धनकुटा/ अदुवाको बजार र मुल्य निरन्तर रुपमा ओरालो लागेपछि धनकुटा खाल्सा छिन्ताङ्ग शहिदभुमी गाउँपालिका वडा नं.–६ वरवोटेका मानवहादुर राई यतिबेला निक्कै चिन्तित मुद्रामा छन् ।
[caption id="attachment_64693" align="aligncenter" width="3264"] धनकुटा खाल्सा छिन्ताङ शहिद भुमि गाउँपालिका वडा नं.६ वरवोटेका वर्ष ४२ का मान वहादुर राई आफ्नो अदुवा वारीमा ।[/caption]तीन वर्ष अघिसम्म प्रतिकिलो १ सय ८० रुपैयासम्म विक्री गरेको अदुवाको भाउ यो वर्ष घटेर ३० रुपैयासम्म पुगेको उनले बताएका छन् । ‘बजार र मुल्य राम्रो पाएकाले अघिल्लो वर्षहरुको तुलना गरेर व्यवसायिक रुपमा अदुवा खेती विस्तार गरे’ उनले भने ‘अहिले आएर अदुवाको बजार पनि छैन । मुल्य पनि छैन ।’ त्यै पनि उनले यो वर्ष पनि ७ रोपनी जग्गामा ५ क्वीन्टल अदुवा रोपेका छन् । वजार मुल्य नभएकाले अदुवा पाके पनि अदुवा खन्ने जागर नचलेको राई बताउछन् ।
त्यस्तै खाल्सा छिन्ताङ सहिदभूमी गाउँपालिका वडा नं. ६ आँखिसल्ला थलथलेबजारका हुकुमचन्द्र राई चार वर्ष अघिसम्म २० रोपनी क्षेत्रफलमा अदुवा खेती गर्थे । उत्पादन भएको अदुवा विक्री हुन छाडेपछि अहिले ४ रोपनी क्षेत्रफलमा मात्रै सीमित गरेको उनले बताए । उनले भने ‘केही वर्ष अघिसम्म अदुवाको बजार राम्रो थियो । अदुवा उत्पादन सँगै व्यापारमा पनि संलग्न भए । तर विक्न छाडेपछि अदुवाको कारोवार गर्नै छाडिदिए । चार वर्ष अघि वार्षिक ३५ लाखसम्म कारोवार गर्थे उनले भने अहिले सबै छाडिदिएका छन् ।’ तीन वर्ष अघिसम्मको माउ अदुवा केही महिना अघिसम्म राखेर मुस्किलले विक्री गरेको उनले बताए । उनी भन्छन् ‘बजार नै नभएपछि जति उत्पादन गरेपनि विक्री शुन्य छ । स्थानीय वजारमा विक्री गरे मात्रै हो । वाहिरी जिल्लामा निर्यात नै छैन ।’
भारतीय बजारमा अदुवाको निकासी बन्द भएसँगै अदुवाको भाउमा भारी गिरावट आएपछि व्यवसायिक रुपमा अदुवा खेती गर्दै आइरहेका धनकुटाका अधिकांश किसान र व्यापारमा संलग्न व्यापारीहरु चिन्तित भएका छन् । बजार नहुँदा नयाँ अदुवा निकाल्ने वेला भइसक्दा पनि किसानले निकाल्न सकेका छैनन् भने उनीहरुले माउ अदुवा यो भन्दा पहिले नै गोदाममा निकालेर राखेका छन् । त्यस्तै कतिपय व्यापारीहरुले पनि मुल्य नपाए पछि गोदाममा पुरानो माउ अदुवा स्टोर गरेर राखेका छन् । २०५८ साल देखि व्यवसायिक अदुवा खेती गर्दै आइरहेका वरवोटे आँखसल्लाका छोङला प्रसाद राईले वार्षिक ४२ मनसम्म अदुवा उत्पादन गर्दै आइरहेका थिए । तर अहिले बजार र भाउ नपाएपछि उत्पादन घटाएको उनले बताए । ‘अदुवाको आम्दानीले घर व्यवहार धानेको थिए’ उनले भने ‘मुल्य घट्न थालेपछि चिन्तित छु ।’
आँखिसल्ला बजार क्षेत्रका कुल घरपरिवार मध्ये करिव ८० प्रतिशत किसानले अदुवा खेती गर्दै आइरहेका छन् । तर पहिलेको जस्तो अहिले बजार र मुल्य नपाएपछि उनीहरुले यो वर्ष पेशा परिवर्तन गरेर गोलभेंडा खेती लगाएको राईले बताएका छन् । राईले भने ‘एक किलो अदुवा प्रतिकिलो ३० रुपैयामा पनि विक्दैन । तर अहिले गोलभेंडाको मुल्य प्रतिकिलो ९० रुपयाँ सम्म पाइएको छ ।’ जिल्ला कृषि विकास कार्यालय धनकुटाको तथ्यांक अनुसार पछिल्लो समय धनकुटामा अदुवाको खेतीको क्षेत्रफल र उत्पादन घट्न थालेको छ । अघिल्लो आव २०७३/०७४ मा २ सय ५५ हेक्टर क्षेत्रमा अदुवा खेती भएको थियो । जसवाट ४ हजार ६६ मेट्रिक टन अदुवा उत्पादन भएको थियो । तर सो परिणाम अहिले घटेको छ । गत आ.व.मा २ सय ३५ हेक्टर क्षेत्रफलबाट ३९ सय ३ मेट्रिक टन उत्पादन भएको वागवानी विकास अधिकृत पूर्णमाया गुरुङले बताइन् ।
जिल्लाका धनकुटा नगरपालिका, खाल्सा छिन्ताङ्ग शहिदभूमी गाँउपालिका, साँगुरीगढी गाँउपालिका र पाख्रिबास नगरपालिकाका विभिन्न वडाहरुमा व्यवसायिक रुपमा अदुवा खेती हुने गरेको छ । धनकुटामा बोसे र नसे जातका अदुवाको खेती हुने गरेको भएता पनि कृषकहरुले बोसे जातको अदुवा वढी मात्रामा खेती गर्दै आइरहेका छन् ।