धरान/ धरानको स्वास्थ्य चौकीले दिने नि: शुल्क स्वास्थ्य सेवा बारे धरानका अधिकांश महिला बेखबर छन् ।  नेपालका अधिकांश शहरी क्षेत्रमा रहेका स्वास्थ्य चौकीको अवस्था यस्तै छ । सेवाग्राहीहरुले सेवा-सुविधाको माग गरेता पनि उनीहरुले त्यसको सदुपयोग गर्न भने जानेका छैनन् । भनौँ या सरकारी स्वास्थ्य सेवालाई विश्वास गर्न सकेका छैनन्।

[caption id="attachment_64811" align="aligncenter" width="602"] फायलफाेटाे[/caption]

स्वास्थ्य चौकीमा सबै प्रकारका सेवा छन् तर सेवाग्राही छैनन् । शहरी स्वास्थ्य केन्द्रमा प्रसुती गृह (बर्थिङ सेन्टर) सञ्चालित भए पनि यसमा खासै आकर्षण छैन । आमा बच्चाको स्वास्थ्य तथा ज्यानको लागी अति संवेदनशील हुने प्रसुतिका बारेमा सचेत गराउन एवम् सरकारले प्रदान गर्ने सम्पुर्ण स्वास्थ्य सेवाबाट नगरवासीहरु वञ्चित हुन नपरोस् भन्ने हेतुले सञ्चालित स्वास्थ्य चौकीको गृहमा सेवाग्राही आउने गरेका छैनन्।  विपन्न वर्गका गर्भवती महिलाहरुलाई सेवा प्रदान गर्नु यस गृहको मुख्य उदेश्य रहेपनि विपन्न महिला पनि कमै आउने गरेको स्वास्थ्य चौकीका इन्चार्ज नवीन राई बताउछन् ।

‘सेन्टरको बारेमा धेरैलाई जानकारी नहुनु चेतना अादिका कारणले पनि कमी आएको हुन सन्छ ’अहिले भने मासिक ३०/४० जनाले सेवा लिइरहेको उनी बताउछन् । प्रसुती गृहबाट गर्भवती महिलालाई उपलब्ध गराइने नि: शुल्क सुविधाहरु भएको बताउदै उनले नियमित गर्भवती जाँच , आइरन चक्की वितरण, धनुष्टङ्कार विरुद्धको खोप (टिटि खोप) साथै प्रसुती सेवा उपलब्ध गराउदै आएको उनले बताए । यस्तै, यहाँ किशोरकिशोरीका लागी कण्डम वितरण, सुरक्षित गर्भपतन लगायतका सेवा भए पनि दिनमा एक पटक मुस्किलले आउने गरेको उनको कथन छ । चौकीमा महिलालाई सुरक्षित गर्भपतन, गर्भवती जाँच तथा सामान्य प्रसुतिका सेवाहरु निशुल्क छ ।

गत वर्ष मात्र ८३ जना महिलाले स्वास्थ्य चौकीबाट सामान्य प्रसुति गराएका थिए । त्यसैगरि १ सय ४५ जना महिलाले सुरक्षित गर्भपतन गराएको चौकीले जनाए । यी मध्ये २० वर्ष भन्दा मुनिका १७ जना महिला थिए । चालु आर्थिक वर्षको कात्तिक महिना सम्म २१ जना महिलाले सामान्य प्रसुति गराएका छन् । सुरक्षित भर्वपतन गराउने ४० मध्ये ७ जना २० वर्ष भन्दा मुनिका रहेको स्वास्थ्य चाैकीका इन्चार्ज राईले बताए ।

चौकीबाट स्वास्थ्य सेवा लिन सुनसरी, मोरङ,धनकुटा, भोजपुर, लगायतका जिल्लाहरुबाट आउने गरेको उनी बताउछन् । तर धरान वरपरका महिलाले चासो नदिएका कारण उनीहरु सेवा सुविधाबाट वञ्चित भएको प्रसुति सेवाकी इन्चार्ज सङगीता राई बताउछिन् । अन्य सेवाहरुमा प्रसुती पश्चात यातायात खर्च ५सय, लत्ताकपडा र गर्भवती जाँच समयमा  गराउने महिलालाई प्रोत्साहन खर्च ४ सय रुपैया समेत दिने गरेको स्वास्थ्य सेविका शर्मिला राईले बताइन् ।