मोरङ/ १ नम्बर प्रदेशका लागि मुख्यमन्त्रीको चर्चा चलिरहेको अवस्थामा झापा निर्वाचन क्षेत्र नम्बर ५ (क) बाट प्रदेशसभामा वाम गठवन्धनका तर्फबाट निर्वाचित नेकपा एमालेका केन्द्रीय सदस्य हिक्मत कार्कीले पनि मुख्यमन्त्रीको इच्छा जाहेर गरेका छन् ।

मंसिर १० र २१ मा सम्पन्न निर्वाचन र त्यसपछिको जिम्मेवारीको सन्दर्भमा दमकमा सोमबार साँझ पत्रकारहरुसँग कुराकानी गर्दै कार्कीले पार्टीले अवसर दिए मुख्यमन्त्रीका लागि आफु योग्य रहेको बताएका हुन् । मुख्यमन्त्री भएर ५ वर्षभित्रमा १ नम्बर प्रदेशको चौतर्फी रुपमा विकासको प्रष्ट प्रभाव देखाएर विकासमा समेत १ नम्बर नै बनाउने दुरगामी योजना आफुसँग रहेको उनले दावी गरेका छन् । हाल मुख्यमन्त्रीको चर्चामा रहेका एमाले पोलिटव्यूरो सदस्य शेरधन राई र एमाले सचिव भीम आचार्यसँगै कार्कीले ‘पार्टीले जिम्मेवारी दिएमा आफु योग्य’ रहेको भन्दै शालिन शैलीमा दावेदारी प्रस्तुत गरे । त्यो बेला शेरधन भन्दा विद्यार्थी राजनीतिमा अगुवा कार्की झापाको गौरादहका स्थायी वासिन्दा हुन् ।

पत्रकारहरुसँगको कुराकानीका क्रममा कार्कीले जनताले अव लामो समयसम्म पर्खिन नसक्ने अर्काे प्रसंग उल्लेख गर्दै भने,‘ ६ महिनाभित्र प्रदेशमा तात्कालिन आवश्यक कानून निर्माण गरी सकेर जनतालाई प्रत्यक्ष लाभ पुगेको देखिनेखाले विकास निर्माण थालिहाल्नु पर्ने अवको सरकारको काम हो ।’

उनले १ नम्बर प्रदेशमा मेचीमहाकाली रेलमार्गको सुरुवात, पूर्वपश्चिम ६ लेनको सडक, पहाडी क्षेत्रमा फाष्ट ट्याक निर्माण, हुलाकी राजमार्गको स्तरोन्नती, चिन जोड्ने जोगमनी किमाथांकासम्मको फराकिलो सडक, तमोर नदीलाई चिसाङ खोलामा डाइभर्स गरी पर्याप्त सिंचाइको प्रवन्ध, हाइडेपावर निर्माण सहितका कामहरु विशेष राष्ट्यि गौरवका योजनामा रहेको सुनाए ।

‘विश्वको अग्लो सगरमाथादेखि नेपालको होचो केचनाकलनसम्मको यो प्रदेश सम्पूर्ण हिसावले समृद्धिको समेत १ नम्बर बन्न सक्छ ।’– उनले प्रदेशवासीलाई उत्साहित पार्ने शैलीमा भने । उनले यी र यस्ता महत्वपूर्ण काम गर्न वजेटको अभाव नभई इमान्दार सरकार तथा इमान्दार नेतृत्वको मात्र अभाव रहँदै आएको चर्चा समेत गरे । ‘अव वामपन्थीहरुको इमान्दार सरकार र इमान्दार नेतृत्वको सरकार बनेर स्वदेशमै स्वरोजगार सिर्जना गर्न सकिने तथा विदेशबाट समेत आवश्यक आर्थिक सहयोग (सफ्ट लोन) स्वत आउने छ ।’– उनले थपे ।

५ वर्षभित्रमा सवै सामुदायिक विद्यालयमा अंग्रेजी माध्ययमबाट गुणस्तरीय शिक्षा, विराटनगर र भद्रपुर विमानस्थलको स्तरोन्नती गरी सवै पहाडी जिल्लामा हवाई सेवा, स्वास्थ्य सचेतना सहितको निशुल्क स्वास्थ्य उपचार कार्यक्रम, कृषिमा आयातलाई रोक्ने सहितका महत्वपूर्ण योजनाको स्पष्ट खाका र त्यसलाई पुरा गर्ने सकिने उनको धारणा छ ।

पर्यटन प्रवद्र्धन र हाइड्रोपावरले यो प्रदेशलाई माथि उकास्ने उनी देख्छन् । दमकमा औद्योगिक पार्क, संसारको अग्लो वुद्धमूर्ति सहितका राष्ट्यि महत्वका योजना अगाडि बढेको जानकारी गराउँछन् । कृषिका लागि पकेट क्षेत्र निर्माण गर्नु अर्काे टड्कारो आवश्यकता औंल्याउँछन् । यसैवीच, गौरीगञ्जलाई स्मार्ट सिटी वनाउने योजना अघि बढिसकेको सुनाउँछन् । यी सवै काम गर्न सवभन्दा पहिले व्यवस्थापकीय चुनौतीलाई व्यवस्थापन गर्दै अवसरका रुपमा रुपान्तरण गर्न स्थीर सरकारको पहिलो आवश्यकताको संघारमा देश पुग्दै गरेको स्मरण गराए ।