वाम गठबन्धनको समर्थनमा झापा-३ बाट विजयी राप्रपा नेता राजेन्द्र लिङ्देन एमाले प्रवेश गर्छन् भन्ने हल्ला व्यापक छ।

संसदीय चुनावमा समानुपातिकतर्फ  राप्रपाले सदर मतको तीन प्रतिशत कटाउन सकेन। त्यसैले उनी संसदमा स्वतन्त्र हैसियतमा रहने भएपछि यो हल्ला झनै व्यापक भएको हो।

चुनाव प्रचारका क्रममा एमाले अध्यक्ष केपी ओलीले नै  झापाका मतदातालाई सम्बोधन गर्दै लिङ्देनलाई दिएको भोट एमालेलाई नै दिएसरह हो भनेको थिए। राप्रपाले तीन प्रतिशत मत ल्याउन नसक्ने र त्यसपछि लिङ्देन एमाले छिर्ने आँकलनका आधारमा एमालेले लिङ्देनलाई सघाएको भन्ने तर्क गर्नेहरु धेरै छन्।

यसपालिको चुनावमा एमालेको भोट पाएर जितेका लिङ्देनबाहेक राप्रपाले मुलुकभर प्रदेशसभामा समेत एउटा पनि सिट जित्न सकेन।

अघिल्लो संविधानसभाको निर्वाचनमा साढे ६ प्रतिशत मत ल्याएको राप्रपा यसपालि त्यसको एक तिहाइमा खुम्चिएको छ।समानुपातिकतर्फ ३ प्रतिशत मत नपाएपछि सो पार्टीले देशभर पाएको करिब २ प्रतिशत मतको कुनै अर्थ हुनेछैन।

यसरी राप्रपाको वर्तमान र भविष्य संकटग्रस्त हुँदै गर्दा लिङ्देनको भविष्यलाई लिएर अड्कलबाजी सुरु भएको हो।

लिङ्देनले भने यो कांग्रेसले चलाएको हल्ला भएको बताएका छन्। ‘यो कांग्रेसले चलाएको हल्ला हो’, लिङदेनले भने, ‘महामन्त्री भएको मान्छे, म किन पार्टी छाड्छु? मलाइ मन्त्री हुने लोभ भएको भए पहिला नै छाड्थेँ होला नि।‘

उनी स्वतन्त्र सांसदको हैसियतमा रहे पनि कानुनत: उनले चाहे भने पनि राप्रपा त्याग गर्ने नमिल्ने देखिएको छ।

राजनीतिक दलसम्बन्धी ऐनको दफा २४ अनुसार एक मात्र सांसद हुने पार्टीले सिंहदरबारस्थित संसद सचिवालय परिसरमा संसदीय दलको कार्यालय पाउने छैन। यस्ता सांसदको हैसियत स्वतन्त्र सांसदको हुनेछ। संसद सचिवालयमा यस्ता सांसदको दलको बोर्ड, छाप केही हुनेछैन।

तर संसदमा स्वतन्त्र हैसियत भएपनि राजनीतिक दलकै उम्मेद्वारका रूपमा विजयी भएकाले लिङ्देन वा त्यस्तै अन्य स्वतन्त्र सांसदले पार्टी छोड्ने भने पाउने छैनन्।

राजनीतिक दलसम्बन्धी ऐनको ‘दल त्याग’ सम्बन्धी परिच्छेदको दफा ३१ मा कुनै दलको रूपमा निर्वाचित भएर पार्टी परिवर्तन गर्दा वा छाड्दा छाड्दा स्वत: पद रिक्त हुने व्यवस्था छ। यस्तोमा लिङ्देनले पार्टी छाडेर अन्य कुनै दल रोज्दा उनको सांसद पद गुम्नेछ।

यदि लिङ्देनले एमाले प्रवेश गर्न चाहे भए अब ४० प्रतिशत केन्द्रीय समिति सदस्यसहित पार्टी विभाजन गर्नु पर्नेछ।

स्वतन्त्र चुनाव चिन्ह लिएर चुनाव लडेका व्यक्तिले भने दलको सदस्यता लिए लगत्तै संसदीय दलको सदस्य बन्न पाउनेछन्।

माओवादीबाट बागी उठेर हुम्लाबाट स्वतन्त्र चिन्हमा विजयी छक्कबहादुर लामाले भने सदस्यता लिए लगत्तै संसदीय दलको सदस्यता पाउनेछन्। यसपटकको निर्वाचनमा विजयी हुने त्यस्ता व्यक्ति लामा मात्र हुन्।

लिङ्देनजस्तै नयाँ शक्तिका बाबुराम भट्टराई, नेमकिपाका प्रेम सुवाल, राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल पनि संसदमा स्वतन्त्र हैसियतमा रहने भएका छन्। उनीहरूको दलले पनि थ्रेसहोल्ड कटाउने अवस्था छैन।

तर उनीहरूलाई सिङ्गो पार्टी नै कुनै दलमा मिसिएको अवस्थामा बाहेक एक्लै दल छाड्न सहज छैन।