि बाम गठबन्धनका नेम्बाङ भारी मतान्तरका साथ बिजयी भएका हुन् । बिजयी भए सँगै नेम्बाङले चुनाबी अभियानको क्रममा जनता सँग गरेका बाचाहरुलाई इमानदारपूर्वक पूरा गर्ने बताए । पहिलो चरण अन्तर्गत १० मंसीरमा भएको चुनाबमा पाँचथरमा १२५२१९ मतदाता रहेकोमा ७७८०३ आर्थत ६२.१३ प्रतिशत मत खसेको थियो । पाँचथरमा ५७३१ मत भने बदर भएको छ । यसले जिल्लामा मतदाता शिक्षा कार्यक्रम प्रभावकारी नभएको देखिएको छ । प्रतिनिधि सभा सदस्यको मत परिणाम सम्पन्न भए सँगै प्रदेश सभा सदस्यको मतपरिणाम सुरु भएको जिल्ला निर्बाचन अधिकारी ध्रुव कुमार राईले बताए । प्रदेश सभाको मतगणना सम्पन्न भए पछि मात्र समानुपातिक तर्फको मतगणना गरिने बताइएको छ । को हुन नेम्बाङ : बाबु देवी प्रसाद नेम्बाङ र आमा विष्णुमाया (तुम्बाहाम्फे) नेम्बाङको कोखबाट वि.सं.२०१८ साल चैत ८ गते पाँचथरको फिदिम नगरपालिका–३, माथिल्लो गाउँमा नेम्बाङको जन्म भएको हो । चार दाजुभाई मध्येका माइला छोरा नेम्बाङ १८ वर्षको तन्नेरी उमेरमै कम्युनिष्ट राजनीतिमा होमिए । वि.सं.२०३६ सालमा अखिलको प्रारम्भिक कमिटि सदस्य भएर सक्रिय राजनीति सुरु गरेका नेम्बाङ पञ्चायतकालीन कालरात्रीलाई चिर्न सक्रिय रहे । तत्कालीन प्रजातान्त्रिक युवा संघको केन्द्रीय कोषाध्यक्ष र उपाध्यक्ष समेत बनेका नेम्बाङ अहिले एमाले केन्द्रको उर्जा विभाग सचिव छन् । एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनेको बेला प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार समेत बनेका नेम्बाङले कानुनमा बिएल सम्मको औपचारिक शिक्षा हाँसिल गरेका छन् । जिल्लामा बिद्युतीकरण गर्न बिशेष योगदान दिएका नेम्बाङ सँग पाँचथरे जनताले जिल्लाको समृद्धिको अपेक्षा गरेका छन् । नेम्बाङको चुनाबी यात्रा : प्रजातन्त्र पुनस्र्थापना सँगै वि.सं.२०४८ सालदेखि सांसदको चुनाबी यात्रा सुरु गरेका नेम्बाङले यो सहित चार वटा निर्बाचन लडे । चार पल्टको चुनाबी प्रतिश्पर्धामा नेम्बाङले एक पटक मात्र हार ब्यहोरे । नेम्बाङ पहिलोपल्ट वि.सं.२०४८ सालको आम निर्बाचनमा तत्कालीन पाँचथर क्षेत्र नम्बर एकबाट चुनाब लडेका थिए ।

उक्त निर्बाचनमा नेम्बाङले निकटतम प्रतिद्धन्दी नेपाली काँग्रेसका दीपक प्रकाश बाँस्कोटालाई २७७ मतले पराजीत गरेका थिए । वि.सं.२०५१ सालको मध्यावधि निर्बाचनमा भने नेम्बाङ काँग्रेसकै बाँस्कोटा सँग ९६० मतले पराजीत बने । तर उनले वि.सं.२०५६ सालको आम निर्बाचनमा उक्त हारको बदला लिए । उक्त चुनाबमा नेम्बाङ सँग काँग्रेसका बाँस्कोटा २४९८ मतले पराजीत भए । त्यसपछि सम्पन्न पहिलो र दोस्रो संविधान सभाको निर्बाचनमा दुबै पल्ट टिकट नपाएका नेम्बाङले प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्बाचनमा भने प्रतिनिधि सभा सदस्यका लागि बाम गठबन्धनको साझा उम्मेद्वारको रुपमा टिकट पाएका हुन् ।