धरान/करिव ७५ को हाराहारीमा पुग्न लागेका बराहक्षेत्रका गणेश सुब्बा ‘विरही’ धरान–चतरा सडकमा टेक्न थालेको पनि त्यति नै वर्ष पुगिसकेको छ । तर, पनि कालोपत्रे सडकमा हिड्ने उनको सपना अझै पूरा हुन सकेको छैन् । धरान आउँदा जाँदा होस् उनीजस्ता चतराबासी धुलो छिचोल्दै हिड्नु पर्छ ।
[caption id="attachment_65815" align="alignnone" width="979"]
फाइल तस्बिर[/caption]
अहिले पनि सातामा चारपटक धरान आइपुग्ने विरहीले यो उमेरमा पनि धुलो छिचोल्दै ओहोर–दोहोर गरिरहेका छन् । चारवर्ष अघि सरकारले नागार्जुन कन्ट्रक्सन कम्पनीलाई सडक निर्माणको जिम्मा दिएपछि धुलो छिचोल्ने बाध्यताबाट पार पाइएला भन्ने त सम्झे । तर, कालोपत्रेमा गुड्ने सपना पालेका विरहीजस्ता बराहक्षेत्रवासीको सपना फेरि उस्तै गरी तुवाँलो लागेको छ । धरान–चतराको १२ किलोमिटर धुलाम्मे सडकले राणाशासन हे¥यो, फे¥यो, प्रजातन्त्र, पञ्चायत, लोकतन्त्र, गणतन्त्र सबै फेर्दा पनि त्यहाँ कालोपत्रे फेरिएन । चारवर्ष अघि कालोपत्रे फेर्ने जिम्मा सरकारले त लियो । तर, ठेकेदारको काम गर्ने शैलीले गर्दा वर्षौपछि ‘अन रोड’ हुने सपना ‘अफ रोड’ मै सिमित बनेको छ ।
चतराबासी डम्बर सिग्देल पनि धरान–चतराको सडकमा गुड्ने सपना सपनै भएको बताउँछन् । ‘रोड बनेको भए पनि कागलाई बेल पाक्यो हर्ष न विस्मत भनेजस्तो छ ।’ उनी भन्छन् । आफूले पनि चारवर्षको उमेरदेखि नै धरान चतरा सडकको दुरावस्था देख्दै आएको उनले बताए । उनका अनुसार राम्रो सडक बनेपछि राम्रो भएर हिडुला भन्ने सपना सपनैमा सिमित बनेको छ । नागार्जुनलाई आर्थिक वर्ष २०७२÷०७३ मा काम सक्ने गरी डिभिजन सडक कार्यालय विराटनगरले ठेक्का सम्झौता गरेको थियो । ठेक्का सम्झौताको अवधि समाप्त भए पनि पुनः फागुन मसान्तसम्म सक्ने गरी म्याद थप गरेको थियो । काम अघि नबढेपछि धुलाम्मे सडकले रुप फेर्ला भन्ने चतरावासीलाई अव भने लाग्न छाडेको छ ।
‘सडक विभागले त्यतिसारो काम गरेको देखिएन ।’ विरही भन्छन्, ‘प्राविधिकहरुले सडक गुणस्तर गर्ने विषयमा उनीहरु बसेर काम गराएनन् । वर्षात्मा काम सुरु गर्न थालेपछि कहाँबाट थामिन्छ ।’ सडकको गुणस्तरीय नहुँनुलाई डिभिजन सडकको कमजोरी ठान्छन् चतरावासीहरु । त्यही कारण सदैव धरान–चतरा सडक अफ रोड भएको तर्क चतरावासीको छ । ‘ठेकेदारलाई हामीले धेरै पटक भन्यौं, अव हुदैछ भन्छ काम अधुरो छाड्छ ।’ विरही थप्छन् ।
नागार्जुनले ६ करोड ४२ लाखमा दुईवर्ष भित्रमा सम्पन्न गर्ने गरी आर्थिक वर्ष २०७०÷०७१ मा सम्झौता गरेको थियो । सम्झौता पश्चात नागार्जुन कम्पनीले पेटी ठेकेदार हजबुल मियालाई जिम्मा लगाएको थियो । तर, हजबुलसँग निर्माण सामग्रीको अभावमा काम मात्रै ढिलाई भएन, एकवर्ष त कामै नगरेको चतरावासीको आरोप छ । त्यही कारण अहिले सम्पन्न भएका सडकहरु पनि उस्तै गरी भत्किएका छन् । ‘बनेका कतिपय ठाउँमा भत्किनै सक्यो ।’ बिरही भन्छन् । धरान चतरा सडक सम्झौता पछि पनि सडक निर्माण गर्न दवाव दिँदै धेरै पटक चतराबासीहरु डिभिजन सडक कार्यालय विराटनगर डेलिगेसन गए । ठेकेदारको सुस्तताका कारण अहिले सडक उस्तै गरी धुलाम्मे बनेको छ ।
डिभिजन सडक र पेटी ठेक्का पाएका हजबुल बीच आरोप–प्रत्यारोप हुने गरेको छ । पेटी ठेकेदार हजबुलले आफूले कतिपय काम सम्पन्न गरे पनि रकम नपाएको बारम्बार गुनासो गर्दै आइरहेका छन् । यसलाई थप प्रष्ट पार्दै डिभिजन सडक कार्यालयका धरान–चतरा सडक खण्ड हेरिरहेका इन्जिनियर किशुनदेव साह भन्छन्, ‘हो हामीले भनेजसरी बजेट विनियोजन गर्न सकेको छैन्, माथिबाट हामीलाई नै बजेट दिएको छैन् ।’ ठेकेदारले काम अघि नबढाए पनि कारबाही गर्ने हिम्मत डिभिजन सडकले गर्न सकेको छैन् । ‘ठेकेदारलाई कारबाही गर्ने दायित्व हाम्रै हो । ठेकेदारलाई एकदुई पल्ट चिठ्ठी पनि दिइसकेको छौं ।’ साहले फोनमा भने, ‘सबै काम बजेट मै अड्किएको छ ।’
उनले पनि गत फागुनमै सम्झौताको मिति सकिएको बताए । यस बारेमा पेटी ठेकेदार हजबुलले बजेटको व्यवस्थापन नभएको कारणले काम रोकेको बताए । ‘असारदेखि अहिलेसम्म बजेट दिएको छैन् ।’ उनले भने, ‘सरकार पक्षले नै काम रोकेको छ ।’