बिर्तामोड/ झापामा लोकप्रिय मतमा झापा क्षेत्र नम्वर ४ का नवनिर्वाचित सांसद एलपी साँवा अगाडि देखिएका छन् । असारमा सम्पन्न स्थानीय तहको निर्वाचनमा क्षेत्र नम्वर ४ का वडामा एमाले, माओवादी केन्द्र र राप्रपाका वडाध्यक्षका उम्मेद्वारले प्राप्त गरेको मत ३७ हजार ८ सय १६ र कांग्रेसका वडाध्यक्षका उम्मेद्वारले प्राप्त गरेको मत २२ हजार ९ सय २३ थियो । त्यो निर्वाचनको परिणाम अनुसार १४ हजार ८ सय ९३ मतको अन्तरले एमाले, माओवादी र राप्रपा गठबन्धन अगाडि थियो । तर, प्रतिनिधिसभाको निर्वाचनमा एमाले उम्मेद्वार सावाँले ४३ हजार ५ सय १५ मत प्राप्त गरी विजयी भएका छन् भने नेपाली कांग्रेसका उम्मेद्वार देउमान थेवेले २६ हजार ८ सय २२ मत प्राप्त गरेका छन् ।
पहिले सो क्षेत्रमा रहेको अन्तरभन्दा एमाले उम्मेद्वार सावाँले १६ हजार ६ सय ९३ मतको अन्तर बढाएर लगेका छन् । प्रतिनिधिसभाको चुनावमा सावाँले लोकप्रिय मत १८ सय बृद्धि गर्न सफल भएका छन् । प्रदेशसभा तर्फ झापा क्षेत्र नम्वर ५ को प्रदेशसभा क्षेत्र नम्वर २ मा एमाले उम्मेद्वार अर्जुन राई पनि लोकप्रिय मतमा अगाडि छन् । स्थानीय तहको चुनावमा सो क्षेत्रमा १८ हजार ६ सय ६६ मतान्तरले राईको पक्षमा जनमत थियो । प्रदेशसभाको चुनावमा राई ३० हजार ९ सय ७३ मत प्राप्त गरी विजयी बन्दा कांग्रेसका राजनबहादुर ढुङ्गानाले १० हजार ९ सय ९३ मत प्राप्त गरेका छन् । राईको अन्तर १९ हजार ९ सय ८० हुन पुग्यो । स्थानीय तहमा रहेको अन्तरभन्दा राईको पक्षमा अहिले १ हजार ३ सय १३ मतले अन्तर बढेको देखिएको छ ।
त्यस्तै झापा निर्वाचन क्षेत्र नम्वर ४ को प्रदेशसभा क्षेत्र नम्वर २ मा एमालेका उम्मेद्वार हिरा थापा पनि स्थानीय तहको मत विवरणभन्दा बढी पपुलर मत ल्याएर प्रदेशसभामा निर्वाचित भएका छन् । स्थानीय तहको निर्वाचनमा गठबन्धनका दलका उम्मेद्वारले प्राप्त गरेको मत र कांग्रेसका वडाध्यक्षले प्राप्त गरेको मतमा ९ हजार ३ सय २१ मतको फरक थियो । यो चुनावमा थापाले २४ हजार ९ सय १ मत प्राप्त गरी विजयी बन्दा कांग्रेस उम्मेद्वार उत्तम शर्मा सुवेदीले १४ हजार ९ सय ६५ मत प्राप्त गरेका छन् । दुई उम्मेद्वारबीच ९ हजार ९ सय ३६ मतान्तरले अगाडि रहेका थापाले स्थानीय तहमा वडाध्यक्षले पाएको मत भन्दा ६ सय १५ पपुलर मत पाएका छन् ।
स्थानीय तहको मत परिणामलाई आधार मान्दा झापा ५ मा एमाले अध्यक्ष केपी शर्मा ओलीले ३१ हजारको मतान्तरले जित्नु पर्नेमा २८ हजार मतको अन्तरले जित निकालेका थिए । क्षेत्र नम्वर २ मा पवित्रा निरौला खरेलले १७ हजार मतान्तरले जित्नु पर्नेमा १३ हजार मतले जितेका छन् । क्षेत्र नम्वर ३ मा गठबन्धनका राजेन्द्र लिङदेनले २५ हजारको मतान्तरमा जित्नु पर्नेमा १३ हजार मतले जितेका थिए । क्षेत्र नम्वर १ मा १७ हजारको मतान्तर हुनु पर्नेमा लगभग ३ हजार मतको मात्र मतान्तर देखिँदा ती क्षेत्रमा गठबन्धन दलको मत कायम राख्न चुनौती देखिएको छ । प्रदेशसभा तिरका कुरा गर्ने हो भने श्रीप्रसाद मैनाली, गोपालचन्द्र बुढाथोकी, एकराज कार्की, बृख प्रधान, झलकसिंह दर्लामी र हिक्मत कार्कीले हिजोको गठबन्धनको मतलाई कायम राख्न नजिक नजिक पुगेको पछिल्लो मत परिणामले देखाएको छ ।