धरान/धरान उपमहानगरपालिकाको गलत निर्णयका कारण अहिले धरानको सतहगत पानीको स्रोत नै प्रभावित हुने देखिएको छ ।
सतहगत पानी उत्पादन हुने एकमात्रै स्रोत खर्दु मुहानबाटै पाँचकन्या डुम्रे शिखरवास खानेपानी तथा सरसफाई व्यवस्थापन समितिलाई खानेपानी ल्याउन अनुमति प्रदान गरेपछि धरानको खानेपानी प्रभावित हुने देखिएको हो । अहिले उक्त क्षेत्रबाट पानी ल्याउनको लागि समिति पाइपलाइन विछ्याउने काममा व्यस्त छ । २०७२ पुष ३० गते तत्कालीन धरान उमपहानगरका कार्यकारी अधिकृत टीकादत्त राईले स्थलगत अध्ययन विनै निर्णय गरेर उक्त समितिलाई योजना सञ्चालन गर्न अनुमति दिएको देखिन्छ ।
तत्कालीन धरान–२० (हालको धरान–४) का उपभोक्ताहरुले सोही वडाको जोरधारे खानेपानी मुहानबाट पानी ल्याउने अनुमति मागेका थिए । जुन, धरानले खानेपानी खाने खर्दुको मुहान नै रहेको नेपाल खानेपानी संस्थान शाखा धरानले पत्रमा उल्लेख छ । कार्यालय प्रमुख रामकुमार श्रेष्ठले पत्रमा भनेका छन्, ‘धरान वडा नम्बर २० को उपभोक्ताहरुबाट जोरधारे खानेपानी मुहान भन्ने खानेपानीको स्रोत भनेको नै खर्दु मुहानको मूख्य स्रोत हो ।
पत्रमा थप भनिएको छ, ‘यसरी समूह समूह मिली खानेपानीको मूहानबाट पानी लैजाने हो भने भोलीका दिनमा खानेपानीको स्रोत घट्दै जाने हुँदा उक्त स्रोतबाट धरान–१३ र १४ क्षेत्रहरुमा खानेपानी प्रयोग गर्नबाट अवस्य पनि अभाव हुने देखिन्छ । यसरी नेपाल खानेपानी संस्थानलाई समेत जानकारी नदिई खानेपानी संस्थानले प्रयोग गरेको स्रोत लैजाने कार्य भइरहेमा यो समस्या सिंगो धरानवासी उपभोक्ताहरुलाई प्रत्यक्ष असर पर्ने देखिन्छ ।’ खानेपानी संस्थानले उक्त पत्र धरान उपमहानगरलाई २०७४ मंसिर २५ गते लेखेको छ ।
यस्ता कार्यहरु तत्काल रोक्न र सम्बन्धित पक्षहरुसँग छलफल गरी आवश्यक निर्णय गर्नसमेत संस्थानले सचेत गराएको छ । यो विषयमा नेपाली कांग्रेस १३ नम्बर वडा समितिले पनि पानीको हाहाकार हुने अवस्था सिर्जना गर्ने काम गरेकाले तत्काल रोक्न माग गरेका छन् । नेपाली कांग्रेस १३ का महेन्द्र प्रधानले खर्दु क्षेत्रबाट पानी दिए धरान–१३ र १४ बासीहरु पानीको काकाकुल अवस्था आउने बताए । उनले त्यो तत्काल रोक्न माग गरे ।
धरान–१३ का वडाअध्यक्ष नेत्रप्रसाद काफ्लेले पनि २०७४ भदौं ११ गते खानेपानी अयोजनाको लागि पाइपलाइन खन्न सहमति प्रदान गरेका छन् । पत्रमा भनिएको छ, ‘पाँचकन्या डुम्रे शिखरवास गाउँमा खानेपानी तथा सरसफाई आयोजना निर्माण गर्ने निश्चय गरेकाले उक्त आयोजनको लागि एरिया वेल्फेयर सेन्टर धरानसम्म खानेपानी ल्याउनको लागि चुङबाङ खोल्साको दाँया पाइप विछ्याउनको लागि पाइपलाइन खन्न सहमति दिएको अनुरोध छ ।’
त्यसलाई चिर्दै धरान–१३ का वडाअध्यक्ष काफ्लेले भने, ‘मलाई खानेपानी पाइपलाइन मर्मतका लागि भनेर पत्र पठाएका थिएँ । त्यही पत्र अनुसार पानीजस्तो कुरा हो दिउँ न त भनेर मैले स्वीकृति दिएँ । हामीलाई मुहानमा भनेर दिएको भए हामीले दिने अवस्थै आउँदैन ।’ मंगलबार नै स्थलगत अध्ययन गरेकी धरान उमपहानगरकी उपप्रमुख तथा निमित्त प्रमुख मञ्जु भण्डारी सुवेदीले स्थलगत हेर्दा खेरी जोरधारे भन्ने मुहान कतै फेला नपरेको बताइन् । उनले भनिन्, ‘खानेपानी संस्थानले जोरधारेको विषयमा कारण सोधेकाले हामी फिल्ड हेर्दा खर्दु जलाधारको एउटै मात्रै मुहान देखियो ।’
उनले जुन ढंगले अहिले पाइपलाइन विछ्याउनको लागि खनेको छ त्यो हेर्दा अरु वार्डहरुले पानी नखाने अवस्था आउने बताइन् । उनले टीकादत्त राईले गरेको निर्णय गलत भयो कि सही भयो भन्ने बारेमा निर्णय गरिहाल्न नसकिने बताइन् । यता समितिका अध्यक्ष शेरबहादुर राईले जोरधारे मुहानबाट पानी मागेको बताए । उनले सात दलको संयन्त्र मिलाएर नै सिफारिस गरेको बताए । ‘हामीले सबैसँग अनुमति लिएको हो ।’ उनले भने ।
मर्मत भन्दै पत्र, काम चाही अर्कै
पाँचकन्या डुम्रे शिखरवास खानेपानी तथा सरसफाई व्यवस्थापन समितिले मर्मत सम्भारको लागि भन्दै पत्र लेखे पनि काम चाही अर्कै गरेको पाइएको छ । पत्रमा भने भालुखोला मुहान र निशाने खोलाबाट सञ्चालित आयोजनाहरु जीर्ण भएकाले पुनर्निमाणको लागि सिफारिस गरेको देखिन्छ ।
२०७३ चैत्र ७ गते खानेपानी तथा सरसफाई मन्त्रालय अन्तर्गतको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय इटहरीलाई दिएको पत्रमा त्यस्तो देखिन्छ । जहाँ कार्यालयले गोर्खा वेलफेयर स्किम अन्तर्गतको ग्रामिण खानेपानी तथा सरसफाई कार्यक्रम पूर्वाञ्चल क्षेत्रीय कार्यालय धरानलाई पुननिर्माणको लागि सिफारिस गरेको देखिन्छ । कार्यालयका डिभिजन प्रमुख धमेन्द्रकुमार केशरीले पुनर्निमाण गर्ने सिफारिस गरिदिएका छन् ।
खानेपानीको लागि भने शिखरवास उपभोक्ता समितिले गोर्खा वेलफेयर स्किमलाई जिम्मेवारी दिएको छ । जस अन्तर्गत गोर्खा वेलफेयरले ९१ लाख ९३ हजार ८९२ रुपैयाको लागत स्टिमेट बनाएको छ । जसमा स्थानीय उपभोक्ताको ३९ लाख ५९ हजार २४१ रुपैया रहेको छ । बाँकी गोर्खा वेलफेयरको ग्रामिण खानेपानी तथा सरसफाई कार्यालयले दिने स्टिमेट बनाइएको छ ।
२०७४ मा वैद्यानिक दर्ता, पानीको सिफारिस २०७१ देखि नै
पाँचकन्या डुम्रे शिखरवास खानेपानी तथा सरसफाई व्यवस्थापन समिति वैद्यानिक रुपमा २०७४ साल भदौ २१ गते दर्ता भए पनि विभिन्न सरकारी कार्यालयहरुलाई पानीको लागि सिफारिस भने २०७१ सालदेखि नै गरेको देखिन्छ ।
२०७१ साउन १२ गते नामेटार वन उपभोक्ता समितिलाई खानेपानी योजना सञ्चालनको लागि सहमति मागेको देखिन्छ । त्यस्तै सेक्टर वन कार्यालय धरानबाट २०७१ असोज १२ गते पाइपलाइन विछ्याउनको लागि अनुमति मागेको देखिन्छ । त्यो भन्दा अघि धरान नगरपालिकालाई २०७१ भदौं १६ गते नै सिफारिस गरिएको देखिन्छ । तत्कालीन कार्यकारी अधिकृत टीकादत्त राईले भने २०७१ पुष ३० गते सहमति दिएको पत्रमा उल्लेख छ ।
तर, त्यो बीचमा संस्था दर्ता भएको देखिदैन । जिल्ला जलस्रोत समिति सुनसरीमा आर्थिक वर्ष २०७४÷०७५ मा मात्रै दर्ता भएको देखिन्छ । जसको दर्ता नम्बर ६२ रहेको छ । समितिका अध्यक्ष शेरबहादुर राईले २०७४ सालमा दर्ता भएको स्वीकार गरे । उनले पानी ल्याउनको लागि निवेदन चाही २०७० देखि नै दिएको बताए । उनले सिफारिस ल्याउँदा २, ३ वर्ष लागेको बताए । ‘नगरपालिका कता कता गर्दा टाइम लाग्यो । नयाँ पानी ल्याउने माग हो ।’ उनले भने ।
अव सच्याउँला धरान उपमहानगरले ?
धरान उपमहानगरकी उपप्रमुख तथा निमित्त प्रमुख मञ्जु भण्डारीले उक्त समितिलाई कति पानी चाहिएको हो र यताको अवश्यकता कति हो भन्ने हेरेर निर्णय अघि बढाउने बताइन् । उनले भनिन्, ‘फिल्ड हेर्दा खानेपानीको मुहान एउटै भएकाले त्यहाँ कति पानी चाहिएको हो । यताको अवस्यकता कति हो । डिटेल हेरेर अघि बढ्छौं ।’
यता धरान–१३ का वडा अध्यक्ष नेत्र काफ्लेले पनि पुनर्निमाण भन्दै माग गरेकाले त्यही अनुसार सहमति प्रदान गरे पनि स्थलगत अध्ययनको क्रममा धरानको खानेपानीलाई नै प्रभावित हुने देखिएकाले अव दुबै पक्षसँग बसेर छलफल अघि बढाइने बताए । ‘उनीहरुले पनि पानी पाउनु पर्छ । तर, कमसेकम समन्वय गरेर अघि बढेको भए राम्रो हुन्थ्यो ।’ उनले भने, ‘४ नम्बर वार्डको जनसंख्या कति छ । त्यो हेरेर अघि बढ्नुपर्छ ।’